समिता श्रेष्ठ
बबी लामा देश तथा बिदेशमा ख्याती प्राप्त मंगोलियन हार्ट ब्यान्डका म्यानेजर तथा व्यान्डका बरिष्ठ गिटारिस्ट हुनुहुन्छ । उहाँ यो ब्यान्डमा आवद्ध भएर काम गर्नु थाल्नुभएको १८ बर्ष भैसक्यो । अहिले ब्यान्डको हरेक गतिविधि समाल्ने गर्नुहुन्छ ।
स्वदेश तथा बिदेशमा हुने हरेक कार्यक्रमको डिलिङ, सबै ब्यान्ड सदस्यलाई कार्यक्रमको समय, स्थान,तयारी, प्राक्टिसको समय तालिकाको बिवरण, समय समयमा भेटघाट, एक अर्कामा नयाँ नयाँ कार्यक्रमको बिषयबस्तुमा छलफल लगायतका काम गर्नुहुन्छ ।
उहाँले सानै उमेरदेखि नै म्युजिकमा रुची राख्ने गर्नुहुन्थ्यो । त्यही रुची र म्युजिक प्रतिको मायाले गर्दा नै आजसम्म निरन्तर रुपमा यो क्षेत्रमा लागि रहेको लामा बताउनुहुन्छ ।
जन्म, परिवार र रुचीको काम
बबी लामाको जन्म २०४० साल साउन २६ गते भोताङ सिन्धुपाल्चोक लामा टोलमा भएको हो । उहाँको परिवारमा आमाबाबा, श्रीमती, दाईभाउजू अनि भाईबुहारी हुनुहुन्छ । उहाँले प्लस टु सम्मको अध्ययन गर्नुभएको छ । उहाँको बाल्यकाल साधारण सबैको जस्तै दुखसुखको समिश्रणमा बित्यो ।
उहाँले सानो उमेरदेखि नै खेलकुद अनि गीत संगीतमा रुची राख्ने गर्नुहुन्थ्यो । त्यही रुचीको क्षेत्रमा आवद्ध हुँदै हाल उहाँ गीत–संगित र मंगोलियन हार्ट ब्यान्डमा आबद्ध हुनुहुन्छ । लामा भन्नुहुन्छ,‘म अहिले मंगोलियन हार्ट ब्यान्डको नयाँ प्रोजेक्ट तथा ‘द भ्वाइस अफ नेपाल सिजन ३ को तयारी गर्दैछु ।
गीत संगितका २० बर्ष र ब्यान्डमा १८ बर्ष
उहाँ गीत संगितमा लागेको २० बर्ष भैसकेको छ । मंगोलियन हार्ट ब्यान्डमा आबद्ध भएर काम गरेको पनि १८ वर्ष भयो । उहाँको पारिवारिक वातावरण सांगितीक नभए पनि उहाँको भने बाल्यकाल देखिकै रुचीको क्षेत्रमा थियो । त्यसै कारण घरमा गीत संगितको माहोल नभए पनि सानैदेखिको इच्छा चाहाना तथा साथीभाईहरुको साथले यस क्षेत्रमा प्रवेश गरेको लामा बताउनुहुन्छ ।
लामा भन्नुहुन्छ,‘गीत संगितको लगावको कारण परिवारले पढाई लेखाईमा जोड दिइराख्दा पनि मेरो मस्तिष्कमा भने गीत संगित मात्रै गुन्जिरहन्थ्यो । रहरै रहरले गर्दा म यस क्षेत्रमा डुब्दै गए । मेरो सांगितीक यात्रा निरन्तर छ ।
प्रेरणाको स्रोत र ब्यान्ड
म सम्झन्छु त्यो दिन लाई जब मेरो कजन दिदी चिर्की तामाङले १८/१९ वर्ष पहिले पहिलो पल्ट पन्ध्र सयमा गितार किनिदिनु भयो । अनि सुरेश श्रेष्ठ सरले बजाउन सिकाउनु भयो । उहाँहरुले दिनुभएको साथ र हौसलाले नै आज यो स्थानसम्म आउन सफल भएको छु । उहाँहरु नै मेरो पहिलो प्रेरणाको श्रोत हुनुहुन्छ । अहिले म मंगोलियन हार्ट ब्यान्डमा म्यानेजरको रुपमा काम गर्दैछु । यो ब्यान्डमा लाग्न थालेको १८ बर्ष भयो र मलाई यो ब्यान्डमा मेरो आदरणीय दिदी लमु लामाले ल्याउनु भएको हो ।
यो ब्यान्डमा म लगायत मेरा ६ जना साथीहरू राजु लामा, सन्तोष थापा, किरण नगरकोटी, पवन कपाली, बिनय महर्जन र बाबू राजा महर्जन हुनुहुन्छ । यसमा हरेक ब्यान्ड मेम्बरको छुट्टाछुट्टै भुमिका र दायित्व हुन्छ । जसमा म ब्यान्ड प्रबन्धक गिटारिस्ट पछाडि भोकल साथ दिने गर्छु ।
त्यस्तै राजु लामा भोकलमा हुनुहुन्छ । अर्का मेम्बर सन्तोष थापा ड्रममा हुनुहुन्छ । त्यस्तै किरण नगरकोटीले नेतृत्व गितारिस्टको काम गर्नु हुन्छ । अनि पवन कपाली बास गितारिस्ट हुनुहुन्छ । त्यस्तै बिनय महर्जन बाँसुरिमा र बाबु राजा महर्जन मादलिस्ट (percussion) मा हुनुहुन्छ ।
पहिले भन्दा अहिले सजिलो
‘यो क्षेत्रमा लाग्न चाहनेहरुको लागि पहिले भन्दा अहिले निकै सजिलो छ । तर लाग्न चाहने ब्यक्तिमा काम प्रती लगनशीलता र संघर्षशिल हुनुपर्छ । मुख्य कुरा भनेको मेहेनत नै हो । जुनसुकै क्षेत्रमा लागे पनि मेहेनत गर्नु छोडनु भएन । अहिले त झन् नयाँ प्राविधि आएको छ । यसलाई नयाँ पुस्ताले राम्रो तरिकाले सदुपयोग गर्न सक्यो भने अवश्य सफलता पाउनेछन् ।’लामा भन्नुहुन्छ ।
मंगोलियन हार्ट ब्यान्ड स्थापना र काम
मंगोलियन हार्ट ब्यान्डको स्थापना सन् १९९२ मा भएको हो । यो ब्यान्डले आफ्नो स्थापना भएको दिनदेखि अहिलेसम्म देश तथा बिदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई शुद्ध नेपाली मौलिकता झल्किने गीत संगीत पस्केर मनोरञ्जन दिने काम गरेको छ । ब्यान्डले मौलिकता झल्कने गित पस्कने गरेको छ ।
विभिन्न ठाउँमा सहयोग स्वरूप फ्री कन्सर्टहरु पनि गर्दै आएको छ । आगामी योजनाबारे लामा भन्नुहुन्छ,‘अब हाम्रो योजना भनेको गीत संगीतद्वारा सम्पुर्ण जनमानसमा अझै राम्रो राम्रो संगीत पस्कने हो । त्यस्तै गरि गीत संगीतकै माध्यमबाट समाजसेवामा समेत टेवा पुराउने कार्यक्रमहरु ल्याउने उदेश्य रहेको छ ।
कोरोनाका कारण अहिले संसारभर निक्कै चुनौती र जोखिम बढ्दै गएको छ । तर यी जोखिमलाई मोलदै नयाँ नयाँ प्रोजेक्टहरुको बारेमा सरसल्लाह भइरहेको उहाँ बताउनुहुन्छ । म्युजिक बाहेक कुनै समय उहाँ आफ्नै रेस्टुरेन्ट पनि थियो । तर त्यसमा समय दिन नसकेको उहाँ बताउनुहुन्छ ।
अहिले मंगोलियन हार्ट इभेन्ट म्यानेजमेन्ट चलाउँदै हुनुहुन्छ । अहिलेको डिजिटल युगमा कला छ र मेहनत ग¥यो भने यो क्षेत्रमा लागेर जिविकोपार्जन गर्न सकिन्छ जस्तो लाग्छ ।
संघर्षका दिनहरु
बिगतको दिन र संघर्षको यात्रा सम्झदै उहाँ भन्नुहुन्छ,‘हरेक काम गर्दा संघर्षको आवश्यकता पर्ने गर्दछ । सफलताको सुत्र नै संघर्ष हो जस्तो मलाई लाग्छ । मैले पनि यो स्थानसम्म आउनको लागि धेरै संघर्ष गरेको छु । त्यो संघर्षबारे केही शब्दमा भनेर सकिंदैन । जुन बेला मैले यो क्षेत्रमा प्रवेश गरें त्यो बेला अहिलेको जस्तो डिजिटल माध्यम थिएनन् ।
कतै हिड्नु पर्दा म सँग साथमा पैसा पनि हुँदैन थियो । स्थापित अग्रज व्यक्तिहरुलाई भेट्न पर्दा निकै गाह्रो हुन्थ्यो ।’ जे जस्तो अवस्था पार गर्न परे पनि यहीँ क्षेत्रमा लाग्ने इच्छा र लगावको कारणले गर्दा म र मेरो साथीहरू मिलेर ‘द गोर्खाज बान्ड’ स्थापना गरेका थियौ । हाल यो ब्यान्ड छैन । सबै आ आफ्नो कामहरुमा छन् तर मित्रता र सम्बन्ध प्रगाढ नै छ ।
त्यो बेला ब्यान्ड स्थापना गरे पनि आफुसँग बजाउने बाजाहरु केहि थिएन । आफुसँग नभए पछि हामी अरुको मागेर स–सानो कन्सर्ट गर्दै हिड्ने गर्थ्यौ । त्यो बेला ठुलो महोत्सब इभेन्टहरुमा अडिसन पास हुँदा पनि आफ्नो पालो घण्टौ कुर्दा पनि आउदैन्थ्यो । आफु र आफ्नो ब्यान्ड स्थापित नभएको हुनाले कन्सर्टहरुमा भाग लिनु पनि ज्यु ज्यु गर्नु पर्थ्यो ।
बिगत भन्दा अहिले निक्कै फरक
त्यो समयमा एउटा मात्र च्यानल थियो । आफ्नो ब्यान्डको बारेमा, आफ्नो बारेमा अन्तर्वार्ताहरु होस् भन्ने हुन्थ्यो । आफ्नो कामको बारेमा अरुले प्रोमोट गर्दियोस् भन्ने लाग्थ्यो । अहिलेको जस्तो डिजिटल प्रबिधिहरु न भित्रीएको भएर नेपाल टेलिभिजन छिर्नलाई जिउ जिउ गर्नु पर्थ्यो । यस्तै अनगिन्ती संघर्ष पार गर्दै अहिले म यहाँसम्म आईपुगेको छु ।
सुरुवातको दिनहरु जब म यो क्षेत्रमा लागेको थिएँ । तब अहिलेको जस्तो डिजिटल प्रबिधिको बिकास भएको थिएन । क्यासेट, सिडिहरु हुन्थ्यो । स्टुडियोमा गएर रेकर्ड गर्दा वान टेकमा गर्नुपर्थ्यो । एकदमै गाह्रो हुने गर्थ्यो तर रमाइलो पनि हुन्थ्यो । अहिले पहिले भन्दा निकै सजिलो छ । अहिले होम स्टुडियोहरु पनि स्थापना भैसकेको छ ।
नयाँ नयाँ टेक्नोलोजीहरु बिकास हुँदै गएको छ । काम गर्न पनि पहिले भन्दा निकै सजिलो छ । एकटेकको अवस्था अहिले रहेन । धेरै फरक भएको छ ।
सफलता र सुझाव
गीत संगित बाहेक उहाँ समाजसेवाको काममा समेत सक्रिय हुनुहुन्छ । उहाँ आफ्नो काम प्रति सन्तुष्ट रहेको बताउनुहुन्छ । लामा भन्नुहुन्छ,‘यहि कामबाट नै मलाई धेरैले चिन्नु हुन्छ र खोज्नु हुन्छ । यसैलाई मैले आफ्नो सफलता मानेको छु ।
आज म यो ब्यान्डमा र यो काममा नभएको भए मलाई सिमित मान्छेहरु जो मेरा नजिक हुनुहुन्छ, उहाँहरुले मात्रै चिन्नु हुन्थ्यो होला तर आज मलाई असीमित म्युजिकलाई माया गर्ने ब्यक्तिहरुले चिन्नु हुन्छ । सफलता भनेको नै यहि हो जस्तो लाग्छ ।
तपाईंहरु जे काम गर्नुहुन्छ, कडा परिश्रम गर्नुहोस्, निरन्तर लाग्नुहोस् । नेपाली गीत संगीतको सम्मान गर्नुहोस् । संगीतलाई तपाईंको मुटुको छेउमा महसुस गर्नुहोस् भन्न चाहन्छु ।’












