समिता श्रेष्ठ
शिक्षाको उज्यालो ज्योति छर्ने प्रकाश अधिकारी बालमैत्री वातावरणमा जोड दिनुहुन्छ ।सामाजिक क्षेत्रमा निरन्तर लाग्दै आउनु भएका उहाँ पेशाले शिक्षक हुनुहुन्छ । शिक्षण पेशा बालबालिकासँगै रमाएर उनीहरुको उज्यालो भविष्य निमार्ण गर्ने आधार शिला मानिन्छ । अधिकारी शिक्षण पेशाबाटै समाज सुधार र सामाजिक अभियान्ताको रुपमा काम गर्दै हुनुहुन्छ ।
उहाँले बालबालिकाको शिक्षाको क्षेत्रमा रहेर बालमैत्री वातावरण निर्माणको लागि काम गर्दै आउनु भएको छ । आफूलाई धनिहोईन असल ब्यक्ति बनेर सामाजिक कार्यमा नै जीवन बिताउने चाहना रहेको अधिकारी बताउनुहुन्छ ।
जन्म, परिवार र रुचि
प्रकाश अधिकारीको जन्म २०३४ सालमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर १ झोरमा भएको हो । उहाँको परिवारमा श्रीमती र एक छोरा गरी ३ जना हुनुहुन्छ । उहाँले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ । आफ्नो बाल्यकाल बारे अधिकारी भन्नुहुन्छ,‘बाल्यकाल रमाएरै बित्यो,पत्रपत्रिका पढ्ने, भ्रमण गर्ने, रेडियो सुन्ने अनि हाजिरी जवाफ,वक्तित्व कला प्रतियोगिता लगायतमा सहभागी हुने गर्थें ।
धेरै कार्यक्रमहरुमा बिजेता पनि हुन्थे । मेरो बाल्यकालको रहर ईन्जिनियर बन्ने थियो । तर चाहेका सबै कुरा कहाँ प्राप्त हुन्छ र मेरो पनिभएन । इच्छा,चाहनाले मात्रै सबै कुराको निर्धारण नगर्ने रहेछ ।मैंले आफ्नो चाहना अनुरुपको बिषय भन्दा फरक बिषय व्यवस्थापन अध्ययन गरे । अनि अहिले शिक्षण पेशामा छु ।’सानैदेखि तृष्ण बृद्धि भएका र लगनशील स्वभावका उहाँ अहिले सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।
शिक्षण पेशा र सामाजिक कार्य
अधिकारीले २०५१ सालदेखि प्लस टु (त्यो बेलाको आईकम) पढ्दै गर्दा झोरस्थित चुलाचुली माध्यमिक विद्यालयमा शिक्षकको रूपमा आबद्ध हुनुभयो । अहिले झोरको चुलाचुली विद्यालय बन्द भैसकेको छ । हरेक क्षेत्रमा स्थापित गराउन आफू जुध्न सक्नुपर्छ अनि धैर्यता र लगनशीलता आवश्यक हुन्छ ।
अधिकारीको धैर्यता र लगनशीलताले नै उहाँलाई शिक्षण र सामाजिक क्षेत्रमा लाग्न प्रेरित गर्यो ।‘जिवनमा सफलता प्राप्त गर्न संघर्षको आवश्यकता पर्ने गर्छ’ अधिकारी भन्नुहुन्छ,‘तर म ती संघर्षशिल यात्रालाई संघर्षको रुपमा होइन एउटा चुनौती र अवसरको रुपमा लिने गर्दछु । त्यसको लागि आफुमा हुनुपर्ने अत्यावश्यक तत्व भनेको धैर्यता र लगनशीलता नै हो ।
आफ्नो सपना ईन्जिनियर बन्ने थियो तर शिक्षण पेशा कयौंलाई इन्जिनियर, डाक्टर बनाउने आधारशिला भएकोले यो पेशा रोजें। मध्यम बर्गिय परिवारमा जन्मेको मैंले दुखका साथ आफ्नो अध्ययन गरेको थिएँ । अहिले पनि एडेक नेपाल संस्थाको सक्रिय सहभागीतामा ३० जना बालबालिकाको लागि शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छु ।
अहिले म शिक्षण क्षेत्रमा इस्ट पोल स्कूलको सह प्रधानाध्यापक तथा शुभकामना स्कूलको अध्यक्षको रूपमा काम गर्दैछु । त्यसैगरी सामाजिक क्षेत्रमा संगम टोल सुधार समितिको अध्यक्ष, लायन्स क्लब काठमाडौं जोरपाटीको द्वितीय अध्यक्ष पनि छु ।’
समाज प्रति दायित्व र प्रेरणाको स्रोत
मानव एउटा सामाजिक प्राणी हो । हामी समाजमा बस्ने गर्दछौं । हाम्रो स्वस्थ जीवन निर्वाहको लागिअसल वातावरण, निरन्तर सरसफाइ, विकास निर्माण, समाज सुधार जस्ता कुराहरुलाई पनि ध्यान दिनुपर्छ । त्यसैले म वातावरण सरसफाइ, टोल सुधार र वातावरण मैत्री कार्यक्रममा सक्रिय सहभागीता जनाउने गर्छु । हाम्रो जिवनमा हामीले गर्ने कामहरू गर्नको लागि प्रेरणा प्रदान गर्ने ब्यक्तिहरु हुने गर्दछन् । त्यो प्रेरणाको स्रोतहरु आफ्नै नजिकको वा टाढाको जो कोहि पनि हुन सक्दछ ।
मेरो कुरा गर्नु पर्दा मेरो प्रेरणाको स्रोतमा मदर टेरेसा,अनुराधा कोईराला र फ्लोरेन्स नाइटिङ्गेल हुनुहुन्छ । उहाँहरुको निस्वार्थ सेवा भावबाट आफ्नो लागि मात्रै होईन हामीले मानव भएर मानवताको लागि जीवन जिउन सक्नुपर्छ र मानव हुनुको सार्थकता प्राप्त हुन्छ भन्ने कुराको बोध गराउने गर्छ । त्यस कारणले नै मेरो लागि मेरो प्रेरणाको स्रोत उहाँहरु हो ।
सामाजिक अभियान्ता
शिक्षण पेशा र सामाजिक कार्यका सक्रिय अधिकारी सामाजिक अभियान्ता नै हुनुहुन्छ । यो क्षेत्रहरुमा रहेर कामगर्दै गर्दा सामाजिक अभियान्ता सम्बोधनले आफूलाई गर्व लाग्ने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ,‘शिक्षण पेशा मेरो आर्दश हो ।आफुले गर्दै आएको कामहरू मध्येमा पनि विभिन्न सामाजिक संस्थामा रहेर असहाय,अनाथ र पीडितको दुखमा मलम लगाउन सकेको दिनमा आनन्द लाग्छ ।
अनाथ, असहाय र पिडित ब्यक्तिको मुहारमाआएको खुसीले अझ हौसला र प्रेरणा मिल्ने गर्छ । अझै धेरै भन्दा धेरै काम गर्नको लागि उत्साहित बनाउने गर्छ । ब्यक्ति,समाज र राष्ट्र निर्माणको एउटा प्रमुख आधारशिला शिक्षा भएकोले यो क्षेत्रको सबलिकरण बिना देशको भविष्य देख्न र कोर्न सकिंदैन । त्यसैले शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउन आजको अनिवार्य आवश्यकता हो । त्यसको लागि म आफ्नो तर्फबाट प्रयासरत नै छु ।’
आगामी योजना
अधिकारी भन्नुहुन्छ,‘आजको दिनसम्म आइपुग्दा सामाजिक क्षेत्रमा केहि न केहि योगदान गरेको जस्तो लाग्छ । तर ती मध्येमा आफैंलाई राम्रो लागेको कामहरुमा भुकम्प पिडितको लागि गरेको १५ दिने बाल सहयोग कार्यक्रम, सिन्धुपाल्चोक र काभ्रेमा गएर गरेको राहत कार्यक्रम र सडक बालबालिकासंगको आत्मीयता कार्यक्रम मुख्य हुन् ।
आगामी दिनमा युवा केन्द्रित रहेर सूचना र प्रबिधिमा निःशुल्क डिजिटल मार्केटिङ तालीम गर्दै छौँ । यो बोना फोर्टुना आईटी शिक्षा केन्द्रबाट जोरपाटीमा कार्यक्रम सञ्चालन गर्ने योजना छ ।












