नेपालमा चुनढुङ्गाको अनुसन्धान गरेर सिमेन्ट उद्योगका लागि जग बसाल्ने व्यक्तित्व : आफ्नै उद्योग डुबेपछि कृषि कर्मको अभियानतर्फ

समिता श्रेष्ठ

नेपालमा चुनढुङ्गाको अनुसन्धान गरेर सिमेन्ट उद्योगका लागि जग बसाल्ने केमिकल इन्जिनियर राजदास श्रेष्ठको व्यक्तित्वबारे हामीले अघिल्लो अंकमा चर्चा गर्यौ । यो अंकमा हामी केमिकल इन्जिनियर श्रेष्ठले गर्नुभएको कृषि कर्म र अहिले अवस्थाबारे समेट्नेछौं।

काठमाण्डौको शंखरपुरमा जन्मनुभएका राजदास श्रेष्ठले नेपालमा उपलब्ध हुने विभिन्न कच्चापदार्थको आधारमा चुन, सिमेन्ट, इँट्टा, टायल जस्ता निर्माण सामग्रीको उत्पादनको सम्भाव्यताबारे अध्ययन अनुसन्धानमा दुई दशक बिताउनु भयो । उहाँको आफ्नै उद्योग सफल हुन सकेन । ऋण लाग्यो र घर जग्गा सबै बेचेर त्यो उद्योगमा लागेको ऋण तिरेको राजदास बताउनुहुन्छ ।

कृषितर्फको यात्रा

आफ्नो उद्योग सफल नभएपछि उहाँले कृषिमा लाग्ने सोंच बनाउनुभयो । ‘देशको उन्नतिमा कृषिले टेवा पुग्ने मनसाय बनाएर च्याउ खेती सम्बन्धि तालीम लिएर च्याउ खेती तिर लागें ।’उहाँ अगाडी भन्नुहुन्छ,‘यसरी मेरो कृषि यात्रा सुरु भयो ।….

च्याउ खेतिमा लाग्दै गर्दा म दक्षिण कोरियामा रहेको इन्टरनेसनल मसरुम अर्गनाइजेसन (विश्व च्याउ संगठन ) को सदस्य बनें। त्यस संगठनबाट मलाई नेपालमा च्याउ खेतिको बिकास र सम्भावना सम्बन्धि अनुसन्धानको लागि प्रस्ताव आयो ।

त्यसैक्रममा अमेरिकामा हुने विश्व च्याउ सम्मेलनमा सहभागी हुन निमन्त्रणा पाएँ । त्यस निमन्त्रणालाई स्बिकार गर्दै नेपालको काम छोडेर सन् २००० मा म अमेरिका गएँ । नेपालमा संचालन गरेको उद्योगबाट मलाई ३/४ करोडको घाटा भएको थियो । त्यो घाटाको भरपाई म नेपालमा बसेर गर्न सक्दिन भने हेतुले म अमेरिकामा नै काम गर्छु भनेर ५ बर्ष सम्म बसें । त्यति बेलासम्म बस्दा मैले ग्रीन कार्ड पाउन सकेको थिइन ।

म लुकिछिपि बस्दै थिएँ । मेरो भिषा १ वर्षको मात्रै थियो तर म ५ वर्षसम्म अमेरिकामा बसेको हुनाले त्यहाँको अध्यागमन विभागले मलाई समात्यो र दुई महिनाको जेल सजाय दिइयो । दुई महिनाको जेल सजायपछि म सन् २००५ मा नेपाल फर्कें ।

अहिले म अमेरिकाबाट नेपाल फर्केको १५ वर्ष पूरा भयो । नेपाल फर्केदेखि म आफ्नै जन्मभुमि साँखुमा बसिरहेको छु । साँखुमा बस्दै गर्दा म कुनै उद्योगधन्दा न गरि कृषिमा लागि रहेको छु । यो एउटा कृषिप्रधान गाउँ हो । यहाँका ९० प्रतिशत जनसंख्या कृषिमा नै आधारित छन् । त्यसकारण म पनि कृषिमा लागें ।

राजदासले देखे भोगेको कृषि क्षेत्र

अहिले पहिलेको तुलनामा कृषि निकै बिग्रेर गएको छ । उत्पादन पनि ह्रास आएको छ । खेतिपाती र पशुपालन मान्छेले गर्न छाडे । अहिले भएको जमिन जग्गा बेचेर घर बनाउने, अन्तै लगाउने गर्नाले हामी कृषि क्षेत्रमा झनझन् पछाडि पर्दै गयौं । यसो हुनु हुँदैन । कृषि नभई हाम्रो देश बिकास हुँदैन । कृषि क्षेत्रमा हामीले धेरै ज्ञान लिनुपर्छ र कृषि बिना कुनै पनि देश बिकास हुन सक्दैन भने सोचेर साँखु क्षेत्रमा मैले नै सुरुवात गर्नुपर्छ भने उदेश्यका साथ कृषि र पशुपालनमा लागें ।

बिगत १५ वर्षदेखि म धान रोप्ने, गाँहु लगाउने, आलु खेति गर्ने, गाई, बाख्रा पाल्ने, कुखुरा पालन र तरकारी खेती जस्ता कृषि र पशुपालनको कार्यमा निरन्तर लागि रहेको छु । यो मेरो एउटा अभियान हो ।

गाईपालन गर्दा उत्पादन भएको दुधबाट, दही, महि, मखन, घिउ आदि बनाउने । अनि पशुपालनबाट आएको प्राङ्गारिक मलको प्रयोग कृषिमा गर्ने र अन्य बिषादी औषधिहरुको प्रयोग नगर्ने । मेरो एउटा कृषिको मुख्य उद्देश्य यहि हो । किनभने अहिले नेपालमा घरैपिच्छे मान्छेहरु बिरामी छन् । त्यो बिरामी हुनुको मुख्य कारण हावा, पानी र खाद्यान्न हो । अहिले यहाँको यी तिनै वटा कुराहरू प्रदुषित छन् ।

अहिले अर्गानिक भने कुरा नै हराउन थाल्यो । धेरै खाद्य पदार्थहरुमा अहिले बिषादीहरुको प्रयोग गर्ने चलन आयो । त्यसै कारण बिषादी रहित अर्गानिक तरकारी खेती गर्न थालें । राम्रो हुने हिसाबले अहिले बिषादी रहित विभिन्न प्रकारका तरकारीहरु जस्तै आलु, काक्रो उत्पादन गर्दैछु ।

दोस्रो विवाह

मेरो पहिलो श्रीमतीको निधन भएको ५ वर्ष पछि सन् १९९० मा अफ्रिकाबाट नेपाल फर्केर निर्मला श्रेष्ठसँग दोस्रो बिहे गरेको थिएँ। उहाँ त्रिभुवन बिश्वबिद्यालय र्कीतिपुरमा सह प्राध्यापक भइ पुस्तकालय बिभागमा काम हुनुहुन्थ्यो । तर दुर्भाग्य उहाँको पनि क्यान्सर रोगबाट ४ वर्ष अघि निधन भयो । मेरा दुई छोराहरु अलेक्जेन्डर र देनिस श्रेष्ठ रुसमा जन्मेका थिए ।

त्यसकारण अध्ययनको शिलशिलामा १०/१२ वर्ष अगाडि रुसमा गएर त्यहाँ नै अध्ययन र घर परिवार बनाएर बसेका छन् । छोराहरुको रुस मावली घर भएकोले त्यहाँ नै रमाएर बसिरहेका छन् । त्यसकारण म यहाँ अहिले एक्लो छु । आफ्नै खेतबारी समाल्दैछु । छोराहरु त्यहाँ बसे पनि भेट्न आउने गर्छन् । अहिले ईन्टरनेटको जमानाले गर्दा सम्बन्ध, सम्पर्क सजिलैसँग राख्न सकिन्छ । त्यसले गर्दा छोराहरूसंग सम्पर्क भैराख्छ ।

डाक्टर बन्ने धोको अधुरै

साँखुमा उ बेला राम्रो अस्पताल र मेडिकल सेवा सुबिधा थिएनन् । आमा बिरामी भएर औषधि उपचार नै नपाएर बित्नुभयो । मलाई डाक्टर बन्ने र साँखुमै सेवा गरी बस्ने इच्छा पनि थियो । तर अंग्रेजी पढ्न सकिएन, ३ कक्षामा नै फेल भएँ र पढाई छोडें। त्यसपछि संस्कृत पढें । डाक्टर पढ्नको लागि बायोलोजी पढ्नुपर्ने तर मलाई त्यो नआउने र पारिवारिक स्थिति पनि त्यो बेला कमजोर थियो ।

नेपालमा नै बसेर पनि पढ्न सक्ने अवस्था थिएन । त्यो बेला खेलकुद थिएन । त्यसकारण स्कुलबाट भागेर पौडी खेल्न जाने गरिन्थ्यो । त्यसकारण पनि अन्य खेलकुद केही नभएको कारणले पढाईमा मात्रै बाल्यकाल बित्यो । बोर्डमा पास भएँ , छात्रवृत्ति पाएँ र बिदेशमा गएर पढ्ने अवसर मिल्यो । पढाईमा गरेको संघर्षले नै यहाँसम्म ल्यायो ।

मलाई नेवारी खिंङ बाजा बजाउन असाध्यै मन लाग्ने भएकोले बाजा बजाउन सिक्न धेरै प्रयास गरें । तर त्यस बेला नेपालमा बाजा बजाउनेहरुलाई तल्लो स्थरमा हेर्ने गरिन्थ्यो । तर म लुकिलुकी सिक्न जान्थे तर घरबाट थाहा पाएर कराउनु भयो । रुचि हुँदाहुँदै पनि मैले संगीत सिक्न सकिन ।

मेरो परिवारमा चाहिँ म इन्जिनियर भएर आएपछि धेरै मद्दत गरें । बुबाको लागि घर पनि बनाइ दिएँ। अहिले मेरो दाजुभाइ सबैको आर्थिक अवस्था धेरै राम्रो छ । म पढ्दा खेरी मैले मात्रै पढ्न पाएको थिएँ । अरु कसैले पढ्न पाएको थिएन । तर अहिले सबैका छोराछोरीले पढ्न पाएका छन् । विभिन्न पेशाहरु र देशहरुमा छन् ।

एकदमै राम्रो जीवनशैली छ । अहिले शिक्षामा पनि बिकास भएको छ । आफ्नो काम देखि धेरै सन्तुष्ट छु । धेरै वर्ष बिदेश बसेर आएर अहिले आफ्नै गाउँघर आएर बस्नु पाउँदा धेरै आनन्दको अनुभव गर्छु । भोलि के हुन्छ थाहा छैन । म फेरि बिदेशमा गएर बस्न सक्छु तर सबै ठाँउ घुमे पनि सबैभन्दा राम्रो ठाउँ नेपाल र त्यसमा पनि आफू जन्मेको साँखु लाग्छ ।

७० वर्षसम्म आइपुग्दा मलाई जीवन एउटा नाटक जस्तो लाग्यो । अनि त्यो नाटकका पात्रहरु जस्तो लाग्यो । मैले संस्कृतबाट र सोभियत संघमा बस्दा पनि समाजबादमा पैसाको लोभ गर्नु हुँदैन भन्ने ज्ञान पाएँ । बुद्धको सिद्धान्त जस्तै अर्काको धनमा लोभ नगर्नु, आफू संग जे छ त्यसैमा सन्तुष्ट हुनु भन्ने छ । समाजवादमा पनि त्यही छ । संस्कृतमा पनि त्यही छ । मैले यसै सिद्धान्तलाई आत्मसात गर्दै साँखुमा बुद्धको मुर्तिपनि स्थापना गरेको छु । यसबाट सके दिनु भन्ने ज्ञान पनि पाइन्छ ।

जीवनको दार्शनिक रुपमा हेर्दा हामीले मरेर लाग्नु केही छैन । जुन काम, त्याग, तपस्या र समाजको लागि गरेको कुराहरू नै हो यहाँ रहने । मरेपछि केही कोहि बाँकी रहदैन । त्यही कुरालाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक क्षेत्रहरुमा सहयोग गर्ने र प्रोत्साहन प्रदान गर्न लागि रहेको छु ।

नयाँ अभियान

अहिले १ महिना भयो मैले नयाँ अभियान सुरु गरेको छु । साँखु कृषिप्रधान भएर पनि आलु, धान मात्रै लगाउने गरेको पाइन्छ । त्यसबाट धेरै फाईदा भएको देखिदैन । त्यसैले यहाँको मान्छेहरुले भएको जग्गा बेच्ने र घर बनाउने र अन्य ब्यवसाय गर्ने गर्दै आउने गरेको छ । व्यवसाय गर्दा हाम्रो उत्पादन केही नभएको कारणले ईन्डिया, चाईना जस्ता अन्य देशहरुबाट सामान ल्याउने बेच्ने र नाफा कमाउने गर्छन् । तर त्यो मुल पैसा त बिदेशमा नै जान्छ ।

देशको आर्थिक अवस्था झनझन् बिग्रदै गएको हुनाले फलफूलको खेती गर्ने भनेर साँखुमा अभियान चलाएको छु । त्यसको लागि कश्मिरबाट एक सय वटा स्याउको बोट ल्याएर आफ्नो बंगैचामा रोपेको छु । अहिले बोट पलाउदैछ । यो राम्रो भयो भने अन्य ठाउँमा पनि बिस्तार गर्ने योजना छ ।

एउटा स्याउको बोटबाट स्याउ फल्न २/३ वर्ष लाग्छ । स्याउ फल्न थालेपछि त्यति धेरै स्याहार गर्नु पर्दैन । सुरुमा भने उन्नत जातको स्याउको बोट ल्याउने र जग्गा जमिन चाहिन्छ । त्यसको लागि लगानी गर्नु पर्छ तर फल्न थाल्यो पनि राम्रो आम्दानी गर्न सकिने र स्याउको फाइदा धेरै भएकोले स्याउको बोट रोपेको हो ।

अहिले साँखुदेखि जोरपाटी जाने हो भने हरेक पसलमा स्याउ देख्न सकिन्छ । स्याउ एकदमै स्वस्थकर फलफूल हो । तर नेपालमा धेरै स्याउ उत्पादन हुँदैन । स्याउ किन उत्पादन नगर्ने भनेर साँखुमा अभियान चलाएको छु । स्याउ खेतिको साथसाथै पशुपालनलाई पनि निरन्तर दिंदै अगाडि बढ्दै लक्ष्य छ । पशुपालनले दुध जन्य उत्पादन, मासु जन्य उत्पादन हुन्छ । त्यसको साथै जनावरबाट उत्पादन हुने मललाई तरकारी बारीमा राख्दा अर्गानिक तरकारी उत्पादन हुन्छ ।

राजनीतिले देश बिगार्यो

हरेकले आफ्नो दायित्व पूरा गर्नु पर्छ र इमानदारी हुनुपर्छ । हाम्रो देश नेपालमा चाहिँ इमानदारीतामा खडेरी लागेको छ । त्यो खडेरी विशेष गरेर राजनैतिक क्षेत्रमा लागेको देख्न सकिन्छ । कुनै पनि देश बन्ने र बिग्रनेमा राजनेताको मुख्य भुमिका हुन्छ । उदाहरणको लागि चाइना, कोरिया, मलेसिया, थाइल्यान्ड, सिंगापुर आदि देशहरुलाई हेर्न सकिन्छ ।

थाइल्यान्ड र हाम्रो देश ३०/४० वर्ष अगाडि एउटै अवस्थामा थियो । कोरियालाई हामी अन्न सहयोग गर्थो भने अहिले हामी अन्य देशलाई मागेर खानु पर्ने स्थितिमा आईसकेको छ । त्यो सबै हाम्रो नेतृत्व बिफल भएर हो ।

नेतृत्व बर्गमा इमानदारीता भएको नेताहरू नभएर हो । देश बिकासको लागि इमानदारीको अति आवश्यकता छ । यहाँ राष्ट्रिय सम्पदा, भौतिक र प्राकृतिक सम्पदा सबैले सम्पन्न छ । तर इमानदारीता भएन । लोडसेडिङ केही कुलमान घिसिङ आएपछि हट्यो । तर उनी नै अहिले नेतृत्वमा रहन सकेनन् । अवस्था यस्तो छ । अहिलेको राजनैतिक वातावरण र अभ्यास गलत छ । आशा गरौ यो अवस्था छिट्टै समाधान होला र देशले समृद्धितर्फको यात्रा तय गर्ला ।