सरोज कार्की
उज्वल खड्गी काठमाण्डौको गौरीघाटमा बस्नुहुन्छ । उहाँको ९ जनाको परिवार छ । खड्गी उमेरले २३ वर्ष पुग्नुभयो । तर उहाँले सानो उमेरदेखि नै आफ्नो परिवारसँगै पशुपतिनाथ मन्दिर अगाडीको गेटमा फुलमाला, मुर्ति र विभिन्न पुजा सामग्री बेच्न थाल्नुभएको हो । उहाँले यसरी पुजासामग्री बेच्न थालेको १० वर्ष भन्दा धेरै भैसक्यो ।
काठमाण्डौकै बासिन्दा भएपनि विदेश र ठुलो व्यवसाय नरोजेर उहाँले पूजासामग्री बेच्न थाल्नुभएको हो । अहिले उहाँ बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म पुजासामग्री बेचेर बस्नुहुन्छ ।
पहिला आम्दानी राम्रै : अहिले कोरोनाले असर
खड्गी परिवारको पहिला पशुपति क्षेत्रमै घर थियो । घर नजिक र सहज पनि हुने भएकाले पशुपतिमा पूजासामग्री बेच्ने काम सुरु भयो । उहाँ भन्नुहुन्छ,‘ पछि गएर पशुपति क्षेत्र विकाश कोषका कारण घर बेच्नुपर्यो र अर्को घर बनाएर अहिले गौरिघाट सरेका छौ । कोरोना सुरु हुनु भन्दा अगाडि पोहोर यो बेलासम्म पशुपतिमा दर्शन गर्न आउने भक्तजनको भिड हुन्थ्यो । त्यस बेलामा पूजासामग्री दिन भ्याईनभ्याई हुन्थ्यो । कहिले त पुजा सामग्री चाडैं सकिएर फेरी घर गएर ल्याउनुपर्नेसम्म अवस्था थियो ।
त्यस समयमा धेरै आम्दानी भएको कारण घरको सबै परिवार मिलेर अर्को पनि पुजा सामग्री पसल यही पशुपति क्षेत्र वरीपरी सञ्चालन गर्यौ । तर पोहोर यो बेलादेखि कोरोनाको कारण अहिलेसम्म नै व्यापार ठप्प भएको छ । अहिले पशुपतिमा दर्शन खुलेपनि खासै धेरै भिड नभएको कारण व्यापारमा निकै असर परेको छ ।’
चहलपहल बढ्ने आश तर भाडा उठाउने कुराले त्रास
पशुपतिमा दर्शन खुला भएपछि चहलपहल बढ्न सक्ने आश पलाएको छ । तर खड्गी भन्नुहुन्छ,‘ अहिले व्यवसाय सुरु गरेको ठाउँ भाडामा भएका कारण पशुपति कोषले ९ महिनाको भाडा उठाउने जस्तो कुरा गर्दै आएको सुनिएको छ । झण्डै एक वर्ष कमाई भएन, सबैतिर ठप्प जस्तै भयो । अहिलेसम्म व्यापार पनि राम्ररी भएको छैन ।
कोरोनाले बन्द भएको पशुपति पनि अघिल्लो महिना पुसमा खुलेको हो । दर्शन गर्नेहरु आउन थाल्नुभएको छ तर सबैजसो स्थानीय भएका कारण पूजासामग्री आफैंसँग लिएर आउनुहुन्छ । अहिले धेरै जसो पूजासामग्री र फुल ओइलाउने र बिग्रेर फाल्न परेको अवस्था छ ।’
स्थानीयबासिन्दालाई पूजासामग्रीको बारेमा ज्ञान भएको कारण घर घरबाटै लैजाने धेरै हुनुहुन्छ । अरु बेलामा भारतीय तथा चीन र अरु विभिन्न देशका पर्यटकका कारण पनि व्यापार राम्रो हुन्थ्यो । अहिले सबै क्षेत्र बन्द भएको कारण मुर्ति, माला र नओईलाउने सामग्रीहरु बेचिरहेको खड्गी बताउनुहुन्छ । कोरोना अगाडी दिनमा १० हजार रुपैयाँसम्म व्यापार हुन्थ्यो तर अहिले रित्तो हात पनि घर फर्कनुपर्ने अवस्था छ ।’
पशुपतिमै पूजासामग्री बेच्ने मरहठ्ठा
पशुपतिमै पूजासामग्री बेच्ने अर्का ४१ वर्षका तारानाथ मरहट्ठा कुमारी गालमा बस्नुहुन्छ । वहाँले पशुपतिनाथ मन्दिरको गेट अगाडि पूजासामग्री बेच्नु थालेको १५ वर्ष भयो । उहाँको ५ जनाको परिवार छ । यहि फुलमाला तथा पुजासामग्री बेच्ने कामबाट परिवार पाल्नेदेखि छोराछोरीको पढाई तथा अरु सबै खर्च पुर्याउने गरेको उहाँ बताउनुहुन्छ ।
‘पहिलादेखि नै यहि व्यवसाय गरेको कारण अहिले कुनै नयाँ काम गर्न हातमा सिप र साथमा पैसा पनि छैन ।’ उहाँ भन्नुहुन्छ,‘यो व्यवसायबाट घर राम्ररी चलिरहेको थियो । बिहान ६ बजेदेखि राति ७/८ बजेसम्म यही फुल र पुजासामग्री बेचेर बस्छु । कोरोनाले जनजिवानमा निकै प्रभाव परेको छ ।
अहिले दर्शन गर्न आउने भक्तजनको संख्या कम र आउने मध्ये धेरै जसो सबैले घरदेखि नै पूजासामग्री ल्याउने कारण व्यापार ठप्प भएको छ । अहिले पर्यटकहरु कम भएको कारण व्यापार धेरै कम भएको मरहठ्ठाको गुनासो छ । जसो तसो खान र बस्नलाई ऋण गरेर भएपनि चलाईरहेको उहाँ बताउनुहुन्छ ।
पूजासामग्री केहि नेपालकै अरु भारतको
मरहठ्ठा भन्नुहुन्छ,‘पूजासामग्री को लागि फुल १० प्रतिशत गोदावरी र अन्य केहि नेपाल भित्रबाट आउँछ भने बाँकी भारतबाट आउने गरेको छ । साथै नरिवल, बेलपत्र जस्ता विभिन्न सामग्री पनि भारतबाटै आउने गरेको छ । सानो पूजासामग्री १० रुपैयाँ देखि ५०० रुपैयाँ सम्मको छ ।
व्यापारको कुरामा ७० प्रतिशत भारतीय, २० प्रतिशत अन्य पर्यटक र बाँकी १० प्रतिशत नेपाली भक्तजनहरुबाट व्यापार हुन्छ । शिव अथवा महादेवको मन्दिर भएको कारण धेरै जसो जसो रुध्रराक्षको माला र पुजा सामग्री हुन्छ र बाँकी मुर्ति अन्य मालाहरु केहि मात्रामा बिक्री हुन्छ ।’
पूजासामग्री जस्तै बेलपत्रहरु होलसेलबाट र केहि माला पाटनबाट लैजाने गरेको खड्गी बताउनुहुन्छ । फुल र अरु सामग्री भारतबाट आउँछ । फुल बाह्रै महिना प्रसस्त मात्रामा पाईने कारण फुलको लागि त्यस्तो समस्या पर्ने गरेको छैन । ‘हामीले पूजासामग्री कुनै १५०, २५० देखि ५५० सम्मको बेच्ने गरेका छौ । ९ महिनासम्म कमाउने बाटो थिएन ।
ठुलो परिवार भएको कारण खान, बस्न समेत समस्या नै भयो । सरकारले पनि केहि वास्ता गरेन र पशुपति कोषले पनि ९ महिनाको भाडा लिने जस्तो कुरा गरेको छ । यस बिषयमा सरकारले केहि चासो दिएर हामी जस्तो धेरै व्यापारीको मर्का बुझेर अरु केहि नगरे पनि ९ महिनाको भाडा नलिए केहि मात्रामा सहयोग मिल्थ्यो ।’












