समिता श्रेष्ठ
राजनीति र समाजसेवामा सक्रिय सान्नानी लामा काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा २०२२ साल मंसिरमा जन्मनुभएको हो । उहाँको परिवारमा २ छोरा, बुहारी र नातीनातिनी गरी ६ जना छन् । लामाले साधारण माध्यमिक तहसम्म अध्ययन गर्नुभएको छ । उहाँको बाल्यकाल सामान्य रुपमा नै बित्यो ।
राजनीति र सामाजिक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल लामा अहिले जिल्ला समन्वय समिती काठमाण्डौको सदस्य हुनुहुन्छ । उहाँ जनसाहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष तथा विभिन्न संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ।
२०४६/२०४७ सालको जनआन्दोलनदेखी राजनैतिक क्षेत्रमा प्रवेश गरेकी उहाँ त्यसपछि राजनीति सँगसँगै सामाजिक कार्य पनि गर्नुपर्छ भनेर २०५६ सालदेखि समाजसेवाको काममा लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘आफ्नो रुचि अनुरुप नै आज राजनैतिक र समाजसेवाको कार्यमा लागिरहेको छु ।’
राजनीति र समाजसेवा एक सिक्काको दुई पाटा
लामाको विचारमा राजनीति र समाजसेवा एक सिक्काको दुई पाटा हुन् । उहाँ भन्नुहुन्छ,‘राजनीति सँगसँगै समाज जोडिने हुनाले समाजसेवा भनेको राजनीतिसँग जोडिने कुरा हो । अर्थात् राजनीतिको एउटा पाटो समाजसेवा नै हो । त्यसैले राजनीति र समाजसेवाको काम एउटा सिक्काको दुईवटा पाटो जस्तै भएकोले राजनीति र समाजसेवा गर्दै आएको छु ।’
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बाट तत्कालिन नेपाल कम्यूनिष्ट पाटी नेकपा एमाले काठमाडौ जिल्ला समन्वयन समितीमा जनप्रतिनिधि सदस्यको रुपमा हुनुहुन्छ । त्यसैगरी अन्य विभिन्न सामाजिक संघ सस्थामा पनि आवद्ध हुनुहुन्छ । विभिन्न संघ सस्थासँग मिलेर कोरोना महामारीका बेला भएको लकडाउनमा विभिन्न काम पनि भए । आत्तरखेल युवा समाज र आत्तरखेल महिला समाजसँग समन्वय गरेर राहत बाड्ने काम गरेको लामा बताउनुहुन्छ ।
त्यस सँगसँगै गरिखाने वर्गका परिवारहरु जसले दैनिक काम गरेर गुजारा चलाउदै आएका थिए, लकडाउनका कारण आफ्नो दैनिकी चलाउन गाह्रो परेकोहरुलाई नाम टिपेर २१ दिनसम्म खाना खुवाउने काम दाताहरूको सहयोगमा भयो । अपाङ्ग र रोगी पिडितलाई पनि राहत वितरण भयो । जनसाहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेकी लामा भन्नुहुन्छ,‘यो सहकारी २०६४ सालमा महिनाको एक सय रुपैयाँ बचत गर्ने गरी हाम्रो महिला समूहबाट खोलेको हो ।
उहाँकै पहलमा प्रत्येक घरका उद्यमशिल महिलाहरुले आफ्नो कमाइबाट महिनाको एक सय रुपैयाँ भएपनि जम्मा गर्नुपर्छ भनेर महिलाहरूको समुह बनाएको हो र त्यसैबाट मिलेर अहिले सहकारी पनि संचालन भैरहेको छ । उहाँ विपद् तथा विवाद ब्यवस्थापनको काममा पनि अग्रसर हुनुहुन्छ । ‘यो काम एकदमै गाह्रो काम मध्येको एक भए पनि मलाई विश्वास गरेर बोलाउनु हुन्छ । यसको लागि मैले पहिला उहाँहरुले भन्ने गरेका कुराहरुलाई राम्रो संग सुनेर बुझेर त्यसमा समाधान खोज्ने गर्छु ।’
विवाद र विपद्का विषयमा आत्तरखेल महिला समाज र युवा समाजमा आबद्ध भएर काम गर्नुहुनेहरुलाई काम गर्न सिकाउने गरिन्छ । यसरी लामाले समन्वयनको भुमिका निभाउने गर्नुभएको छ । ‘विवादहरु जस्तै घर झगडाहरु श्रीमान्, श्रीमती, सासू बुहारी, दाजुभाइ बिच हुने विवादको कुरामा सबैभन्दा पहिले म उहाँहरुलाई एकै ठाउँमा राखेर कुरा सुन्ने र बुझ्ने गर्छु ।
अनि राम्रो सँग कुरा बुझेपछि के कुराले विवाद सुरु भयो, अब के गर्न सकिन्छ भनेर दुबै पक्ष राखेर विवाद सुल्झाउने गर्छु । प्राय दाजुभाइमा चाहिँ जग्गाको कुरा नमिलेर विवाद हुने गरेको पाइन्छ । यसको लागि पनि म आफ्नै स्थानीय निकायसँग समन्वय गरेर नापी बिभाग, मालपोत कार्यालय र नक्साकाँट हेर्ने हेराउने गरेर सुल्झाउने गर्ने गरेको छु ।’
आवश्यक स्थानमा समन्वयन गरेर सहयोग
विपदमा परेका मान्छेहरु कसैलाई आर्थिक त कसैलाई सामाजिक सहयोगको आवश्यकता पर्छ । त्यसको लागि आवश्यक स्थानमा समन्वय गरेर आर्थिक, सामाजिक सहयोग गर्ने अभ्यास छ । रोगीहरु जस्तै किड्नी फेल, क्यान्सर रोग लागेको, बस्ने घरहरु भत्केकाहरुलाई समन्वय गरेर स्थानीय निकायबाट लिनुपर्ने सहयोगमा हुन्छ कि दाताहरुसँग सहयोगको अपिल गरेर हुन्छ आफुले निभाउन पर्ने भुमिका निर्वाह गरेर विपद् ब्यवस्थापनमा सहयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
अनुभव र सिकाई
विपद्को व्यवस्थापन, विवादको निरुपण जस्ता कामहरूमध्ये आफैलाई राम्रो लागेको काम एउटा सासु बुहारीको घरझगडा व्यवस्थापन एक हो । यो झगडाको मुद्दा नगरपालिकाको न्यायीक समितिमा आइपुगेको थियो । ‘हाम्रो समाजमा सासु बुहारीको झगडा हँुदा प्राय सासू नै गलत देखिन्छ । तर गल्ती सासू बुहारी दुवैको नै हुन सक्छ । त्यसलाई बुझेर नियालेर हेरेर निर्णय लिने न्याय दिने काम हुँदा मलाई आफुले गरेको काममा गर्व लागेको छ ।’
काम गर्दा राम्रो नराम्रो सबै हुन्छ । घर झगडा सुल्झाउन निकै चुनौती छ । यो काम गर्दा आफ्नै छिमेकी, आफ्नै मान्छे भएकोले राम्रो गर्न खोज्दा खोज्दै बिचमा परिन्छ । छिमेकीको घर जग्गा विवाद सुल्झाउन धेरै समय लाग्दा कता कता निराश अनुभुति हुँदै आएको छ । यो बाहेक अरु खासै निराश हुनुपर्ने काम भएका छैनन् । खुशीकै अनुभुति भएको छ ।
संघर्ष र सफलता
हरेक क्षेत्रमा काम गर्नको लागि संघर्षको आवश्यकता पर्ने गर्छ । आजसम्मका दिनहरुमा मैले गरेको कामहरू राम्रो छैन भनेर कसैले भन्नुभएको छैन । मेरा पनि आफ्नै उतार चढाव छन् । ती उतारचढाव नै मेरो जीवन हो भने सोचेर संघर्षका पाइलाहरु अगाडि बढाउंदै गएँ । सुरुका दिनहरुमा घर परिवारले साथ नदिदा र आफू एकल महिला भएर दुई सन्तानको जिम्मेवारी लिदै गर्दा गर्नुपरेका संघर्षका दिनहरू निकै छन् ।
आफ्नो र आफ्नो बच्चाहरुको जिबिकोपार्जनको लागि खेती र बुङ्गुर पालन र अन्य विभिन्न कामहरु गर्ने गर्थे । हिजोको संघर्षले नै मलाई आज सफलता मिलेको छ ।
प्रेरणाको स्रोत
हरेक कुराको पछाडि एक न एक जना प्रेरणाको स्रोत हुने गर्छन् । मेरो प्रेरणाको स्रोत क्षेत्र नम्बर ३ का माननीय कृष्ण राई हुनुहुन्छ । उहाँले मलाई यो राजनीति क्षेत्रमा तपाई जस्तो संघर्षशिल महिलाले केही गर्नुपर्छ, लाग्नुपर्छ भनेर प्रेरित गर्नुभएको हो ।
त्यस्तै गरि सामाजिक कार्यमा लाग्न र सामाजिक क्षेत्रमा काम गरेर अगाडि बढ्नका लागि सबैभन्दा सुरुमा प्रेरणा दिने भगवान युवा क्लब हो । यो अहिले कागेश्वरी मनोहरा नगरपालिकामा पर्छ । पहिले आलपोट गाउँ विकास समितिमा थियो । यो क्लबले नै समुह बनाउन पर्छ र समुहमा रहेर सामाजिक कार्यमा हिड्न पर्छ भनेर प्रेरणा दियो ।
अबका योजनाहरु
अबको योजनामा सामाजिक क्षेत्रमा सहकारीको तर्फबाट आफुले सकेको योगदान गर्ने रहेको छ । अनि राजनीतिको पाटोमा पनि यो भन्दा अगाडि बढेर विकास निर्माणको काम गर्ने रहेको छ । हाल यहाँ जग्गाहरु धेरै जसो पलटिङ्ग भएको छ । पलटिङ्ग नगरेको जग्गाहरुमा कृषि उत्पादन गर्नको लागि प्रयोग गराउने चाहना छ । युवाहरुले बिदेशी भुमिका आफ्नो पसिना बनाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । त्यसका लागि कृषि क्षेत्रमा लाग्नुको विकल्प छैन । यहि प्रेरणा र सन्देश लिएर हिँड्दैछु ।
अरु विकास निर्माणका काममा बाटो नभएको ठाउँमा बाटो निर्माण, खानेपानी नभएको ठाउँमा खानेपानीको काम निरन्तर हुँदैछ । समाजलाई कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ भनेर लाग्दा समाजले नि त्यो परिवर्तनहरु खोज्न आवश्यक छ । हामी मात्रै लाग्दा परिवर्तनहरु सफल नहुन सक्ला तर समाजले पनि त्यो परिवर्तन खोज्दा झक्झकाउने काम गर्दा चाहे जस्तो परिवर्तन पाउन सक्छौं जस्तो लाग्छ ।











