Ad #144479

समिता श्रेष्ठ

धादिङका सागर थापा मगर काठमाण्डौमा ट्याक्सी चलाउनुहुन्छ । उहाँले ट्याक्सी चलाउन थालेको दुई वर्ष भयो । तर झण्डै एक वर्ष भने कोरोना महामारीकै कारण यो पेशा पनि प्रभावित बन्यो । तर अहिले भने बिस्तारै पुरानै अवस्थामा फर्किंदैछ । एलएलसीसम्मको अध्ययन गर्नु भएका सागरले पढ्ने रहर हुँदाहुँदै पनि घरको दुखले यो पेशामा लागेको गुनासो गर्नुहुन्छ ।

धादिङबाट काठमाण्डौसम्म

सागर थापा मगर २०४८ साल असोजमा धादिङको सुनौला बजारमा जन्मनुभएको हो । सुनौला बजार साविक एक नम्बर वडा अहिले निलकण्ठ नगरपालिका वडा नम्बर ६ भएको छ । उहाँको परिवारमा बुवा, आमा, दुई भाई बुहारी, श्रीमती र छोरी हुनुहुन्छ । धादिङबाट काठमाण्डौ आउनुभएका उहाँ वनस्थलिमा बस्नुहुन्छ । ‘अहिले ट्याक्सी चलाउने र गुजारा गर्ने काम भैरहेको छ’ उहाँ भन्नुहुन्छ,‘एसएलसीपछि पढ्ने रहर हुँदाहुँदै पनि घरायसी समस्याले गर्दा क्याम्पस पढ्न पाइएन । पढ्न नपाएकोमा अहिले पछुतो लाग्छ ।’

उहाँ भननुहुन्छ,‘मेरो बाल्यकाल गाउँले जीवन, घाँस दाउरा मेला पात, गोठालो अनि पानी पधेँरो गर्दैमा बित्यो । बाल्यकालको रुचि फुटबल खेल्ने थियो । गाउँमा सबै भन्दा राम्रो फुटबल खेल्थे । साथै आर्मी बन्ने रहर पनि थियो, त्यो रहर पुरा गर्न उचाइ पुगेन ।’

वैदेशिक रोजगारबाट फर्किएपछि अपनाएको पेशा

सागर थापा मगरसँग विदेशको पनि अनुभव छ । ‘कहिल्यै विदेश जान्न भनेर बसेको म बाध्यता र आर्थिक अवस्थाले विदेश पसे । चार वर्ष मलेशिया बसेर घर फर्केपछि ट्याक्सी चलाउन थालेको हुँ । ट्याक्सी चलाउनु भन्दा अगाडि ज्यामी काम गरेको थिए । माइला भाइ र भिनाजु पनि ट्याक्सी चलाउनुहुन्छ ।

उहाँहरुकै सहयोगमा लाइसेन्स निकालेर यो काम सुरु गरेको हुँ ।’ धेरैजसो काठमाण्डौ, भक्तपुर र ललितपुरमा ट्याक्सी चलाउने उहाँ प्रायः बिहान ४ बजे तिर निस्कने गरेको बताउनुहुन्छ । तर कहिलेकाहीँ ५/६ पनि बज्ने गर्छ । बेलुका ९ बजे कोठामा पुग्ने गर्नुहुन्छ ।

लकडाउनका बेला समस्या

कोरोना महामारीका कारण अघिल्लो वर्ष चैतदेखि भएको लकडाउनले निक्कै समस्या पारेको सागरको गुनासो छ । ‘यो लकडाउन हुनु भन्दा अगाडि आम्दानी राम्रै थियो । दैनिक रुपमा तीन हजार पैंतीस सय कमाई हुन्थ्यो । जसोतसो घर खर्च टार्दै थिए । जीवन सामान्य नै चलिरहेकै थियो ।’ उहाँ भन्नुहुन्छ,‘जब यो कोरोना भाइरस देखिन सुरु भयो, सबैभन्दा बढी मार परेको व्यवसाय नै ट्याक्सी व्यवसाय हो जस्तो लाग्छ ।’

बिहान ४ बजे सडकमा निस्केपनि यात्रु पाउन कठिन छ । कहिलेकाहीँ त यात्रु पाउन अफिस टाइम नै हुनुपर्छ । टुटल अनि पठाओले झनै गाह्रो पारेको उहाँको बुझाई छ । ‘मुस्किलले दिनभरीमा बल्लतल्ल दुई हजार/पच्चीस सय जति आम्दानी हुन्छ । त्यसबाट ट्याक्सीमा तेल हाल्ने कि, किस्ता छुट्टाउने, कि परिवार पाल्ने समस्यै समस्या छ ।’

उहाँ भन्नुहुन्छ,‘ अब त विदेश नजाने भनेर नेपालमै केही गरौ भनेको फेरि विदेश नगैनहुँने बाध्यता देखिएको छ ।’ महिनाको ७५ हजार आम्दानी हुँदा पनि कोठाभाडा, किस्ता तिर्दा घरखर्च चलाउन गाह्रो पर्ने भैसकेको उहाँ बताउनुहुन्छ ।

रमाइलो खास छैन

ट्याक्सीमा चढ्ने यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने काम ट्याक्सी चालकको हो । यात्रु विरामी परे परिवारलाई खबर गर्ने र अस्पतालसम्म पु¥याउने पनि जिम्मेवारी हुन्छ । ट्याक्सीमै छुट्ने सरसामग्री र नगद रुपैयाँ पैसा फिर्ता गरेका उदाहरण पनि छन् । सागर भन्नुहुन्छ,‘जिम्मेवारी धेरै लिनुपर्ने यो पेशामा खास रमाइलो छैन । ट्याक्सी चलाउँदा रमाइलो भनेको विभिन्न ठाउँमा पुग्नु र यात्रुसँगै घुम्नु मात्रै हो । मान्छेहरु चिनिन्छ, ठाउँहरु चिनिन्छ त्यति नै हो ।

मैंले अहिलेसम्म काठमाण्डौ उपत्यका सहित, धादिङ, नुवाकोट, पोखरा, गोर्खा, तनहुँ, बाग्लुङ, चितवन सम्मको यात्रा गरेको छु । अरु खासै केही छैन । बरु यो पेशामा नराम्रो धेरै छन् । अनावश्यक कचकच, यात्रुसँग बाग्रेनिङ्ग, ट्राफिकले काट्ने चिट, यात्रु चढाउन र ओराल्न समस्या छन् ।’ उहाँ थप्नुहुन्छ,‘इमान्दार भएर काम गर्दा पनि ट्याक्सी चालकप्रतिको व्यवहार नराम्रो पाइन्छ । सबैलाई ठगको उपमा दिने गरिएको छ ।’

मिटर भाडा रकम बढाए राहत

सरकारले ट्याक्सीको मिटर भाडा रकममा केहि बढाए राहत हुने उहाँको भनाई छ । अहिले एक किलोमिटर बराबर ३९ रुपैयाँ पर्छ । जहाँ गयो त्यही यात्रु भेट्टाउने हुँदैन । सरकारको यसमा ध्यान पुग्नुपर्छ । साथै ट्याक्सी पार्किङ्ग पनि व्यवस्थित हुनुपर्छ ।