अनेक हण्डरठक्करबाट हुर्केको व्यक्तित्व विरबहादुर धिमाल : जसले २५ वर्ष शिक्षणमा बिताउनुभयो

विरबहादुर धिमाल शिक्षाको ज्योती छर्दै अगाडि बढ्दै हुनुहुन्छ । जीवन यात्रामा उहाँको संर्घषको कहानी छ, तर संर्घषसँग जुध्दै अघि बढ्दै गर्दा उहाँले धेरै हण्डरठक्कर खानुभयो । तर यात्रा निरन्तर छ ।

विरबहादुर धिमालको जन्म झापाको दमक नगरपालिका ४ दाकिनीमा २०२८ साल बैशाखमा भएको हो । उहाँ सहित चार दाजु भाइहरु हुनुहुन्छ । उहाँ जेठो हुनुहुन्छ । साथै उहाँका दुई बहिनीहरु छन् । अहिले उहाँ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ स्थित बेसिगाउँमा अस्थायी बसोबास गर्नुहुन्छ ।

स्कुल जानु अगाडि नै उहाँले दुख खेप्नुभयो । ‘मेरो हजुरबुबाको चार छोराहरुको पारिवारलाई धान्न नसक्ने भएपछी दमकबाट मोरङ्गको लालभित्ती नजिकैको तीनघरे गाउँमा बसाइँ सर्नुभएको थियो । त्यहाँ पनि आर्थिक समस्या धान्न नसकेपछी ४÷५ वर्षको बसाइँ पछि फेरि बसाइँ सर्नुभयो । हजुरबुवा मोरङ्गको पूर्विय भेग उर्लाबारी ८ मा आउनुभयो । पछि अठियाबारी गाउँमा मावलीको जग्गा अधिया गरि कमाइ खान थाल्नुभयो ।

मेरी आमाको नाकमा लगाउने नाकको फुली बेचेर एक हल गोरु किनेर खेतीबालीको काम थाल्नुभयो । आठ जनाको परिवार धान्न नसकेपछि धिमालका बुवाले उहाँलाई मावलीमा छोड्नुभयो । उता मावलाको ठुलो परिवार साथै धेरै खेतीपाती भएकोले कामदार आवश्यक हुनाले सहज रुपम मलाई राख्नुभयो ।’

बाल्यकालका दुख

उहाँ मावलीमा बस्दा ११ वर्षको हुनुहुन्थ्यो । मावलामा गाई वस्तु चराउने, घाँस काट्ने, हलो जोत्ने सबै खेतीकिसानीको काम गर्नुभयो । मावलाका छोराछोरीहरु स्कुल आउने जाने गर्दा पनि उहाँ भने स्कुल जान पाउनुभएन । ‘मेरो मनको चाहना मन भित्रै राखेर समय बित्दै गयो ।

म कहिले कही मावला दाजुभाई र दिदी बहिनीहरुको घरमा पठन पाठन गर्ने कार्यहरुमा बिहान बेलुका समयमा लुकिछिपी गरेर हेर्ने गर्थे र पनि हाम्रो संस्कारमा भान्जाप्रती हेर्ने दृष्टिकोण बेग्लै थियो । अरुको जस्तो भान्जा भनेका भगवान् जस्तै हुन भन्ने थिएन ।

म मन मनै सोच्थे कि स्कुल जान पाए कस्तो हुन्थ्यो ? मावलीले उर्लाबारीको स्कुलडाँडा स्थित श्री राधिका प्राथमिक विद्यायलयमा प्राथमिक शिक्षाका लागि भर्ना गरिदिनु भयो । अनि मेरो शिक्षा आर्जन गर्ने प्रारम्भ भयो । त्यति खेर म १२ वर्षको थिए । स्कुलमा सबै भन्दा शारीरिक र उमेरको हिसाबले ठुलो थिए ।

अरु स साना देखिन्थ्यो । तर पढाइलाई अघि बढाउदै लगे । त्यो समयमा मामालाई भान्जाको पढाइ भन्दा पनि किसानको कामको ज्यादै महत्व राख्नु हुन्थ्यो । मेरो पढाइ केवल स्कुलको बिहान १० बजेदेखी दिउँसो ४ बजे सम्मको मात्रै भयो । अरु समय मेरो मावलाको काम गर्नुपथ्र्यो ।

अभाव बिच पढ्नको लागि संर्घष

मावलीमा बसेर एसएलसी गर्न सके जीवनमा केही न के ीगर्न सकिन्छ भन्ने उहाँलाई लाग्यो । त्यो समयमा तराईमा वर्षाको कारणले असार र साउन गरि दुई महिना स्कुल छुट्टी हुँदा मनग्य धान खेती गर्न पाउँथे । अनि मात्रै मावला बस्न पाउँथे । यो समय नहुने हो भने मावला बसेर पढ्ने अवसर हुने थिएन ।

२०४६ सालमा तीस वर्षे पञ्चायती शासनलाई अन्त्यका लागि जन आन्दोलन चर्किरहेको बेला शाही शासन धेरै कडा भएको थियो । एसएलसीको परीषा नजिकिदै गरेको बेला साथीहरु जाँचका लागि ट्युसन कोचिङ्ग पढेर तयारीमा हुन्थे भने म चाहिँ स्कुल नजान पाउने स्थिती थियो ।

जेहोस म आफ्नै हिसाबले तयारी भएर एसएलसी उतिर्ण गरे । एसएलसी पास गरेपछी यो योग्यताले केही गरेर जीविका चलाउनु सक्छु भन्ने आँट बढ्यो ।’

संघर्षको यात्रा जारी

एसएलसीपछि कलेज जीवन सुरु भयो । तर अब कुन कलेज पढ्ने फेरी समस्या भयो । पढ्ने खर्च थिएन । प्रविणता प्रमाण तह (आई ए) अध्ययनका लागि दमक बहुमुखी क्याम्पसमा जेनतेन मामालाई अनुरोध गरेर कलेज जान थाले । कलेज स्कुलमा पढे जस्तो समयमा थिएन । कलेज जाने क्रम जारी थियो ।

कलेज वर्षायाममा लाग्ने भएपछी वर्षामा खेती गर्न नभ्याउने भएपछी मेरो कलेज यात्रा निरन्तर दिन नसक्ने भएपछी मेरो मनमा बादल लाग्न थाल्यो । यता खेतीको काम गर्न नभ्याएपछी मामाको परिवारलाई मन परेन । मामालाई थाहै नदिई अर्नाखाडी गाउँमा ठुलीआमाको घरमा भाइ बहिनीहरुलाई ट्युसन पढाउने अनि कलेज पढ्ने साेंच बोकेर ठुलिआमाको घरमा पुगे ।

त्यहाँ पनि मेरो योजना अनुसार हुन सकेन । त्यो समयमा पहिलो वर्षको परीक्षा सकियो । त्यहाँबाट म आफ्नो घर आइपुगे । मेरो घरमा बसेर पढ्ने हैसियत नभएपछी मेरो मन झन् बिचलन हुन पुग्यो । अनि म २०४९ सालमा काठमामाण्डौ छिरे ।

बडाबाकोमा बसेर अध्ययन

काठमाण्डौमा मेरा भाइबहिनीहरु गलैचा कारखानामा बुन्ने काम गर्थे । त्यहाँ आएर बस्न थाले । फेरि मलाई पढाएको बारेमा चिन्ता थियो । यता भाइ्बहिनी पनि मेरो पढाइमा साथ दिन तयार थिए । अब के गर्ने घर जाने कि यहि बसेर पढ्ने भन्ने दोधारमा थिए ।

घर आएर पढ्ने हैसियत पनि थिएन । यस्तो अधुरो मेरो पढाइलाई पूरा गर्न मेरो बडाबाले साथ दिनु भयो । अनि बडाबाको घर राजघाट गाँउ विकास समिती वडा नम्बर ९ दुर्गापुरीमा आएर अधुरो पढाइलाई अघि बढाउने काम हुन थाल्यो । बडाबाको पनि आर्थिक अवस्था कमजोर थियो । २०५० सालमा आई ए पूरा गरे । अब काठमाण्डौ छिरेको म के गर्ने भने प्रश्न बाँकी नै थियो ।

गलैचा कारखाना काम गरिरहेका भाइबहिनीहरु सङ्ग फेरि शरण लिन पुगे । कतै चिनजान नभएपछी केही काम गर्न पाउने स्थिती भएन । उपाय नभएपछी म पनि भाइबहिनीको साथमा काम गर्न थाले ।

काठमाण्डौमा कामैकामका अनुभव

२०५० सालमा काठमाण्डौ छिरका धिमालले अनेक कामको अनुभव गर्नुभयो । झापा, सुनसरी र मोरङ्गमा मात्रै बसोबास रहेको २८ हजारको हाराहारीमा जनसङ्ख्या रहेको धिमाल समुदायका मानिसहरु आर्थिक अभाव हुँदै गएपछि रोजिरोटी तथा अध्ययनको सिलसिलामा २०३८ सालतिरबाट काठमाण्डौ प्रवेश गर्न थालेका हुन् ।

त्यही सिलसिलामा काठमाण्डौ छिर्नेमा विरबहादुर धिमाल पनि पर्नुहुन्छ । काठमाण्डौमा गलैचा बुन्ने काम गर्नुभयो, यो पनि भएन । गार्मेन्टमा केही महिना काम गर्नुभयो । अनि बोर्डिङ्ग स्कुलमा शिक्षण पेसामा लाग्नुभयो । अहिले पीएचडी गरिसकेका उहाँ चामुण्डा उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्छ ।

सोमबहादुर धिमालको प्रेरणाले स्कुलतिर पढाउने काममा लागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘जोरपाटी गाँउ बिकास समिति वडा नम्बर ७ आत्तरखेल स्थित दार्जिलिङ्ग्का नेपाली प्रकृतिका मदन प्रधानले खोलेको लिटिल बर्ड ईङ्ग्लिस बोर्डिङ्ग स्कुल थियो ।

त्यो स्कुलमा श्याम लामा भाइको सम्पर्कमा २०५२ सालमा अफर गर्नु भयो । अनि म स्कुलको शिक्षक भएपछि इष्ट मित्रहरुमा अलिकती मान पाए जस्तो अनुभूति हुन थाल्यो ।’

शिक्षण पेशाको तलबले जीवन धान्न मुस्किल

त्यसबेला शिक्षकको तलब थोरै थियो । तलबले धान्न नसक्ने भएपछि काम गर्दै जाँदा तलब बढ्ला भन्ने आशा थियो । हामी धिमालहरु चार जना सोमबहादुर धिमाल, म विरबहादुर धिमाल, गोविन्द धिमाल र दिलकुमार धिमाल साझा रुपमा एकै कोठा, एकै भान्सा चलाएर बस्नुपरेको थियो ।

समय बित्दै गयो । तलब बढ्दै गयो तर पछि एकै कोठाm एकै भान्छा नचल्ने भएपछि हामी आ आफ्नो व्यवस्थापन तिर लाग्यौ । पछि दुईजना बिदेशतिर लागे । सोमबहादुर र म बिदेश गएनौ र आर्थिक अवस्था पनि सहज भएन ।

राजधानीमा बाँच्न मुस्किल

हरेक क्षेत्रमा अगाडि बढ्नका लागि आर्थिक पक्ष नै बलियो हुनुपर्छ । पूख्यौली आर्थिक बलियो भए मात्रै हरेक क्षेत्रमा लाग्न सकिने हुन्छ । जे भएपनी म शिक्षा क्षेत्रमा लागेपछि समाजिक तिर लाग्न थाले । हाम्रो धिमाल समुदायको २०५० सालतिर निर्माण भएको समिती छ । अग्रज दाइहरुको साथमा उक्त समितिमा सदस्यको रुपमा काम गर्न थाले ।

समुदायको समितिमा बस्दा शुभकार्यमा सहभागी हुने र गराउने, मरिमराउ हँुदा साथीहरुलाई खबर गर्ने गराउने, आर्थिक संकलन गरेर सहयोग जुटाउने काम गर्ने, साथीहरुमा दुख, बिरामी हँुदा आर्थिक जुटाइदिने, भौतिक, भावनात्मक रुपमा सहयोग गर्ने गराउने, कहिलेकाहीँ हाम्रो समुदायमा हरेक वर्ष बनभोजको आयोजना गरेर भलाकुसारी गर्ने वातावरण सिर्जना गर्ने कार्यमा अग्रसर हुने गरेको छु ।

धिमाल जातिय बिकास केन्द्र, काठमाण्डौ उपत्यका समितिको सदस्य हुँदै सचिव र अध्यक्षको पदमा सर्वसहमत हुँदापनी पद नलिने तहमा पुगे ।

अनेकौं समस्याहरू

शैक्षिक क्षेत्रमा २०५२ माघ २० गतेका दिनदेखी अहिलेसम्म झण्डै २५ वर्षको दौरानमा मैले प्राइभेट स्कुलमा शिक्षा सेवा गर्दैछु । जब म न्यून तलवमा प्रवेश गरे, त्यतिबेला मैले पढाउने स्कुलमा थोरै मात्रै बिद्यार्थीहरु भएकोले कक्षा ३ र ४ वा ५ र ६ लाई एउटै कोठामा पढाएको अनुभव छ । यसरी मेरो कार्यको पहिलो सेसन बित्यो ।

स्कुलहरुको दुश्मन भनेको वरिपरिका स्कुल नै हुँदो रहेछन् । त्यतिबेला लिटिल वर्ड ईङ्ग्लिस मिडियम बोर्डिङ्ग स्कुलले लोकप्रिय बन्दै जान थाल्यो । वरिपरिका स्कुल सन्चालकहरुको दुश्मन नजरमा पर्न थाले । त्यो स्कुलको संस्थापक को को छन् भनेर चियोचर्चा हुन थाल्यो ।

स्कुल सञ्चालक भारतीय नागरिक थिए । नेपालबाट सञ्चालक प्रधान थरका थिए । उहाँले झापाबाट कार्की थरकोलाई आफ्न्त बनाएर नेपालको कानुन अनुसार नेपाली नागरिकता दिलाएका रहेछन् । स्कुलमा प्रधानाध्यापक मदन प्रधान तर कानुनी प्रक्रियामा मदन कार्कीको नाममा कारोबार हुँदो रहेछ ।

अनि नेपालको कानुन अनुसार कहाँ अधिकार खोज्नु सम्भव नै भएन । बिस्तारै अवैधानिक नागरिकले चलाएको स्कुल रहेछ भन्ने कुराहरु फैलिन थालेपछी समस्या देखियो । त्यसपछि स्कुल अर्कैलाई बेच्ने काम भयो । म त्यहिँ स्कुलबाट संस्थागत स्कुल शिक्षक सङ्गठनको ईकाई अध्यक्ष बने ।

स्कुलले अर्कै मोड लियो

लगभग पाँच वर्षको अन्तरालमा स्कुलले अर्कै मोड लियो । सञ्चालकको जेठी श्रीमती सोभा कुमारी श्रेष्ठले जिम्मेवारी लिनुभयो । तेस्रो स्कुल सञ्चालक हुँदासम्म सहायक प्रअ नै भएर समय बित्यो । २०७६ को मध्य समयबाट चौथो स्कुल सञ्चालक पाएको छु ।

कोरोना महामारीको थपेको जटिलता

गत सालको चैत्रमा कोरोनाका कारण विद्यालयहरु समस्यामा परे । कतिले तलब खुवाए कतिले गएको चैतपछि तलब दिएनन् । गत मङ्सिर १५ गतेदेखि कक्षाहरु सञ्चालन भएका छन् । हामी आठ महिनाको अन्तरालमा स्कुलमा फर्किनु पाउँदा अति खुशी भयौ ।

तर समस्या भने उस्तै छन् । अहिले सहायक प्रअ नभई केवल शिक्षकको हैसियत मात्रै रहेको छु । पिडा उस्तै छन्, सुन्ने निकाय मौन छन् ।

यो शिक्षण पेशा र समाजसेवाको क्षेत्र बाहेक मेरी श्रीमति मञ्जु धिमालको जोरपाटी बेसिगाउँमा पूर्वेली लेडिज टेलर्स छ । त्यसमा म पनि बेला बेला सहयोग गर्छु । अहिले म ५० वर्षमा लागे ।

बिहान बेलुका टेलरमा श्रीमतीलाई सहयोग गर्छु । बिहान ९ बजेदेखि साडे ४ बजेसम्म स्कुलमा हुन्छु । अनि फुर्सदको समयमा सामाजिक कार्यमा लाग्ने गर्छु । मेरो अबको योजनाहरु भनेको आफ्नो गाउँ जिल्ला फर्किने र खेतीपातीमा लाग्ने र समेसम्म सामाजिक सेवा गर्ने रहेको छ ।

[sidebar name="button post"]