७७ वर्षका खुरहरी दाहालको जजमानी : पशुपतिनाथको सेवामा बित्दैछन् दैनिकी

सरोज कार्की

खुरहरी दाहाल जजमानी गर्नुहुन्छ । ओखलढुङ्गाका उहाँ काठमाण्डौको कपन बस्न थाल्नुभएको ९ वर्ष भयो । ७७ वर्षका दाहाल बिहान कपनबाट महांकाल हिँडेरै पुग्नुहुन्छ । त्यहाँबाट टेम्पो चढेर पशुपतिनाथ पुग्नुहुन्छ ।

पारिवारिक अवस्था

दाहालका श्रीमती र ६ जना छोराछोरी छन् । छोरा ४ र छोरी २ जना छन् । अहिले उहाँ श्रीमती र कान्छो छोरा युवराज दाहालसंग बस्नुहुन्छ । कान्छो छोरा नेपाल टेलिभिजनमा, साइलो छोरा सेनामा र अरु छोरा र छोरी विभिन्न पेशा र क्षेत्रमा काम गर्नुहुन्छ । उहाँ जजमानी गर्ने हुँनाले बिहान सूर्यको किरण नझुल्कदै पूजासामग्री लिएर पशुपतिनाथ पुग्नुहुन्छ । र दिउँसो २/३ बजे घर पुग्नुहुन्छ ।

बुवाले जजमानीको काम सिकाउनुभयो । दाहाल सानै छदाँ उहाँको बुवा बित्नुभयो । उहाँ भन्नुहुन्छ,‘बुवाको कामलाई अगाडी बढाउन र आफ्नो परम्परा बचाउँन अहिलेसम्म पनि जजमानी गर्दैछु । गाउँमा ४०/४५ रोपनी जग्गा छ, जुन केहि कमाएर खान र केहि भाडामा दिएको छु ।’

जजमानी पेशा

दाहालले गर्दै आएको जजमानी काम पुस्तादेखि नै निरन्तर चल्दै आएको हो । उहाँ भन्नुहुन्छ,‘मेरो बुवा एकदम धार्मिक हुनुहुन्थ्यो । धर्मकर्ममा निक्कै आस्था राख्नुहुन्थ्यो । सानो उमेरमा बुवाले जजमानी गरिरहनु भएको बेलामा म छेउमा बसेर हेर्थें । यही कारण मैले पनि बुवाको आचरण सिकें । स्कुलबाट फर्केपछि बुवासंगै जजमानी काम गर्न सँगसंगै जान्थे ।

मैले ७ कक्षामा अध्ययन गर्दैगर्दा बुवा संगै जजमानी काममा हिँडे र पढाईलाई छोडि दिएँ । म ४ दिदी पछाडीको कान्छो छोरो भएका कारण बुवाले धेरै माया गर्नुहुन्थ्यो । बुवाले घरमै मलाई संस्कृत पढ्न सिकाउनुभयो र साथै एकजना शिक्षक घरैमा बोलाएर अनुवाद र शब्दकोष, व्याकरणसँगै अन्य अध्ययन गराउनुभयो । बुवाले आफुसंगै जजमानी गर्न लैजाने भएको कारण मैले यो काम सजिलैसंग सिकेँ ।’

आफ्नै सिप : आफ्नै कमाई

दाहालका लागि आफ्नै सिप, आफ्ना लागि कमाईको पनि माध्यम भएको छ । हातको सिप जजमानी भएको कारण गाउँमा हुँदा पनि यही काम गर्नुहुन्थ्यो । बर्तबन्ध, श्राद्द, चिना हेराउने साथै विभिन्न ज्योतिषी कामहरु पनि गर्नुभयो । पछि गाउँमा पनि अरु धेरै जजमानहरु हुनुभयो । गाउँमा दाहाल दम्पत्ती मात्रै बस्ने तर छोरा/छोरी सबै काठमाडौँमा भएपछि अलि समस्या भयो ।

‘जजमानी कामले पनि २ जनाका लागि घर व्यवहार भने मज्जाले चलिरहेको थियो’ उहाँ भन्नुहुन्छ,‘एक दिन अचानक मेरो छाती दुख्न थाल्यो र म बेहोस भए । हृदयघात भएको कारण मलाई गाउँको नजिकै अस्पतालमा जांच भयो । खतरा कम भएपछि मलाई काठमाडौँको टिचिङ्ग अस्पतालमा रिफर गरियो । र केहि दिन अस्पतालमा नै भर्ना भएँ ।

अस्पतालका डाक्टरले पछि फेरी दोहोरिन सक्छ तपाईं काठमाडौँमा नै बस्नु भन्नुभयो । केहि महिना कान्छो छोरासंग बसें । बाहिर हिँडडुल पनि गरिन । तर एकदिन पशुपति दर्शन गर्न आउँदा मनमा निक्कै हल्का महसुस भयो । भगवानको शरणमै बस्न मन लाग्यो । यसरी पशुपतिनाथ मन्दिरमा जजमानी गरेर बस्न थाले र अहिलेसम्म कुनै रोगले पिरलेको छैन । परिवारले पनि कुनै असहयोग गरेका छैनन् । राम्रै चलेको छ ।’

परम्परा जोगाउने दायित्व

धर्म, संस्कार हाम्रा पुर्खादेखिकै परम्परा हो । दाहाल भन्नुहुन्छ,‘पुर्खादेखि चलिआएको परम्परा जोगाउनु हाम्रो दायित्व हो । आफ्नो धर्म कर्म र कुल बिर्सेर त्यसको बिपरित जानु हुँदैन । आजकल २१ औं शताब्दीको नयाँ युग चलिरहेको छ भनिन्छ । परम्परा मासेर आफूखुसी र मनलाग्दी गर्ने प्रबृत्ति बढेको छ । यस कारण हाम्रो भाषा, संस्कृति सबै लोप हुँदै गएको छ । न्वारन, बर्तबन्ध, श्राद्ध जस्ता काम छोड्न थालिएको छ ।

यसरी छोड्दै जाने हो भने हाम्रो अस्तित्व, हाम्रा संस्कार र परम्परा मेटिने छन् । नेपाली भाषा संस्कृतबाट उत्पन्न भएको हो । त्यसैले हामीले संस्कृत भाषासँगै हाम्रो परम्पराहरुलाई जोगाउनु आवश्यक छ ।’ उहाँका अनुसार असल आचरण सबैका लागि उत्तम हुन्छ । त्यसका लागि छोराछोरीसँग राम्रो बानि व्यवहार देखाउने, उनीहरुलाई सिकाउने, नराम्रो नबोल्ने, राम्रो खानेकुरा खाने र संस्कार सिकाउने जस्ता काम गर्यौ भनें उनिहरुको पनि राम्रो बानीको विकास हुन्छ । उनीहरुले असल कर्म सिक्छन् ।

‘मेरो बुवाले मलाई राम्रो बानी सिकाउनु भएको कारण मैले माछा, मासु जाँडरक्सि, चुरोट आदि केहि पनि खाईन र बुवा जस्तै म पनि धार्मिक बाटोमा हिँडे । परिवार वा समाजमा धार्मिक क्रियाकलाप, असल कर्म, सद्गुणलाई विकास गरी सत्मार्ग देखाउन सके भोलीका दिनमा हाम्रा सन्ततीहरु पनि राम्रो र धार्मिक बाटोमा लाग्छन् । यसले हाम्रो परम्परा, संस्कार र हाम्रो संस्कृति जोगिनेछ । समाजमा असल कर्मको विकास हुनेछ ।