वाद्यवादनमा महिला : नेपालको पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्यू

समिता श्रेष्ठ

महिलाहरु नाच्ने मात्रै होइन, गाउने मात्रै पनि होइन बजाउन पनि पोख्त छन् । पहिला धेरैजसो महिला कलाको पर्दाभित्र सीमित थिए । साङ्गीतिक तथा अरु कार्यक्रम हुँदा सबैतिर पुरुष मात्रै देखिन्थ्यो । तर अहिले पुरुषको वर्चस्व रहेको परम्परागत वाद्यवादनमा महिलाहरु पनि देखिनेक्रम बढेको छ । नेपालको पहिलो महिला धिमेवादक तथा नौबाजा बजाउने महिलाको रुपमा भक्तपुरकी इन्दिरा लाछिमस्यूले आफ्नो परिचय बनाउनुभएको छ ।

जन्म र परिवार

इन्दिरा लाछिमस्यूको जन्म २०४० सालमा भक्तपुरको दत्तात्रयमा भएको हो । उहाँको परिवारमा ९ जना हुनुहुन्छ । उहाँले आफ्नो बाल्यकाल परम्परागत बाजागाजा र संगीतमय वातावरणमा नै बिताउनुभयो । उहाँको रुची परम्परागत बाजागाजा बजाउनुमा नै थियो । उहाँले बिएड सम्मको अध्ययन गर्नुभएको छ ।

तर बाजागाजाको व्यवहारिक शिक्षा भने आफ्नै घरबाट नै लिनुभएको हो । अहिले उहाँ परम्परागत बाजाहरु सिकाउने काम गर्दै हुनुहुन्छ र शिक्षण पेशामा पनि आवद्ध हुनुहुन्छ । उहाँले एघार वर्षको उमेरदेखि नै परम्परागत बाजाहरु धिमे र नौबाजा सिक्नुभएको हो ।

छोरी मान्छेले बाजा छुनु हुँदैन भन्ने समाजमा वाद्यवादन

वि सं २०५०/५१ सालमा इन्दिराले बाजा बजाउन सिक्नुभयो । जुनबेला छोरी मान्छेले बाजा छुनु हुँदैन भन्ने परम्परा कायमै थियो । उहाँ भन्नुहुन्छ,‘म २०५१ सालदेखि यो बाजागाजाको क्षेत्रमा लागेको हो । त्यो बेला महिलाहरुले बाजा बजाउन त परै जाओस् छुन समेत हुन्न भन्ने गरिन्थ्यो । हरेक बाजामा पुरुषहरुको मात्रै संलग्नता थियो । केटी मान्छेले बाजा पनि हेर्दैनथे । त्यो समयमा १२ जना केटाहरुलाई धिमे बाजा बजाउन मेरो घरमा सिकाउने क्लास थियो । त्यो बाजा सिकाउन बाहिरबाट गुरुहरु आउनुहुन्थ्यो ।

काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर डाक्टर ग्रेट म्याथिएस वोग्नेर (जर्मनीका नागरिक) नेपालमा आएर सबै बाजा सिकिसक्नुभएको थियो । उहाँसँगै गणेशबहादुर सिचाखु आउनु हुन्थ्यो । अनि उहाँहरुले पुरुषहरुलाई धिमे बाजा बजाउन सिकाउदा त्यो धुन र बोल म पनि हेर्दै सुन्दै त्यसको बोलहरु मनमनै गुनगुनाउँदै सिक्ने गर्थे ।’

केटाहरुले धिमे बजाएको देखेर उहाँलाई पनि धिमे बजाउन मन लाग्यो । एक दिन कोही नभएको बेला धिमे बाजा बजाउन जानुभयो । तर त्यो बाजा बजाएको गुरुले सुनिरहनुभएको रहेछ । उहाँले खुशी हँुदै आहा कति मिठो धुनमा बजाएको भन्नुभयो र अबदेखि तिमी पनि कक्षा आएर अरु सँगै सिक भनेपछि बाजा बजाउन उत्साहित भएको इन्दिरा बताउनुहुन्छ ।

बाजा बजाउने कक्षामा १२ जना पुरुषमा उहाँ एक्लै हुनुहुन्थ्यो । ‘घरबाट पनि राम्रो हो सिक्न मन छ भने सिक भनेर परिवारले नै हौसला दिनुभयो ।’उहाँ भन्नुहुन्छ,‘अनि मैले निरन्तर रुपमा ६ महिना धिमे बाजा सिकें । बाजा बजाउन सिकेपछि बजाउन पर्छ ।

बाहिर बजाउँदा खेरी मान्छेहरुलाई नौलो लाग्न थाल्यो । अहिलेसम्म केटाहरुले मात्रै बजाएको बाजा केटी मान्छेले बजाएको भन्ने कुराहरू पनि भए । यसरी मैले केटी मान्छेहरुले धिमे बाजा बजाउन हुँदैन भन्ने समाजमा बाजा बजाउन सिकें र बजाए पनि ।’

बाजा बजाउने तरिका

उहाँले धिमे बाजाको साथसाथै नौबाजा पनि बजाउने गर्नुहुन्छ । यो नौबाजा बजाउनलाई उहाँको हजुरबुवा रत्नलाल र बुवा पञ्चलाल लाछिमस्यूले सिकाउनुभएको हो । यो नौबाजा भित्र नौ थरी बाजाहरु पर्छ । ती हुन् : कर्खिं, पास्त, नायो खिङ, धिमेचा, धाँचा पछिमा, ढोलक, को खिङ, नगरा । उहाँ भन्नुहुन्छ,‘यस बाहेक लालाखिङ, धाँ बाजा पनि बजाउंछु ।

मेरो परिवारमा यी बाजाहरु म बाहेक मेरो छोरा र बहिनीहरुले पनि बजाउंछन् ।’ यो प्राय सबै पर्वहरुमा बजाउने बाजा हो । यी बाजाहरु मध्ये नौंबाजा जुन नौ थरिको बाजा हुन्छन् । यी बाजा पुर्णिमामा , दशैं , बिस्केट जस्ता जात्रा चाडपर्वहरुमा स्थान विशेषमा बसेर बजाउने गरिन्छ । त्यस्तै धिमे बाजा नाच्दै, गाउँदै उठेर हिड्दै रमाइलो गर्दै बजाउने गरिन्छ भने लालाखिँङ बाजा चाहिँ दाफा भजन गाउने बेला बजाउने गरिन्छ ।

यी बाजाहरुको महत्व

यी बाजाहरुको महत्व धेरै छ । यी मौलिक बाजाहरुले गर्दा नै हामीलाई सबैको सामु चिनाउने गरेको छ । कला, संस्कृति भनेका पहिचान हुन् । यहि संस्कृतिले नै हामी विश्वमा परिचीत छौ । हाम्रो देशको पहिचान नै हाम्रो कला र संस्कृति हो । जुन मौलिक परम्परागत बाजागाजासँग पनि जोडिएको छ । उहाँ भन्नुहुन्छ,‘यो नयाँ पुस्तालाई सिकाउनु र नयाँ पुस्ताले सिक्नु आवश्यक छ । आफ्नो बाजागाजा बजाउन सिक्नुपर्छ र माया गर्नुपर्छ ।’

यो बाजा बजाउन नयाँ पुस्तालाई आकर्षक गर्नको लागि बाजागाजा चाडपर्वमा मात्रै नभएर व्यवसायिक रुपमा आम्दानी पनि गर्न सकिन्छ भनेर बुझाउन जरुरी छ । जसले गर्दा हाम्रो कला संस्कृतिको नि जगेर्ना हुन्छ र जीवन निर्वाह पनि गर्न सकिन्छ । ‘

मेरो तर्फबाट मैले युवा पुस्तालाई उत्प्रेरित गर्न सिकाउंदै आएको छु । त्यो सिकाउँदा पनि परम्परागत शैली मात्रै नभएर नयाँ शैलीमा पनि सिकाउने गरेको छु । यो नयाँ शैली भनेको गीतार, डिजेसंग मिक्स गरेर बजाउन सिकाउँदैछु ।’वाद्यवादक इन्दिरा भन्नुहुन्छ,‘यसले गर्दा अझ राम्रो मीठो धुन निस्कने गर्छ । अन्य ठाउँमा यो बाजाहरु बजाउन जादा अचम्म पर्ने, जिज्ञासा राख्ने, मन पराउने गर्नुहुन्छ ।’

प्रेरणाको स्रोत र संघर्ष

बाजाको क्षेत्रमा लाग्नको लागि घर परिवारले र गुरुहरुले प्रोत्साहन धेरै नै दिनुभएको उहाँ बताउनुहुन्छ । तर कुरा काट्नेहरु पनि उत्तिकै थिए । उहाँ भन्नुहुन्छ,‘जब यी बाजाहरु सिकेर बाहिर समाजमा बजाउन निस्कें तब बाजा बजायो भनेर कुरा काट्ने काम धेरै भए । केटाले मात्रै गर्ने काम हो केटिले गर्नु हुँदैन भनेर आलोचनाहरु पनि खप्नुपर्यो ।

त्यो बेला बाटोमा हिड्दा समेत पछाउँदै ए धिमे, ए धिमे भनेर जिस्क्याउनेको पनि कमि थिएन । अलि अर्कै पाराले कुरा काट्ने गर्थे । केटि भनेर अर्काको घर जाने भनेर दबाउने काम हुन्थ्यो । यस्तै संघर्ष गर्दै अगाडि बढ्दै गएँ । कति धेरै ठाउँमा केटाहरूको बिचमा एक्लै बाजा बजाउने केटि हुन्थे ।’

बाजा बजाउन सिकाउने शैली फरक

पहिले र अहिले बाजा बजाउने शैलीमा खासै परिवर्तन आएको छैन । त्यसरी नै बजाउने हो । तर यो बाजाहरु सिकाउने शैलीमा परिवर्तन आएको छ । हाम्रा हजुरबुबाहरुले सिकाउनु हुँदा उहाँहरुले कन्ठ गरेको अनुसार सिकाउनु हुन्थ्यो ।

तर अहिले गुरुहरुले सिकाउनु भएर लेखेर नोट अनुसार सिकाउने गरिन्छ । पुरानो परम्परागत शैलीलाई केहि परिर्वतन गरी अहिले युवाहरुलाई मन पर्ने अर्थात् उनीहरुको ध्यान तान्ने गरि बजाउन पनि सकिन्छ ।

समाजको दृष्टिकोणमा फरक

यी बाजाहरु बजाउंदा सुरुका दिनहरुमा समाजले हेर्ने दुष्टिकोण फरक थियो । छोरी मान्छेले गर्ने नहुने काम भनेपनि अहिले धेरै महिलाहरू यो क्षेत्रमा लागेका उहाँ बताउनुहुन्छ । अहिले समाजको सोंच पनि परिवर्तन भैरहेको छ । पहिले छुनु नै हुन्न भने सोंच भएकाहरु अहिले केटिले नि सिक्न हुन्छ भने साेंच बिकास भएको छ । तर अन्य बाजागाजाको तुलनामा नौबाजामा अहिले पनि केटिहरु कम छन् ।

मैले सिकेको चार वर्षपछि वि सं २०५५ सालमा १२ जना केटीहरुको समुहलाई सिकाउन शुरु गरे । सिकाइसकेपछि केही समुहबाट विभिन्न स्थानमा प्रदर्शन गर्दा सबैबाट धन्यवाद र प्रशंसा पाउँदा निकै आनन्दको महशुस भयो ।’

स्वदेश मात्रै होइन बिदेशमा पनि कला देखाउने अवसर

बाजा बजाउने सीपकै कारण लाछिमस्यूले देश विदेशमा ख्याति कमाउनुभएको छ । आफ्नो बाजा बजाउने कलालाई देशका विभिन्न जिल्लाका साथै विदेशमा समेत प्रस्तुत गरिसक्नुभएको छ । नेपाल लगायत भारत, जर्मनी, अष्ट्रीया, इटाली र थाइल्याण्डमा गएर आफ्नो कला संस्कृति झल्काउने मौका पाएको उहाँ बताउनुहुन्छ ।

जहाँ–जहाँ पुगे त्यहाँ आफुलाई नेपालको पहिलो महिला धिमेवादक भनेर चिनाउँदा गर्व महशुस भएको र धिमे बाजाकै माध्यमबाट संसार घुम्ने अवसर पनि आफुलाई जुरेको उहाँको भनाई छ ।

अबको लक्ष्य

उहाँको लक्ष्य नै यहि बाजा बजाउने कामलाई निरन्तरता दिने रहेको छ । बाजागाजाको संरक्षणको लागि यसलाई म्युजियममा राख्ने नभई नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने उहाँको मान्यता पनि छ । ‘यो बाजाहरु बजाउनकै लागि बनाएको हो । यसलाई बजाएर नै हाम्रो कला, संस्कृतिलाई झल्काउन सक्छौं ।’

उहाँ भन्नुहुन्छ,‘अबको दिनमा पनि अझै धेरै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै अगाडि बढ्ने लक्ष्य छ ।’ यो क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा केटाको तुलनामा केटि मान्छेलाई गाह्रो नै हुन्छ । तर जति गाह्रो भए पनि आफ्नो लक्ष्य प्राप्त गर्न कठिनाइसंग जुध्नुपर्ने चुनौती छ । त्यसलाई सामना गर्नुपर्छ । अहिलेसम्म गरेको काम प्रती म सन्तुष्ट नै छु । किनभने मैले सोंचेको कुरा गर्न पाएको छु । यसलाई अझ राम्रो गर्ने प्रयासमा पनि छु ।

[sidebar name="button post"]