उचाई छुँदै आकाश तामाङ : भन्नुहुन्छ, ‘गीत–संगीत ‘कानबाट छिरेर एकैचोटि मुटु छेड्ने हुनुपर्छ’

समिता श्रेष्ठ

आकाश तामाङ गीत संगीतमा लागेको डेढ दशक भैसकेको छ । उहाँले आधुनिक, लोक, पप, सेलो गीतमा आवाज दिनुभएको छ । उहाँका दुई दर्जन भन्दा धेरै गीत रेकर्ड भैसकेका छन् । लोकप्रिय र चर्चाको उचाई देख्दा लाग्छ, आकाश तामाङले आकाश नै छुन लाग्नुभएको छ । तर उहाँ भन्नुहुन्छ,‘सिक्ने कुरा जीवनभर अन्त्य हुँदैन, गीत संगीतमा सिक्ने क्रम जारी नै छ ।’उहाँको चर्चाको उचाई भने निरन्तर बढ्दो छ ।

जन्म ,परिवार र रुची

आकाश तामाङ २०४३ सालमा काठमाण्डौको थापाथलीमा जन्मनु भएकोहो । अहिले उहाँ बालाजु बनस्थलीमा बसोबास गर्नुहुन्छ । उहाँको परिवारमा आमा र श्रीमतीसहित तीनजना हुनुहुन्छ । तामाङले पब्लिक युथ क्याम्पसबाट स्नातक सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

काठमाण्डौमा नै जन्मनु हुर्कनु भएका उहाँले आफ्नो बाल्यकाल पौडी, फुटबल खेल्दै, गाउँदै र हलमा गएर फिल्म हेर्दै रमाइलो गरेर बिताउनुभयो । खेल र गीत संगीतमा उहाँको बाल्यकालदेखिकै रुची थियो ।उहाँ भन्नुहुन्छ,‘सानैदेखि नै गीत संगीत सुन्ने र गीत गाउने स्वभाव भएपनि गायक नै बन्छु भने थिएन ।

तर विद्यालयका गुरुहरु र साथीहरूले स्वरको प्रशंसा भने गर्नुहुन्थ्यो । तिम्रो स्वर राम्रो छ र तिमिले राम्रो गर्छौ भने कुराहरु गर्ने गर्नुहुन्थ्यो । यसले पनि गीत संगीतमा केहि गर्नुपर्छ भन्ने लाग्थ्यो ।साथीहरूसँग बसेर गीत गाउने स्वभावले पनि गीत संगीतमा केही गर्नु पर्छ भन्ने भयो । त्यसैबाट प्राप्त हौसलाका कारण २०६२/२०६३ सालतिर मैले शिक्षा साधनाकला केन्द्रबाट संगीतको प्रशिक्षण लिएँ । साधनाकला केन्द्रका गुरुहरुले पनि राम्रो छ भनेर प्रेरणा दिनुभयो ।’

गायनयात्रा

तामाङले ‘जाउँ भनेर’ गितबाट गायन यात्रा सुरु गर्नुभयो ।त्यसपछि २०६४/२०६५ तिर डुरेमी संगीत पाठशालामा फेरी संगीत सिक्नुभयो । त्यसपछि २०६८/२०६९ तिर अनुराग संगीत विद्यालय पुतलीसडकमा पनि संगीतको क्लास लिनुभयो । एकातिर गीत रिलिज हुँदै थियो भने अर्को तिर उहाँ संगित सिक्दै पनि हुनुहुन्थ्यो । ‘सिक्ने कुराको कहिल्यै अन्त्य हुँदैन जस्तो लाग्छ । त्यसमाथि गीत संगीत मानव जीवनका लागि अपरिहार्य कुरा हो । जसले मनलाई शान्तपार्छ । संगीतको जति अध्ययन र रियाज गर्यो त्यति नै स्वरमा निखारता आउने गर्छ ।’

उहाँको पहिलो गीतपछि दुई/दुई बर्षको अन्तरालमा अरु गीत आउने क्रम जारी भयो । तामाङले २०६८/२०६९ सालतिर एकल एल्बम ‘आकाश’ ल्याउनुभयो । यो एल्बममा पाँच वटा गितहरु छन् । तीपाँच वटा गीत मध्ये एक नम्बर ट्रयाकमा रहेको ‘जाउँ भनेर बोलाको तिमीले’ बोलको गीतको अडियो र भिडियो दुबै धेरै चर्चामा रह्यो । जसमा शब्द र संगीत सुनिल केसी, एरेन्ज र गीतार बिशाल गुरुङ, कोरियोग्राफर गोबिन्द राई, निर्देशन नितिन चन्दको रहेको छ । यो गीतको भिडियो मोडलको रुपमा पल शाह, प्रशाहन,प्रजोल, रानी हुनुहुन्छ ।

तामाङ भन्नुहुन्छ,‘अहिले सम्म मैले १५ वटा भन्दा बढी अडियो रिलिज भएकोमा गीत गाएको छु भने पाँच वटा भिडियो रिलिज भएकोमा गीतहरु गाएको छु । ती गीतहरु मध्ये जाउँ भनेर भाग १ र भाग २, झ्याप्ले कपाल कोरन सान्नानी, हिमालपारी मनाङ्गगाउँ, जोवन ढल्केर (शेलो) बोलको गीतहरु भिडियोसहित युटुबमा उपलब्ध छ ।’

सफलता प्राप्तिको लागि संघर्ष आवश्यक

सफलता प्राप्तिको लागि संघर्ष गर्नुपर्छ ।जुन तामाङले पनि गर्नुभएको छ ।‘संघर्षको यात्रा मेरो घरदेखि नै सुरु भयो । घर परिवारमा कोहि पनि यो संगीत क्षेत्रमा आवद्ध हुनुहुन्थेन । सुरुवात आफैंबाट गरेर अगाडि बढ्दै, लड्दै र फेरी उठ्दै गरी यात्रा निरन्तर रहिरहेको उहाँ बताउनुहुन्छ ।‘ यो संगीत क्षेत्रमा मेरो परिवारको एकदमै सपोर्ट छ । त्यहि सपोर्टले गर्दा नै आजसम्म मेरो यात्रा निरन्तर रुपमा चलिरहेको छ।तर अहिलेको कोरोना महामारीले गर्दा सबै क्षेत्रमा जस्तै यसमा पनि असर परेको छ ।

आइडल नारायण गोपालर अरुण थापा

अजर अमर नारायण गोपाल र अरुण थापाको याद अरु धेरै कलाकारले गर्छन् । यस्तै याद गर्ने मै पर्नुहुन्छ तामाङ पनि । आईडल नारायण गोपाल र अरुण थापा मान्ने तामाङ भन्नुहुन्छ,‘उहाँहरुको गित र आवाजमा गहिराइ छ । जुन आवाज वा संगीत कानबाट छिरेर एकैचोटि मुटुमा छेड्ने गर्छ ।

त्यस्तै यो संगीतको क्षेत्रमा लाग्नको लागि मेरो प्रेरणाको स्रोत धेरै जना गायक हुनुहुन्छ । हाम्रो पालामा कला र गलाका लागि रियालिटी सो जस्तै नेपालीतारा,खोजी प्रतिभाको जस्ता कार्यक्रमहरुबाट पनि प्रेरणा मिल्ने गथ्र्यो ।’

फराकिलो विधा, अध्ययनसँगै व्यवहारिक ज्ञानको आवश्यकता

गीत संगीतको विधा फराकिलो छ। यो क्षेत्रमाआउन रहर र चाहानाले मात्रै पुग्दैन । उहाँ भन्नुहुन्छ,‘नयाँ पुस्ताले यसै विधामा अध्ययन गरेर अनि त्यसको साथसाथै व्यवहारिक ज्ञान पनि लिएर आउनु आवश्यक छ । सुरुमा सफल हुन्छु भनेर होईन जे भएनि म यो क्षेत्रमा निरन्तर लागिरहन्छु भन्ने दीर्घकालीन सोंच लिएर आउनुपर्छ । जे गर्नुहुन्छ मनदेखि गर्नुहोस् ।’

रुची र साधना

तामाङ भन्नुहुन्छ,‘संगीत मेरो लागि पेशा नभएर मेरो रुचीको विषय हो । अनि मेरो साधना संगीत क्षेत्र हो । मैले व्यवसायको रुपमा यसलाई हेरेको छैन । गायन क्षेत्र बाहेक होटल क्षेत्रमा आवद्ध छु । तर संगीत क्षेत्रमा लागेर पनि जिविको पार्जन भने गर्न सकिन्छ । यसको लागि संघर्षशिल हुनु आवश्यक छ । त्यसको साथै आफ्नो क्षेत्रमा उत्कृष्ट र अब्बल हुनुपर्छ ।

अनि सबैभन्दा ठुलो कुरो श्रोता र दर्शकको मन जितेर स्थापित हुनुपर्छ । त्यसपछि संगीतको क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढेर जीवन निर्वाह गर्न सहज हुन्छ ।’

[sidebar name="button post"]