Ad #144479

समिता श्रेष्ठ

ममिता कार्कीे मोरङमा बस्नुहुन्छ । रामेछापको गेलुमा जन्मेकी कार्की काठमाण्डौ आएर सुरुमा अरुको फेन्सी पसलमा ४-५ वर्ष काम गर्नुभयो । त्यहाँबाट अनुभव लिएर काठमाण्डौमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । काठमाण्डौको व्यवसाय छोडेर उहाँ फेरी आफ्नै घर मोरङ जानुभयो । अहिले उहाँ मोरङमा जिवजन्तुको पशुको दाना औषधि फार्म सञ्चालन गर्नुहुन्छ । काठमाण्डौमा थालनी गरेको व्यवसाय छोडेको भएपनि फेरी ठुलो व्यवसाय गर्ने उहाँको सपना भने मरिसकेको छैन ।

व्यवसायबाट आफू आत्मनिर्भर : अरुलाई रोजगारी

कार्कीले फार्मको काम सुरु गर्नुभएको धेरै भएको छैन । कोरोना महामारीका कारण भएको लकडाउनपछि मात्रै उहाँले यो व्यवसाय सुरुवात गर्नुभएको हो । उहाँ भन्नुहुन्छ,‘सानो ठुलो जे भएपनि महिलाहरु आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । मैले पनि यहि उदेश्यले फार्म खोलेको हुँ । जिविकोपार्जनका लागि यसैबाट पुगेको छ । फार्म या यस्तै व्यवसायलाई अगाडि बढाएर एकल महिला र पीडितहरुलाई रोजगार दिने सपना छ ।’

विदेशको सपना नदेखौं

कार्कीलाई फार्मको काममा उहाँको घर परिवारले साथ र सहयोग दिनुहुन्छ । अहिले त्यति ठूला व्यापार व्यवसाय नभए पनि आफ्नै सानो व्यापारबाट आफू सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । ‘विदेश गएर दिनरात नभनि काम गर्नु भन्दा नेपालमा नै केही व्यापार व्यवसाय गरी जीवन निर्वाह गर्न सकिन्छ । त्यसको लागि आफ्नो ठाउँबाट आफै लाग्नुपर्छ ।’

कार्की भन्नुहुन्छ,‘हामी बिदेशमा गएर जे काम गर्न पनि तयार हुन्छौ । तर नेपालमा त्यही काम गर्न लजाउने गर्छौ । विदेशमा लगानी गर्ने पैसा नेपालमा नै लगानी गर्न सक्यौ भने आफू मात्र होइन अरुलाई पनि रोजगार दिन सकिन्छ । आम्दानीको बाटो खोल्न सक्छौ । रहरमा विदेशको सपना नदेखौं ।’

उहाँ भन्नुहुन्छ,‘कृषि फार्ममा प्रयोग गर्ने पशुहरुको दाना उत्पादन गर्ने साधन जोड्न सके राम्रै कमाई हुन सक्छ । आफूले पालेका पशु तथा अरुका लागि पनि दाना बेच्न सकिन्छ । यसले अरुलाई पनि रोजगार दिन सक्थ्यो । भबिष्यमा आफुले बनाएको सोच घर–परिवार बाट पीडित महिलाहरुको लागि केही रोजगार मुलक काम गर्ने रहेको उहाँको भनाई छ ।

‘हामीले चोरेर ढाँटेर खानु हुँदैन । सानो ठुलो आफुले गर्न सक्ने काम गरेर खानु पर्छ । आफ्नो खुट्टामा आफू उभिनु सकेमा अरुसँग माग्नु पर्दैन । आफ्नो खर्चको लागि आफूसँग नै खर्च हुन्छ । कसैले हेप्न र अपहेलना गर्न सक्दैन । त्यसैले आफ्नो खुट्टामा आफू नै उभिएर काम गर्नु पर्छ । यो व्यवसायबाट म आफू सक्षम भएको छु ।’

आफू सक्षम बन्नुपर्छ

कार्की भन्नुहुन्छ,‘जीवनमा अनेकौं उतारचढावहरु आउने गर्छन् । तर ती उतारचढावहरुमा हामी संघर्षशिल भएर लाग्नु पर्छ । जस्तोसुकै परिस्थिति हार मानु हुँदैन । मैले पनि जिवनमा धेरै संघर्ष गरेको छु । त्यो संघर्षहरु पार गर्दै यो व्यवसायमा लागेको हुँ । आँट गरे जे पनि गर्न सकिन्छ । जे जस्तो भए पनि यसबाट म सन्तुष्ट नै छु । यो भन्दा राम्रो हुँदै जाने आश पनि छ । आफु सक्षम भएर अगाडि बढ्न सकेको छु । भविष्यमा मेरो सोच आफ्नो व्यवसाय विस्तार गरेर एकल तथा पीडीत महिलाहरुलाई प्राथमिकता दिएर रोजगार दिने रहेको छ ।’