समिता श्रेष्ठ
कमाउन विदेश नै जानुपर्दैन भन्ने उदाहरण हुनुहुन्छ, राजेन्द्र श्रेष्ठ । उहाँ आफ्नै देशमा पसिना बगाएर राम्रो आम्दानी गर्न सफल बन्नुभएको छ । अरु केहिलाई रोजगारी पनि दिनुभएको छ । श्रेष्ठ इंटिरियर डेकोर फर्निचर उद्योगको संचालक हुनुहुन्छ । उहाँको उद्योगमा ३० जना कार्यरत छन् । मध्यम परिवारमा जन्मिनु भएका श्रेष्ठको सफलताका पछाडी आत्मविश्वास र लगनशीलता नै जोडिएको छ ।
पारिवारिक अवस्था
श्रेष्ठको जन्म २०४३ साल असार १५ गते बालुवा गाउँ विकास समिति गोकर्णमा भएको हो । उहाँको परिवारमा आम। बुबा, श्रीमती,छोरा सहित ९ जना हुनुहुन्छ । श्रेष्ठले विज्ञान विषयमा उच्च माध्यमिक शिक्षासम्म अध्ययन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,‘म अध्ययनमा अब्बल विद्यार्थी हुनुहुन्थ्यो । गोकर्णेश्वर महादेव उच्च माध्यमिक विद्यालयको टपर हुनुहुन्थ्यो ।
मैंले एसएलसीमा ७२ प्रतिशत ल्याएको थिएँ ।’ प्लस टु साइन्स पास गरेपनि स्नातक पुरा गर्न नसकेको उहाँ बताउनुहुन्छ । साइन्स पढेको र इन्जिनियर बन्ने सपना बोकेको मान्छे अहिले म्यानेजमेन्टको काम गर्दै हुनुहुन्छ ।
फर्निचर व्यवसाय र रोजगार
श्रेष्ठको फर्निचर व्यवसाय पुरानै व्यवसाय हो । हजुरबुबापछि बुबाले चलाउनु भयो । तर बुबाले राम्रोसँग व्यवस्थापन गर्न सक्नुभएन । त्यसपछि श्रेष्ठले नै सम्हाल्नुभयो । २०५८ सालदेखि उहाँले काम थाल्नुभयो । त्यसबेला १ जना कर्मचारी राखेर अगाडि बढाएको व्यवसायमा अहिले ३० जना कर्मचारी छन् । ‘सुरुवातका दिनहरुमा एकदमै गाह्रो भयो ।’
उहाँ भन्नुहुन्छ,‘लगानी गर्नको लागि रकम अभाव थियो । बिहानै ५ बजे उठेर टिउसन पठाउन जान्थे । त्यसपछि फ्याक्ट्रीमा काम गर्थें । दिनमा कहिले २ घण्टा बढीमा ४ घण्टा सुतेर काम गर्ने गर्थें।’ त्यो समयमा एक जना साथीले २०/२५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो र अझै पनि सधैं मलाई साथ दिने गर्नुहुन्छ । उहाँको सहयोगबाट लगानी बिस्तार गरेको थिएँ । त्यो तिर्न पनि झण्डै दुई वर्ष लाग्यो । त्यतिबेला अहिलेको जस्तो सहकारीहरु पनि थिएनन् । ऋण पाउन पनि गाह्रो थियो ।’
संघर्षका दिनहरु
अनुभव बिनै काम सुरु गरेपछि केहि दुख भएको श्रेष्ठ बताउनुहुन्छ । उ बेलामा फर्निचर राखेको ठाउँमा भाडा तिर्न मुस्किल थियो । २ वर्ष जति घाटामै चल्यो । त्यही पनि बिस्तारै अनुभव बटुल्दै अगाडि बढ्दै गएँ उहाँ भन्नुहुन्छ,‘अनि पुरानो ग्राहकहरुले नै नयाँ काम दिंदै गए । त्यसपछि बिस्तारै कामहरु बढ्दै गयो । अहिले स्थापित भैसकेको अवस्था छ ।
६० हजारको लगानी अहिले ४० लाख जति पुगेको श्रेष्ठ बताउनुहुन्छ । ‘काम गर्दै जाँदा असफल पनि हुने गर्छौं । त्यो बेला हरेस खाने काम गर्नु हुँदैन । म पनि मैंले गरेको कामहरुमा कति धेरै असफल भएको थिएँ । धेरै चोटि असफल भएपनि म आफ्नो कामलाई पूरा गर्छु भने मनमा थियो । यहाँ बसेर जति गरे पनि खान लाउन पनि पुग्दैन भन्ने जस्ता कुरा पनि हुन्थ्यो । आफन्त र परिवार पनि त्यसै भन्थे । तर मलाई आफ्नै देशमा बसेर केही गर्ने र पसिना बगाउने हुटहुटीले छोडेन ।’
आफ्नै देशमा केही गरौँ
आफ्नै देश, गाउँ ठाउँमा नै केही गर्नुपर्छ । काम गर्दै जाँदा सबैभन्दा ठुलो कुरा पैसा कमाउनु रहेछ । त्यो बेला हामी जस्तो मध्यम वर्गले कसरी जीवन चलाउने, कसरी कमाउने, समाजमा कसरी स्थापित हुने जस्ता अनेकौं कुराहरु दिमागमा आउने गथ्र्यो । अहिले बुझ्दै जाँदा त्यो सबै बच्चा दिमागको सोंचाइ जस्तो लाग्छ । कुनै बेला घर नै बेच्नुपर्ने अवस्था थियो, तर अहिले साढे तीन तलाको घर बनाएको छु । समाजसेवामा पनि क्रियाशिल छु । अरुलाई पनि आफ्नै देशमा केही गरौँ भन्न चाहन्छु ।
आफुले आफैंलाई उत्प्रेरित गर्नुपर्छ
जीवनमा अगाडि बढ्न सबैभन्दा सुरुमा भबिष्यको योजना बनाउन पर्ने रहेछ । मैंले पनि त्यही योजना निर्माण गरेर अगाडि बढेको हो । अनि आफुलाई उत्प्रेरित गर्ने किताबहरु पढ्ने, हेर्न पनि गर्नुपर्छ । आफुलाई कहिले कमजोर सोंच्नु हुँदैन । काममा लगनशीलता र इमान्दारीता हुनै पर्छ ।
हामी नेपालीहरुमा आफ्नो देशमा भन्दा बिदेश जाने परिपाटी छ । बरु आम्दानी केही नहोस् तर बिदेशमा आफ्ना छन् भनेर खुशी हुने गर्छन् । यो परिपाटीलाई बदल्न आवश्यक छ । यो सोंच र परिपाटीलाई बदलेर आफ्नै देशमा रोजगारी सिर्जना गरि बस्न सके आफ्नो र देशको पनि बिकास गर्न सकिन्छ ।
विदेश जानको लागि खर्च गर्ने ८/१० लाखले नेपालमा नै पुँजीको रुपमा लगानी गर्न सके आफ्नो मात्रै होईन अरुको जीवनशैलिमा पनि विकास गर्न सकिन्छ । ठुलो ठुलो पुँजी लगानी गरेर अष्ट्रेलिया, अमेरिका भन्दा त्यो पुँजिको सदुपयोग गरेमा ठुलो पुँजी बिदेशीनबाट रोकिन्थ्यो । त्यसले नेपालमै ८/१० जनाले रोजगारी पाउँछन् । देशमा नै रोजगारी सिर्जना गर्न सकिन्छ ।
नेपालमा नै आफ्नो श्रम गरेर पनि बिदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ । अहिले मैले गरिरहेका कामहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५०/६० जनाले रोजगारी प्राप्त गरेका छन् ।












