सरु देवकोटाको संघर्षको कथा : ७५ रुपैयाँ लिएर जुम्लाबाट सुर्खेत हुँदै काठमाण्डौसम्म

गुडिया शाह

सरु देवकोटा २०५० सालमा जुम्लामा जन्मनुभएको हो । उहाँ अहिले काठमाण्डौको बालाजुमा बस्नुहुन्छ । परिवारमा बुवा, आमा, दाई, भाई हुनुहुन्छ । उहाँको परिवार सुर्खेतमा छ । तर देवकोटा काठमाण्डौमा काकाकाकीसँग बस्नुहुन्छ ।

बाल्यकाल

देवकोटाले बाल्यकालदेखि नै अनेक समस्या झेल्दै हुर्कनुभयो । उहाँ ७५ रुपैया लिएर जुम्लाबाट सुर्खेत झर्नुभएको थियो । सुर्खेतमा कक्षा एकमा पढ्दै गर्दा तत्कालिन माओवादीले उहाँले पढ्दै गरेको स्कुल भत्काए । बोर्डिंग स्कुल भत्केपछि देवकोटाले सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाको सितापाली सरकारी स्कुलमा कक्षा ४ सम्म अध्ययन गर्नुभयो ।

तर पढाई निरन्तर अगाडि बढ्यो । त्यसपछि सुर्खेतकै जन उच्च माध्यमिक बिद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्नुभयो । सुर्खेतबाट फेरि जुम्ला गएर बोहोरा उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिनुभयो ।

जुम्लाबाट बुटवल आएर उहाँले कक्षा ११ र १२ पढ्नुभयो । उहाँले अर्घाखाँची टेक्निकल टे«निङ्ग स्कुलमा टेक्निकल विषय पढेर फेरि सुर्खेत पुगेर शिक्षा क्याम्पसबाट स्नातक गर्नुभयो ।

रेडियोमा काम

पढाईसँगै देवकोटाले काम पनि गर्नुभयो । कक्षा १२ को पढाई सकेपछि रेडियो सुर्खेतमा १ वर्षसम्म काम गर्नुभयो । त्यसपछि फेरि जुम्लाको रेडियो नारी आवाजमा २ वर्षसम्म काम गर्नुभयो । उहाँले बिहानीको ताजा खबर पत्रिकामा पनि नेपालगंजबाट समाचारहरु पढाउनुहुन्थ्यो ।

साथै कर्णाली बोर्डिंग स्कुलमा पनि ६ महिना पढाउनु भयो । त्यसपछि नुवाकोटमा बेलकोट स्वास्थ्य चौकीमा इम्पर्टको रुपमा उहाँले २ वर्ष काम गर्नुभयो । अनि काठमाण्डौ छिर्नुभयो । काठमाण्डौ आएपछि देवकोटा जनप्रशासन क्याम्पसमा मास्टर अध्ययन गर्न भर्ना हुनुभयो ।

कामको अनुभव र अगाडिका पाइला

स्कुल, पत्रपत्रिका, रेडियोमा काम गरे पनि अस्पतालमा गरेको कामले धेरै सिकाई भएको देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘विकट ठाउँमा जन्मेपनि मेहनत गर्दै गर्दै आज अनुभवको खानी प्राप्त भएको छ ।’ बाल्यकालको रुचि पत्रकारिता पढ्नु र पत्रकार बन्नु थियो तर रेडियो र पत्रपत्रिकामा काम गरेपछि रहर पुरा भएको तर अरु खासै प्रगति नभएको उहाँको अनुभव छ ।

परिवारको आर्थिक अवस्था कमजोर तथा पत्रपत्रिका तथा रेडियोमा काम गर्दा खासै पैसा नभएको कारण पेसा बदल्नुपरेको उहाँको गुनासो छ । रेडियो पत्रकारिता पैसाका लागि नभएर संसार चिन्न र आफूलाई चिनाउने माध्यम मात्रै रहेको उहाँको भनाई छ । अहिले उहाँ मेडिकल म्यानेजरको रुपमा काम गर्नुहुन्छ ।

‘सुरुवातमा पत्रकारिता गर्दा धेरै ज्ञान प्राप्त भयो’ उहाँ भन्नुहुन्छ,‘रेडियोमा काम गर्ने इच्छा मरेको छैन ।’

[sidebar name="button post"]