समिता श्रेठ
‘को होला त्यो म सँग आँखा जुधाउने!’ चर्चित गीतका गायक सुनिल गिरी नयाँ एल्बमको तयारीमा हुनुहुन्छ । उहाँको पहिलो गीतले उत्साह थप्दै गयो । रेडियो र टेलिभिजनका दर्शक श्रोताले धेरै मन पराए ।
नेपाली सुगम संगीतमा छुट्टै पहिचान बनाउन सफल युवा गायक गिरी उमेरले ३१ वर्ष पुग्नुभयो । उहाँको जन्म २०४५ साल साउन १ गते तनहुँमा भएको हो । अहिले उहाँ काठमाण्डौको अनामनगरमा बस्नुहुन्छ ।
गिरीको परिवारमा बुबाआमा, भाईबुहारी सहित ५ जना हुनुहुन्छ । उहाँले रेम्बो ईन्टरनेशनल कलेजबाट अंग्रेजी बिषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । बाल्यकालदेखिको रुचीको क्षेत्र गीतसंगीत भएकोले धेरै समय संगीत र अरु अध्ययनमा बाल्यकाल बितेको उहाँ बताउनुहुन्छ ।

उहाँ भनुहुन्छ,‘मेरो बाल्यकाल देखिको रुचीको क्षेत्र पनि र लक्ष्य पनि संगीतमा नै लाग्ने लिएका कारणले एसएलसीपछि नै गीतसंगीत सिक्न थालें। तनहुँबाट काठमाण्डौ आएँ । गुरु असोक पौडेलसँग सारेगम कला केन्द्रमा शास्त्रीय संगीतको झण्डै तीन वर्ष अध्ययन गरें त्यसपछि गान्धर्व संगीत विद्यालयका गुरु चन्दन श्रेष्ठसँग थप ५ वर्ष शास्त्रीय संगीतको अध्ययन गरें।
मैले ‘आर्को’ म्युजिक ईन्स्टिच्युटबाट गुरु राजकुमार मालकरसँग पियानो र गीतारको २ वर्ष अध्ययन गरें ।’
गायन यात्राको सुरुवात
२०७० सालदेखि गायन यात्रा सुरु गरेका गिरी पहिलो गितबाटै चर्चा कमाउन सफल हुनुभयो । ‘को होला त्यो म सँग आँखा जुधाउने, नचिनेनी म सँग अलि लजाउने’ डाँडापारीको गावैंमा… यो गितमा स्वर, शब्द र संगीत उहाँ आफैको हो । गीतको भिडियोमा पल शाह र प्रकृति श्रेष्ठले अभिनय गर्नुभएको छ ।

पहिलो गीत नै रेडियो र टेलिभिजनका दर्शक,श्रोताले धेरै मन पराउनुभयो । त्यसबाट नै संगीत क्षेत्रमा अझै धेरै केही गर्नसक्नु भन्ने उर्जा मिलेको उहाँ बताउनुहुन्छ । लगभग ३५ वटा गित गाइसकेका उहाँले ति सबै गितहरुमा शब्द, संगीतको काम गर्नुभएको छ । पछिल्लो समय अलिअलि आफ्नै गितहरुमा मोडलको रुपमा पनि प्रस्तुत हुनुभएको छ ।
संघर्षका दिनको सम्झना उहाँकै शब्दमा
परिवारको पढ्न पर्छ र केही बिजनेस गरेर पैसा कमाउन पर्छ भने सोंच थियो । तर मैले त्यो सबै कुराहरु त्यागेर म्युजिकमा नै समर्पित भएर लाग्न थालें। मेरो बुवाको चाहना भने छोरालाई इन्डियन आर्मी बनाउनु थियो । मेरो बुवा र चार जना काकाहरु पनि इन्डियन आर्मीमै हुनुहुन्थ्यो । त्यसकारण पनि छोरा इन्डियन आर्मी नै बनोस् भन्ने चाहना हुनु स्वभाविक थियो ।
आर्मी नभए पनि शिक्षक होस् भन्ने परिवारको चाहना तर मेरो रुची संगीत भयो । तर यो मेरो इच्छा सपनामा रोक लगाउने काम परिवारले गर्नुभएन । केवल राम्रोसँग पढ्न जोड दिनुहुन्थ्यो । पहिलो गितबाट नै सबैले मन जित्न सफल भएको भएर पनि परिवारले साथ नै दिनुभयो । कहिले पनि यो क्षेत्रमा नलाग भनेर भन्नुभएन ।

यो क्षेत्रमा लाग्नका लागि मेरो प्रेरणाको श्रोत नेपाली संगीतको पुराना दिग्रज सष्टा (अग्रज गायकहरु) नै हुनुहुन्छ । मैले विशेषतः लोक पप गितहरु गाउने गर्छु । गितमा ग्रामीण बिम्बको प्रयोग गर्छु त्यसको साथसाथै भञ्ज्याङ, चौतारी, बगर, खोलाको कुरा ल्याउँछु । सरल शब्दमा दैनिक जनजीवनका कुरा लेख्छु र त्यसमा नै स्वरको मिठास भर्ने काम गर्छु ।
आफ्नो सिर्जनाहरु सबै नै आफुलाई प्यारो लाग्छ । तर सबैभन्दा राम्रो लाग्ने गित ‘को होला त्यो’ हो । किनभने यहि गितबाट नै मैले यो संगीतको क्षेत्रमा प्रवेश गरेको हो । यो गितले दर्शक र श्रोतामा आफ्नो छुट्टै छाप पार्न सफल भएको छ । थप उर्जा मिलेको छ । त्यही गितको कारणले नै आजसम्मको यात्रा तय गर्न सजिलो भैरहेको छ ।
संगीत क्षेत्रमा लाग्न चाहने नयाँ पुस्ताले संगित सिकेर, अध्ययन गरेर आउनु भए राम्रो हुन्छ । यो क्षेत्र भनेको समाजको दर्पण हो । संगीत समाजसँग प्रत्यक्ष रुपमा संगीत जोडिएको हुन्छ । त्यसकारण संगीत आफ्नो देशको आवाज उठाउने, आफ्नो मौलिकपनलाई प्राथमिकता दिने, सकारात्मक सोंच विकास गर्ने खालको रचना गर्दा राम्रो हुन्छ ।

अहिले पछिल्लो समयमा गीत चाँडै चर्चित बनाउन अश्लीलताको सहारा लिनेहरू पनि त्यत्तिकै देखिन्छन् । कतिसम्म भने जनजीवनको गित भनिने लोकगितहरूमा समेत शब्द र म्यूजिक भिडियोमा अश्लीलता उम्लिएको देखिन्छ । त्यसैले आफ्नो संस्कृतिमा असर पर्ने गीतहरु नगाउन अनुरोध गर्न चाहन्छु ।
यो संगीत मेरो लागि जीवन काट्ने बाहाना हो । संगीत क्षेत्र पहिलाको तुलनात्मक अहिले डिजिटलाईज भएको छ । पहिले सिडीको समय थियो । नेपाल भित्र मात्रै सिमित थियो भने अहिले ब्यापकता पाउन सकिन्छ । नयाँ पुस्ताको धारका संगीतहरुले प्रवेश गरेको छ ।
सांगीतिक कार्यक्रमको लागि म विभिन्न देशहरु पनि पुगेको छु । संगीतसँग सम्बन्धित काम बाहेक गर्नु कुनै काम मैले गरेको छैन । मैले गर्ने कामहरू भोकल, संगीत एरेन्जमेन्ट, शब्द, संगित जस्ता सबै संगीत क्षेत्रसँगै सम्बन्धित छन् ।
मेहनत गरे जिविकोपार्जनमा गाह्रो छैन ।

संगीत क्षेत्र मनोरञ्जनको क्षेत्र मानिन्छ । तर यसै क्षेत्रमा लागेर आफ्नो करियर बनाउने सोंच लिएर मेहनत गर्नेहरुको लागि संगीतमा लागेर जिविकोपार्जन गर्न त्यति धेरै गाह्रो पर्दैन । मेहनत गरेर आफ्नो काममा लगनशील भएर लाग्नेहरुले आर्थिक विकास पनि गर्न सक्दछन् ।
तर रहरको भएर मात्रै आउने, जसलाई संगीतबारे केही ज्ञान छैन र मेहनत, लगनका साथ काम गर्दैन भने त्यस्तो ब्यक्तिलाई भने गाह्रो हुन सक्दछ । मेहनत गर्ने, लगनशील भएर लाग्ने ब्यक्तिहरुने दीर्घकालीन रुपमा सफल हुने गर्दछन जस्तो मलाई लाग्छ । अहिलेसम्मको जीवन यात्रा र भोगाईलाई हेर्दा जीवन भनेको संघर्ष हो जस्तो लाग्यो । जहाँ उतारचढावहरु आउने र जाने क्रम निरन्तर चलिरहन्छ ।
हाम्रो जिवनमा आउने उतार चढाव दुई पाटा हुन जस्लाई अँगालेर अगाडि बढ्नुपर्छ । कहिँ कतै फेल भइन्छ अनि पास हुनुको मज्जा नै बेग्लै छ । त्यसैले जीवन भनेको संघर्ष नै हो र हामी संघर्ष गरी बाँच्न सक्नुपर्छ ।











