समिता श्रेष्ठ
ढाका कपडा उत्पादक गर्ने कल्पना लिम्बु एक सफल उद्यमी हुनुहुन्छ । उहाँको कम्पनीको नाम ‘द हाइल्यान्ड आर्ट फेसन डिजाइनिङ एन्ड ट्रेनिङ’ हो । यो कम्पनी काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको छ । यसको बिक्री केन्द्र भने बौद्धमा रहेको छ ।
ढाका कम्पनीमा ९० प्रतिशत महिला
कल्पना लिम्बु २०१९ सालमा पाँचथरमा जन्मनुभएको हो । उहाँको परिवारमा ४ जना हुनुहुन्छ । पाँचथरबाट काठमाण्डौ आउनुभएकी उहाँले आफ्नै कम्पनी सञ्चालन गर्नुभएको छ । २०६४ सालमा दर्ता गरेर कम्पनी स्थापना भयो । विशेष गरेर यो कम्पनीले ढाकाजन्य कपडा, खाडिका कपडा उत्पादन गर्छ ।
यो कम्पनिमा ९० प्रतिशत बढी महिलाहरुले नै काम गर्नुहुन्छ । यो कपडा सय प्रतिशत नै सुतिको अर्थात् कटन र सबै हातेतानबाट बुनेर तयार गरिन्छ । लिम्बुको कम्पनीमा सबै ढाका कपडाको उत्पादन गर्ने गरिन्छ ।
१५ हजार रुपैयाँबाट सुरु
लिम्बुले ढाका कम्पनी सानो लगानीबाट सुरुवात गर्नुभयो । उहाँ भन्नुहुन्छ,‘सुरुमा १५ हजार रुपैयाँबाट सुरुवात गरेको हो । अहिले कम्पनीमा ४/५ करोडको लगानी पुगिसकेको छ । हाल यो कम्पनिमा २ सय तान छ र यसबाट २ सय जनाले रोजगार पाएका छन् । त्यस्तै ३ हजार जनालाई तालिम पनि दिएको छ ।
यहाँबाट ढाकाजन्य कपडा सबै उत्पादन गर्नुका साथै डिजाइन पनि गरिन्छ । अनि त्यसलाई मार्केटसम्म पुर्याउने काम पनि म आफै गर्छु ।’ लिम्बुको कम्पनीमा उत्पादन भएका ढाकाको कपडाहरु नेपाल लगायत नेपाली पुगेका विश्वका धेरैजसो देशमा पुग्ने गरेको छ ।
व्यापार बिस्तारका लागि ४० भन्दा धेरै देश
यो ढाका कपडा र ढाका कपडाबाट बनाएका विभिन्न डिजाइनहरुलाई लिएर व्यापार बिस्तार र प्रवर्द्धनको लागि नै भनेर ४० देशमा पुगिसकेको उहाँ बताउनुहुन्छ । यस बाहेक उहाँ समाजसेवा र राजनीतिमा पनि सकृय हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यहाँ उत्पादन भएका कपडाहरु खरिद गर्नका लागि सर्वसाधारणदेखि देशका प्रमुख ब्यक्तित्व पनि आउनु हुन्छ ।
मेरो कम्पनीबाट ढाका कपडा ५० रुपैयाँ देखि ४५ हजार सम्मको उत्पादन गरेको छु । यहाँबाट मिस नेपालको बिजेता सुबिन लिम्बूको लागि विश्व सुन्दरीमा भाग लिनको लागि नेपालको पहिचान झल्कने ढाका डिजाइन उत्पादन गरेको थिएँ ।’
ढाकाको महत्व
ढाका कपडा पुर्व पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ईलामबाट सुरुवात भएको हो । यसको इतिहास लामो छ भने महत्त्व आफ्नै खालको छ । लिम्बु ढाका कपडाको उद्यमी मात्रै नभई नेपालको ढाका कपडाको अनुसन्धान कर्ता पनि हो । यो एउटा नेपालको परम्परागत ब्यवसाय हो ।
यो परम्परागत ब्यवसायलाई बिश्व बजारमा पुर्याउनुको निम्ती धेरै मेहनत गर्नुपरेको छ । यो ब्यवसाय लोप हुने अवस्थामा पुगिसकेको थियो । उहाँ भन्नुहुन्छ,‘धेरै अगाडि पुर्वमा हरेक घरमा एउटा तान हुने गथ्र्यो । दिनभरी मेलापाल गरेर पनि रातमा टुकि बालेर बुजुहरुले ढाका बुन्नुहुन्थ्यो ।’
परम्परागत ब्यवसायलाई लोप हुन नदिन लिम्बुले मेहनत गर्नुभएको छ । साथै आम्दानी पनि राम्रै छ । महिलाहरुलाई रोजगार बनाउन सफल हुनुभएको छ । उहाँ भन्नुहुन्छ,‘परम्परागत ब्यवसायलाई संरक्षण गर्न सरकारको ध्यान पुग्नुपर्छ । सम्बन्धित निकायहरुले पनि यसमा ध्यान दिनुपर्छ र ध्यान दिनुहुन्छ भने आश छ ।’












