सरोज कार्की
सञ्चारकर्ममा लागेर संगीतलाई नजिकबाट नियाँल्दै सञ्चार कर्म मार्फत संगीतको उत्थान र उन्नतिको लागि दृढ संकल्पका साथ लागेको एउटा नाम हो दिलीपकुमार ज्योती । संगीत अध्ययन गरेर संञ्चार कर्ममा लागेर संगीतमै समर्पित थोरै संञ्चारकर्मि मध्ये ज्योती पनि एक हुनुहुन्छ । संगीत प्रतिको यतिविध्न मोह बारे सोध्दा उहाँ भन्नुहुन्छ।
“मेरो बा गीत सुन्न एकदम मनपराउने मान्छे । त्यो बेला नेशनल प्यानासोनिक क्यासेट प्लेएरको जवाना थियो । बाले सञ्चारकर्मि मित्र अच्युत घिमीरेको बा श्रीकृष्ण घिमीरेसँग त्यो क्यासेट प्लेएर किन्नु भएको थियो । नेपाली गीतका क्यासेट त्यति थिएन त्यो समय ।
हिन्दी चलचित्रको एच. एम.भि को क्यासेट हुन्थे । मेरो बा बजारमा नयाँ गीतको क्यासेट आउने बित्तिकै घरमा ल्याउनुहुन्थ्यो । त्यो बेलाको चलचित्र मदर ईन्डिया, बर्षात, संगम, चोरी चोरी,बैजु बावरा, कटि पतङ्ग, आराधना जस्ता चलचित्रका गीतहरु सुनेर हुर्किएको म ।
मोहम्मद रफि, लता मंगेशकर, किशोर कुमार, मन्नाडे, महेन्द्र कपुर र मुकेश जस्ता हिन्दी सिनेमाका लेजेण्ड गायक गायिकाको गायकिको छाप सानै उमेरमा परेको हुनाले संगीत प्रति लगाव बढ्नु स्वभाविक नै हो । घरमा भएको क्यासेट प्लेयरमा आवाज भरेर आफ्नो आवाज कस्तो छ भनेर म सुन्ने पनि गर्थें ।”
ज्योती विद्यालय पढ्दा नै संगीतमा रुचि राख्थे । विद्यालय तहमा त्यो बेला संगीत सामग्री थिएन । श्री चामुण्डा माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्दा उहाँले आफ्नो गायनले शिक्षक वर्ग र स्कुलका साथिहरुको मन जितिसक्नु भएको थियो । मुस्कुराउँदै बिगत सम्झदै ज्योती भन्छन् ।“बीना संगीत एकोहोरो गीत गाउँथे म । डस्टर समाउन लगाएर माईक सम्झदै गीत गाउन भन्नुहुन्थो सरहरु मलाई । स्कुलका केहि कार्यक्रममा मैले बिना संगीत गीत गाएको छु । अहिले सम्झदा लाज लाग्छ मलाई ।”
विद्यालयमा अध्ययरत हुँदा नै रेडियो नेपालका टेक्निसियन श्रीराम रायमाझीले ज्योतीको गायन प्रतिको लगाव देखेर साधना कला केन्द्रमा भर्ना पनि गर्दिनु भएको थियो । “१ वर्ष जति कक्षा ७ मा पढ्दा नै संगीत कक्षामा पुगेर केहि समय अलंकार पनि रटियो । ” ज्योती भन्नुहुन्छ ।
विद्यालय तह सकिए पछि संगीतलाई नै निरन्तरता दिन रत्न राज्य क्याम्पसमा संगीत विषय नै लिएर अध्ययन गर्नुभएका ज्योती लेकलानिधी ईन्दिरा संगीत महा विद्यालयबाट आदरणीय गुरु श्री धनबहादुर गोपालीको सानिध्यमा रहेर गायनमा बिम्युज सम्मको संगीत शिक्षा लिनुभएको छ । संगीतका सबै बाजाहरु बजाउन जान्ने ज्योती बाल बलिकालाई घरबाट नै संगीत संस्कारमा जोड दिए संगीत आफैं परिमार्जीत हुने बताउनु हुन्छ ।
एचबीसी एफएम र शास्त्रीय संगीतको कार्यक्रम
सन् २००० को वर्ष थियो । ज्योती संगीत सिक्दै हुनुहुन्थ्यो।बालसखा अच्युत घिमिरेले आफु एच.बि.सि ९४ एफ .एम मा जागिर खान थालेको कुरा सुनाउनु भयो ज्योतीलाई । ज्योतीलाई गीत रेकर्डिङ स्टुडियोको बारेमा जानकारी भएपनि एफ.एमको दुनियाँ भने नौलो थियो । उहाँले सहकर्मी अच्युत घिमीरेलाई आफु पनि रेडियोमा कार्यक्रम गर्न ईच्छुक भएको बताउनु भयो ।
संगीतको विद्यार्थी पनि भएको र एच.बि.सि एफ.एम पनि संगीत थिम मा नै चलेको हुनाले अच्युतले ज्योतीलाई “एउटा संगीत संम्बन्धि कार्यक्रमको स्क्रिप्ट तयार गर म अफिसमा लगेर देखाउँछु भन्नुभयो ।” ज्योतीले स्क्रिप्ट तयार पर्नुभयो र त्यो पास पनि भयो । त्यसपछि उहाँको भ्वाईस टेष्ट लिइयो । आवाज राम्रो भएपनि प्रस्तुतीमा केहि सुधार गर्नुपर्ने देखियो तर पनि उहाँले कार्यक्रम चलाउन अनुमति पाउनु भयो।
रेडियो प्रवेशमा अच्युत घिमिरेको सहयोग र साथको उहाँ मुग्ध कण्ठले प्रशंसा गर्नुहुन्छ । “संगीतप्रतिको लगाव र क्षमता बाहेक अरु सबै आवाजका बादशाह मित्र अच्युत घिमिरेकै देन छ मेरो रेडियो यात्रामा ।उहाँले धेरै कुरा सिकाउनु भएको छ मलाई । सधै साथदिने र हौसला प्रदान गर्ने उहाँ मेरो प्रिय मित्र हो । म कतै पढेर र तालीम लिएर रेडियो प्रवेश गरेको मान्छे होइन ।”
ज्योतीले एच.बि.सि एफ.एममापहिलो पटक शास्त्रीय संगीतको कार्यक्रम राग–रागिनी संचालन गरें। त्यसपछि संगीत सम्मोहन, अलंकार, आरुबारीका फुलहरु कब्बाली बिशेष, स्थायी अन्तरा लगायतका सांगीतिक कार्यक्रम सँगसँगै स्टुडियो अपरेटरको रुपमा पनि केहि वर्ष काम गरें ।
“शान्ती, प्रेम ,ध्यान र संगीतको थिममा संचालीत रेडियो एच.बि.सिको सिध्दान्त निकै नै नौलो थियो । पूर्वीय र पश्चिमादर्शनको मिश्रण ले यो रेडियोको थिम बुझ्न सर्बसाधारणका लागि झन जटिल थियो । विश्वभरका गीत संगीतलाई आफ्नो प्रसारणमा समेट्ने यो रेडियो त्यो समयका नेपाली स्रोताको लागि निकै नौलो थियो ।
यो रेडियोको स्टेशन आईडि सुन्दा मात्र पनि कुनै अन्तराट्रिय रेडियो स्टेशन झै लाग्थ्यो ।केहि स्रोता त फलानो स्टेशन आईडि एक पटक फेरि बजाई दिनुस न भन्ने सम्म गर्थे ।”ज्योती बिगत सम्झदै भन्नुहुन्छ ।
“रेडियोको थिम र मेरो रुचि नै संगीत हुनाले मलाई हरेक पल रेडियोमै बिताई रहुँ जस्तो लाग्थ्यो । निक्कै रमाइलो थियो त्यहाको परिवेश र रेडियोको बिल्डिङबाट देखिने आसपासका दृश्य ।नेपालको पहिलो वेभकास्ट रेडियो थियो त्यो । बिदेशी स्रोताहरुले समेत धेरै चाँसो दिएको रेडियो थियो त्यो । तर नेपाली स्रोताले पूर्ण रुपमा त्यो रेडियोको थिमलाई नबुझ्दै रेडियोको व्यवस्थापन परिवर्तन भएसँगै रेडियोको थिम नै परिवर्तन भयो र अन्ततः एच.बी.सी रेडियो, दोहोरी गीत बजाउने हिट स्टेशन बन्न पुग्यो ।
अहिले सम्झँदा दन्ते कथाझै लाग्छ । च्याउसरि रेडियो उम्रेको छ अहिले । यदि कसैले अझै पनि रेडियो एच.बि.सिको म्युजिकल थिम आफ्नो रेडियोमा प्रयोग गर्ने हो भने त्यो एफ.एम नेपालको नम्बर वन एफ .एम बन्नेछ अझै पनि । एकै प्रकृतिका रेडियोबाट स्रोता वाक्कै भैसके अहिले ।” ज्योती पूर्ण आत्मविश्वासका साथ भन्नुहुन्छ ।
उज्यालोमा आवद्ध
एचबीसीसँगको झण्डै एक दशकको सम्बन्ध छुटेपछि ज्योतीले केहि समयरेडियो अडियोमा काम गर्नुभयो । ‘संगीत सम्बन्धि ज्ञान र स्टुडियो अपरेटरको अनुभव भएका कारण रेडियोमा सजिलै काम पाएँ ।’ उहाँ भन्नुहुन्छ,‘ रेडियो अडियोमा पनि मैले रेडियो प्रसारण अवधिभर बज्ने गीत छनोट गर्नेलाई बेरियनको रुपमा २ वर्ष काम गरें।’
एच.बि.सि एफ.एमको थिममा काम गरेका ज्योतीलाई अरु रेडियो निक्कै नै फिक्का लाग्थ्यो । अरु कुनै पनि रेडियोले एच.बि.सिको याद आफ्नो मन मस्तिष्कबाट छुटाउन नसकेको र अब अरु रेडियो नजाने बिचार सहित उहाँ आफ्नै व्यवसायमा लाग्नुभएको थियो । तर बोलेरै खान लेखेको होला उहाँलाई । पुन अच्युत घिमीरेले नै उहाँलाई उज्यालो रेडियोमा लग्नुभयो ।
उज्यालोमा पनि उहाँले गीत संगीतकै बिट समात्नु भयो । कार्यक्रम नविन संगीत मार्फत नेपाली सांगीतीक क्षेत्रका स्थापित कलाकारहरुसँग सांगीतीक भलाकुसारी सहित नेपाली संगीतका बिसंगती र बिकृती केलाउनमा उहाँ लागि पर्नुभयो ।उज्यालोेमै छँदा उहाँले सहकर्मी रितु थेबेको सहयोग र सुझावमा कला र मनोरन्जन पत्रकारिता तर्फ हात हाल्नुभयो । उहाँ यसलाई अहिले निरन्तरता दिँदै पनि हुनुहुन्छ । अहिलेको संगीत क्षेत्रलाई इंकित गर्दै उहाँ भन्नुहुन्छ ।
“संगीत सिकेकाहरुले नै संगीत क्षेत्रको राम्रो र नराम्रो पक्ष केलाउन सक्छन र यसबारेमा लेख्न सक्छन्। ५%कलाकार पनि छैनन् सुरमा गाउने अहिले नेपाली म्युजिक इष्डस्ट्रिमा । अटोट्युन प्रयोग नगर्ने हो भने त चलेकै गायक गायिकालाई पनि हम्मे पर्छ सुरमा गीत गाउन । यसको बारेमा कस्ले लेख्ने । यहाँ त संगीतको भन्दा पनि कलाकार कति बजे उठ्छ र कति बजे सुत्छ । उसको बेडरुम कस्तो छ जस्ता कुरामा पत्रकारहरु आफ्नो लेखनी खर्च गर्छन ।कलाकार पनि त्यतै लम्पसार पर्छन् । कस्तो पत्रकारीता हो यो ? बडा बिचित्र लाग्छ मलाई।
एउटा गीत बनाउन २० लाखसम्म खर्च गरेको कुरा बाहिर आएको छ ठूलै कलाकारबाट । गीतलाई महङ्गो र बिलासीको साधन बनाउँदै छन् स्वयं कलाकार नै । यो तालले नेपाली संगीत अधोगती उन्मुख छ भन्न मलाई कर लाग्छ । नेपाली संगीतको बिकृती र बिसंगतीको बारेमा अझ सशक्त रुपमा संगीत सिकेका र बुझेकाहरुले नै आवाज उठाउने बेला आइसक्यो अब ।”ज्योती भावुक मुद्रामा आक्रोशित हुँदै भन्नुहुन्छ ।
आफूलाई संगीत अनुरागी सञ्चारकर्मी भन्न रुचाउने ज्योतीले उज्यालोमा काम गर्दा गर्दै आफ्नै युट्युब च्यानल ‘मन त मेरो नेपाली’ सुरु गर्नुभयो । उज्यालो छोडेपछि अहिले उहाँ आफ्नै यूटुब च्यानल “मन त मेरो नेपाली” मा केन्द्रित हुनुहुन्छ।
“मन त मेरो नेपाली”
नेपालीहरु संसारको जुनसुकै ठाउँमा भएपनि उनिहरुको रहन, सहन कला, संस्कृति नेपाली नै हो । नेपालीको मन जहाँ रहेपनि नेपाली नै हो । यहि थिमलाई लिएर आफ्नो च्यानलको नाम मन त मेरो नेपाली राखेको उहाँ बताउनु हुन्छ । संगीतलाई नै मूल बिषय बनाएर संगीत सम्बन्धि अन्तर्वार्ता लिने र बास्तविक कलाकारहरु र संगीतमा संस्कारीत संगीतकर्मिहरुलाई क्रमैसँग आफूले उजागर गर्दै जाने उहाँ बताउनु हुन्छ । नेपाली कला, संस्कृति र संगीतलाई मुख्य बिषयको रुपमा उठाउने यो च्यानललाई उहाँ भाइरल विषय बस्तु भन्दा पनि वास्तविक संगीतज्ञहरुमा बढी केन्द्रित गर्ने थलोको रुपमा उभ्याउने बिचारमा हुनुहुन्छ ।
संगीतको सा नजानेका मान्छेहरुलाई नारायण गोपालको उपमा दिएर भिडियो भाइरल बनाउने जुन फण्डा अपनाईँदै छ यो प्रबृत्ती दर्शक स्रोताले नै तिरष्कार नगरेसम्म रोकिने वाला छैन । जबसम्म एउटा घर एक बाजाको निती बन्दैन तबसम्म हाम्रो संगीत संस्कार परिवर्तन हुने वाला छैन ।
युवापुस्तामा संगीतप्रति अभिरुचि जागे पनि संस्कारकै रुप लिन केहि समय लाग्छ । बिशेष त महिला बर्गले संगीत संस्कारलाई अंगाल्न सके बालबालिकामा यसको असर छिट्टै पर्छ र संगीत बिकाशमा टेवा पनि पुग्छ । संगीतको संस्कार सिकाउने भिडियोहरु हेरौं नेपाली संगीतको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।” ज्योती दर्शक र स्रोतालाई अनुरोध गर्नुहुन्छ।












