समिता श्रेष्ठ
अत्तरखेल युवा समाज एउटा नाफारहित सेवामा समर्पित सामाजिक संस्था हो । सामाजिक काममा सक्रिय यो संस्था २०७४ सालमा आधिकारीक रुपमा दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा दर्ता भएको अत्तरखेल युवा समाजको कार्यालय गोकर्णेश्वर नगरपालिका ८ मा रहेको छ । समाजको केन्द्रिय कार्यसमितिमा सुमन लामाको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी रहेका छन् ।
संस्था स्थापनाको उद्देश्य
आफ्नो समाज आफैं बनाउनु पर्छ भने मुख्य उद्देश्यले अत्तरखेल युवा समाजको स्थापना गरिएको हो । यो युवा समाजको वर्तमान अध्यक्षका रुपमा सुमन लामा, उपाध्यक्षको रुपमा अमर लामा, कोषाध्यक्षको रुपमा प्रकाश तामाङ र सचिव दिनेश राई हुनुहुन्छ । समाजमा देखिएका समस्याहरुलाई निर्मुल पार्न युवाहरुको महत्वपूर्ण भुमिका हुने भएकोले समाजमा रहेका युवाहरुले नै समाज निर्माणको कार्यमा अगाडि बढ्नुपर्छ भने उद्देश्यबाट स्थापना भएको हो ।
यसले सबैभन्दा पहिले समाजमा रहेका समस्याहरुलाई उजागर गर्ने र समाधानमा केन्द्रित हुने गर्छ । लागूऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रम, फुटबल, म्याराथन प्रतियोगिता जस्ता कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएको छ । लागूऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रम विशेषगरी गोकर्णेश्वर नगरपालिकाभित्रका प्रत्येक वडा, स्कुल, कलेज, तथा युवा वर्गलाई लक्षित गरी हुँदै आएको छ ।
संस्थाले गरेका कामहरू
समाजले धेरै पहिलादेखि सामाजिक काम थालेको भएपनि दर्ता भएपछि समाजमा मुख्य समस्याको रुपमा रहेको लागूपदार्थ सेवन, दुर्व्यसनी र बेरोजगारीमा केन्द्रित रहि कार्यक्रम सुरु भयो ।
समुहले आफुले मात्रै नभएर अन्य समूह/क्लबबाट आयोजना गरिएका राम्रा राम्रा काममा पनि साथ र सहयोग गर्दै आएको छ । जस अन्तर्गत जया मल्टिपल क्याम्पस तथा जया मल्टिपल क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा प्रतिनिधित्व हुने गरी राजेन्द्र शाहीको नेतृत्वमा रक्तदान भएको छ । अघिल्ला वर्षहरुमा जस्तो प्रभावकारी रुपमा यो वर्ष काम भने हुन सकेका छैनन् ।
‘यसपाली कोरोनाको कारण समस्या भयो, तर कोरोनाका बेला जिविकोपार्जनका लागि समस्या भएका जोरपाटी गोकर्णेश्वरमा बसोबास गर्नेहरुका लागि बिहान बेलुका खाना खुवाउने काम पनि गरेको उहाँ बताउनुहुन्छ । यो अभियानमा अत्तरखेल महिला समाजसंग हाम्रो समुहले समन्वय गरेर संचालन गरेको क्लबका उपाध्यक्ष अमर लामाले बताउनुभयो ।

अत्तरखेल युवा समाजले गरेका मुख्य मुख्य कामहरू
बृहत अत्तरखेल म्युजिक फेष्ट नामक सांस्कृतिक कार्यक्रम सञ्चालन।
तेस्रो आत्तरखेल खुल्ला फुटबल प्रतियोगिता सञ्चालन ।
लागूऔषध विरुद्धको जनचेतना मुलक कार्यक्रम सञ्चालन ।
चाचाहुइइ खुल्ला दौड प्रतियोगित सञ्चालन ।
सरसफाई कार्यक्रम सञ्चालन ।
संस्कृति तथा परम्पराको जगेर्ना गर्दै दशैमा पिङ हाल्ने तथा तिहारमा देउसीभैलो कार्यक्रम ।
वडाध्यक्ष खुल्ला फुटबल प्रतियोगिता २०७४ कार्यक्रम ।
युवा समाजका सम्पूर्ण खेलाडीहरू तथा सरोकारवाला सम्पूर्ण टोलबासीहरु सम्मिलित वनभोज कार्यक्रम ।
नगर फुडसल र वडा फुडसलमा सहभागी भई वडा फुडसलमा प्रथम स्थान हासिल गरेको ।
बृहत आत्तरखेल म्युजिक फेष्ट २०७५ आयोजना गरेको ।
चाचाहुई दौड प्रतियोगिता आयोजना गरेको ।
प्रथम मेयर कप २०७५ सेभेन ए साइड प्रतियोगितामा सहभागी भई दोस्रो स्थान हासिल गरेको ।
लागूऔषध विरुद्ध हस्ताक्षर संकलन कार्यक्रम ।
युवा समाज स्थापना गर्न गरेका संघर्ष
जुनसुकै कुराको सुरुवात गर्न निक्कै कठिन हुन्छ । यो युवा समाजको स्थापना गर्नको लागि पनि निकै गाह्रो परेको अनुभव छ । ‘सुरुमा संस्था दर्ता गर्ने कुरामै संघर्ष गर्नुपर्यो । पदाधिकारि र सदस्यहरुबाट नै संस्था दर्ता गर्ने काम भयो । त्यो समयमा हामी बसेको समुदायका अभिभावकहरुले युवा समाजलाई विश्वास गर्नुभएन’ अध्यक्ष लामा भन्नुहुन्छ,‘जब हामीले लागूऔषध विरुद्धको कार्यक्रम र अन्य कार्यक्रमहरु गर्न थाल्यौं ।
त्यसपछि समुदायबाट हाम्रो युवा समाजलाई बिश्वास गर्ने र हाम्रो काममा समन्वय गर्ने काम भयो । हाम्रो समाजले समुदायमा केही राम्रो काम गर्दैछ भनेर उहाँहरुलाई आभास भयो । त्यो सुरुवातको समयमा बिश्वास प्राप्त गर्न गरेको संघर्ष नै सबैभन्दा ठुलो चुनौती र संघर्षको यात्रा लाग्छ ।’ त्यस्तै उपाध्यक्ष अमर लामा भन्नुहुन्छ,‘त्यसपछि आर्थिक समस्याहरु आए ।
तर जहाँ ईच्छा त्यहाँ उपाय भने झै हामी पदाधिकारिहरु र सदस्यहरु मिलेर त्यो समस्या न्यूनीकरण गर्यौ । कुनै पनि काम सुरु गर्दा अर्थको कुरा आउँछ । तर कामको सुरुवात गर्नलाई धेरै नै खर्च गर्नुपर्छ भन्ने छैन । सबैभन्दा ठुलो कुरा मनको हो । अनि थोरै लगानीबाट पनि चाहेको काम गर्न सकिन्छ ।’
भवन निर्माण योजना
गोकर्णेश्वर नगरपालिकाले युवा समाजको भवन निर्माणको लागि बजेट छुट्टाएको छ । त्यसैले यसको लागि भवन कहाँ बनाउने भनेर जग्गाको खोजी भैरहेको छ । नगरपालिकाबाट प्राप्त भएको आर्थिक सहयोग र समुहका पदाधिकारिले तथा इच्छुक सदस्यहरुबाट पैसाको व्यवस्थापन गरी कार्यक्रम गर्ने गरेको कोषाध्यक्ष प्रकाश तामाङ बताउनुहुन्छ ।

पाइला चाल्दै, निरन्तर अगाडि बढ्दै
अत्तरखेल युवा समाजमा १८ बर्षदेखि ३० बर्ष उमेर समुहका युवाहरुको सहभागीता रहेको छ । सुरुमा १३ जना बोर्ड मेम्बरबाट सुरुवात गरेको यो युवा समुह पाइला चाल्दै, हातेमालो गर्दै अगाडि बढेको छ । र साथ दिने अहिले धेरै नै हुनुहुन्छ । युवा समाजमा सदस्य बस्नको लागि २ वटा फोटो र २०० रुपैयाँमा फार्म भर्नुपर्ने हुन्छ । यस समुहमा आवद्ध भएपछि सदस्यहरुले समुहको योजना र कार्यक्रमहरुमा सहभागी हुन आवश्यक छ ।
‘यो वर्ष कोरोनाले हाम्रो बार्षिक कार्यक्रमहरु नभएपनि हाम्रो समाजसेवाको कामलाई निरन्तरता दिंदै खाना खुवाउने अभियान र रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रम संचालन गरेका छौ । अब आगामी दिनको योजना पनि यहि समाज विकास, टोल, समाज, समिति, उपसमितिसंग सम्बन्ध राम्रो बनाउदै सामाजिक कार्यमा निरन्तर रुपमा लाग्ने रहेको सचिव दिनेश राईको भनाई छ ।













