Ad #144479

समिता श्रेष्ठ

प्रेम लामाको गायन क्षेत्रमा छुट्टै परिचय छ । झण्डै २० वर्ष अगाडि ‘सानु मा’ गीतबाट गीतसंगीत क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ अहिले पनि गीतसंगीतमा व्यस्त हुनुहुन्छ । उहाँ काठमाण्डौको जोरपाटी अत्तरखेलमा बस्नुहुन्छ । साथै थाङ्का आर्टमा समेत उहाँ सक्रिय हुनुहुन्छ ।

प्रेम लामाको पारिवारीक अवस्था

प्रेम लामाको जन्म २०२७ साल असोज १५ गते सिन्धुपाल्चोकको ठुलो धादिङ वडा नम्बर १ मा भएको हो । हाल उहाँको परिवारमा श्रीमती, छोरा र छोरी गरेर ४ जना हुनुहुन्छ । उहाँको बाल्यकाल देखिकै रुचि संगीत र आर्टमा थियो । उहाँले थाङ्का आर्टमा मास्टर्ससम्मको अध्ययन गर्नुभएको छ । बाल्यकाल देखिको रुचीलाई नै निरन्तरता दिनुभएका उहाँ थाङ्का आर्ट र संगीत क्षेत्रमा नै हुनुहुन्छ ।

संगीत यात्रा

एकल एल्बम ‘सानु म’ गीतबाट संगीत क्षेत्रमा प्रवेश गर्नुभएको हो । संगीत यात्रा बारे उहाँ भनुहुन्छ,‘म सुरुमा बाँसुरी बजाउने गर्थें । संगीत क्षेत्रमा सानैदेखि रुची थियो । त्यसैकारण २०५२ सालदेखी नै संगीत क्षेत्रमा आवद्ध छु । सुनिल बर्देवाको प्रेरणाले २०५९ सालमा एकल एल्बम ‘सानु म’ गीत ल्याए । यहीँ गितले नै मलाई स्थापित गरायो । यो एल्बममा जम्मा ८ वटा गीत समेटिएका छन् । यो मेरो सुरुवातको गायनलाई नै सबै श्रोता र दर्शकहरुले अत्यन्तै मन पराई दिनुभयो ।’

यो गितमा शब्द र संगित संजीव सिंहको थियो । गीतको भिडियोमा मोडलको रुपमा सुबानी मोक्तान हुनुहुन्छ । त्यस्तै गीतको सम्पादक प्रकाश आर तुलाधरले गर्नुभएको छ । यो गीतमा क्यामेरामा बिंदु एन पाण्डे हुनुहुन्छ, भने निर्देशन आलोक नेम्वाङले गर्नुभएको थियो । त्यसपछि उहाँले ‘समिप’ एल्बम धौलागिरी म्युजिक प्रा.लि बाट बजारमा ल्याउनुभयो ।

उहाँले मेलोडी पपमा गीत गाउनुहुन्छ । अहिलेसम्म उहाँले ४० वटा गीतमा आवाज दिई सक्नुभएको छ । जसमध्ये २०/२२ वटा मात्रै बजारमा आएका छन् । त्यसमध्ये १५÷१६ वटा अडियोमा र ५/६ वटा भिडियोमा छन् । जुन यूटुबमा पाउन सकिन्छ । यूटुबमा उहाँका सानु म, सातै जन्म, मध्य रातमा, दशैं आउदा, औँठी चिनो लगायत छन् ।

पहिले र अहिलेको परिवर्तन

पहिले र अहिलेमा संगीत क्षेत्रमा निकै परिवर्तन आएको छ । उ बेला सञ्चारको सिमित स्रोत साधन थियो । गीत संगित सुन्नको लागि एफएम रेडियो माध्यमका रुपमा थिए, अहिले मोबाइलमा नै सुन्न सकिन्छ । अबको योजना पर्वतारोहण गर्ने स्वर्गीय पासाङ ल्हामु शेर्पाको सम्झनामा उहाँलाई नै समर्पित गरेर एउटा गित ल्याउनेछ । जुन गितमा शब्द मीन गागर लामाको र संगित मैले नै गरेको छु । त्यो गितको भिडियो सगरमाथाको आधार शिविर वेस क्याम्पमा गएर बनाउने योजना रहेको उहाँ बताउनुहुन्छ ।

‘यो साङ्गितीक क्षेत्रमा लाग्न संघर्ष धेरै नै गरेको छु । आफ्नो मेहनत गरे अनुसार मेहेनतको फल पनि पाएको छु ।’ उहाँ भन्नुहुन्छ,‘यो साङ्गितीक क्षेत्रबाट बिचमा केहि समय हराएको थिए । तर अहिले फेरि आएको छु । यसैलाई निरन्तरता दिनेछु । आफ्नो कामदेखि सन्तुष्ट नै छु । धेरै श्रोता र दर्शकको माया पाएको छु । त्यसैकारण आफ्नो कामदेखि सन्तुष्ट नै छु । यहीँ क्षेत्रमा लागेर नै धेरैको माया पाउन सफल भएको छु ।’

थाङ्का आर्ट यात्रा

स्कुले जीवनदेखि नै आर्टमा रुची बढेको उहाँ बताउनुहुन्छ । दाईले तिब्बटियन आर्ट (थाङ्का ) को काम गर्नुहुन्थ्यो । मलाई पनि गुम्बाहरु जान र बुद्धको चित्रहरु कोर्न असाध्यै मन पर्थ्यो । त्यसैको सिलसिलामा मलाई पनि थाङ्का आर्ट सिक्न मन लाग्यो । मैले सुरुमा दाईसँगै सिके र पछि २०३८ साल तिर तिब्बतमा गएर पनि थाङ्का आर्ट पढे । अनि यसैमा मास्टर्स गरे । त्यसपछि नेपाल आएर २०४३ सालदेखि थाङ्का आर्टको ब्यवसाय नै संचालन गरें।

मैले थाङ्काको काममा बेसिकदेखि एडभान्स सबै काम गर्छु । अहिले भने मैले आर्ट्मा जटिल कला मानिने आँखा, नाक, मुद्राजस्ता आकृति कोरेर थाङ्का आर्टको अन्तिम चरणको काम गर्ने गर्छु । थाङ्का आर्ट अरु बिषय भन्दा एकदमै गाह्रो बिषय हो । यो एउटा अथाह समुन्द्र जस्तै हुन्छ । जति सिक्दै गयो त्यति नै डुब्दै जाने काम यसमा हुन्छ । यो अध्ययन गरेर कहिले पनि सकिँदैन ।

आर्ट काम गर्नको लागि सुरुको चरणमा एउटा साधारण कपडा आवश्यक पर्छ । त्यो कपडालाई लिएर माटो लगाएर रेसाहरु बनाउने काम गर्नुपर्छ । त्यसपछि त्यो एउटा कागज जस्तै हुन्छ । त्यसमा चित्र कोरेर कलर लगाउने काम गर्नुपर्छ । कलर गरिसकेपछि लाईनहरु तान्नु पर्छ । लाईन तानिसकेपछि सुन, गलहरु लाउने काम गरिन्छ । यस्तो धेरै चित्रहरु थाङ्का आर्टमा गरिन्छ ।

मुख्य भनेको यो आर्टमा भगवानको स्वरुप आँखा, नाक, मुद्रा जस्ता बनाउने हो । यो थाङ्कामा लाग्दै म गायन क्षेत्रमा लागेको हो । मैले बनाएको यो आर्टहरु चाईनामा धेरै बिक्रि हुने गर्दछ । हामी आर्ट गर्ने मान्छेहरुले सुरुमा ठमेलमा यो आर्ट बिक्री गर्छौ । त्यहाँ बाट चाइनामा धेरै जान्छ ।

आर्ट÷संगित र मानव जिवनमा यसको महत्व

यो थाङ्का आर्ट हर कोहिले गर्न सक्छ र हर कोहिले गर्न सक्दैन । किनभने यो आर्ट गर्नको लागि आर्टिसमा हुनु पर्ने गुण धैर्यता हो । त्यसै गरि मनबाट आर्ट गर्ने रुची हुनुपर्छ । लगनशील भएर लाग्नुपर्छ । यो आर्टको क्षेत्रमा अरुको हेरेर गर्छु भनेर यत्तिकै लाग्न सकिँदैन । यसको लागि आफुमा धैर्यता हुनुपर्छ ।

त्यस्तै संगित मानिसको जिवनको लागि अपरिहार्य चिज हो । संगीतले मनलाई शान्त बनाउने काम गर्छ । मेरो जिवनमा यी दुबै कुराको महत्त्व अति नै छ । मलाई थाङ्का कोर्न र गीत गाउन अति नै रमाइलो लाग्छ । मेरो लागि थाङ्का लेख्नु पेसा–व्यवसाय भन्दा पनि भगवान् सँगको सामिप्यता जस्तो लाग्छ ।

यो थाङ्का आफैमा एकाग्रताको काम हो । थाङ्का कोर्न बसेपछि, दुई–तीन घन्टा नभई उठ्दिनँ, फोन पनि टाढै रहन्छ । यस्तै एकाग्रता संगीतमा पनि चाहिन्छ । त्यसैले थाङ्का लेखनले संगीतलाई र संगीतले थाङ्का लेखनलाई मद्दत गरेको अनुभव हुन्छ ।’

गीत–संगित र थाङ्का आर्टमा सक्रिय

थाङ्का कलाकारका लागि संगीतले थप उर्जा दिन्छ । यो दुबै कुरा मेरो साधना, रुचीको बिषय र तपस्या हो । यो दुबै कलाबाट मलाई परिचय दिएको छ । यो कलाहरु नै मेरा दुखका साथी हुन । यो गायन र आर्टले मनलाई आनन्द दिने गर्छ । यो दुबै क्षेत्रमा म निरन्तर रुपमा लागि रहने मन छ ।

अन्तिम साससम्म र शरीरमा बल र शक्ति भएसम्म म यो संगीत क्षेत्रलाई र आर्ट लाई छोड्न सक्दिन । यो संगीत क्षेत्र लाग्न चाहने हर कोहीले सिकेर आउँदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

अहिले पहिले जस्तो गाह्रो छैन । डिजिटल सिस्टम आएको छ । घरमा नै बसेर पनि रेकर्डिङ्गको काम गर्न सक्छौ । आफुले गाएको सबै गितहरु आफुलाई राम्रो नै लाग्ने गर्छ । तर त्यस मध्ये पनि मेरो पहिलो गित ‘सानु म’ धेरै नै मन पर्छ । किनभने यसै गितले मलाई स्थापित गराएको हो र संगित क्षेत्रमा लाग्न प्रेरित गरायो ।