समिता श्रेष्ठ
नेपाली चलचित्रको क्षेत्रमा झण्डै दुई दशक बिताएका विश्वमणी घिमिरे एक सफल निर्देशक, लेखक र कलाकार हुनुहुन्छ । चलचित्र निर्देशकका रुपमा उहाँले लिखित कथालाई सुन्दर चलचित्रको रुपमा प्रस्तुत गर्नुहुन्छ । चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो । निर्देशकको आदेश अनुसार वा सोचाईं अनुसार चलचित्र निर्माण हुने गर्छ ।
जन्म र परिवार
विश्वमणी घिमिरेको जन्म विक्रम संवत् २०३५ साल पुस १४ गते सिन्धुलीको कमलामाई नगरपालिका ५ मा भएको हो । उहाँको परिवारमा हजुरआमा, आमाबुबा, भाई÷बुहारी, दुई दिदी सहित श्रीमती, छोरी हुनुहुन्छ । घिमिरेको बाल्यकालदेखि नै कलाकारीतामा रुची थियो । ‘गाउँघरमा नाटक हुँदा भागेर हेर्न जाने गरेको सम्झना गर्दै उहाँ भन्नुहुन्छ,‘ दुई/चार जना साथीहरू भेला भएर नाच्ने, गाउने र नाटक गरिन्थ्यो ।’
उहाँले शंखरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । साथै २०५१ सालदेखि कलाकारीतामा लाग्नुभयो । त्यसपछि २०५५ सालदेखि व्यवसायिक रुपमा कलाकारीतामा लाग्नुभयो । अहिले उहाँ सक्रिय भएर चलचित्र निर्देशकको रुपमा काम गर्दै हुनुहुन्छ ।
आफ्नो कलाकारीता यात्रा बारे घिमिरे भन्नुहुन्छ,‘मेरो कलाकारीता रंगमञ्चबाट सुरु भयो । रंगमञ्च भित्र पनि सडक नाटक, स्टेज नाटक हुँदै चलचित्र सम्बन्धि अध्ययन गर्न थालें। त्यसपछि चलचित्र निर्देशन सम्बन्धि अध्ययन गरे । विभिन्न अन्तर्राष्ट्रिय कार्यशालाहरुमा भाग लिने गर्थें । मैंले निर्देशन सम्बन्धि ३ महिनाको तालिम मुम्बईमा गएर गरें । रंगमञ्च, टेलिशृङ्खला हुँदै अहिले चलचित्र निर्देशनको क्षेत्रमा छु ।’
चलचित्र निर्देशनको काम
घिमिरेले २०५५ सालदेखि पारिश्रमिक नै लिएर काम सुरु गर्नुभयो । ‘मैंले आफ्नो लागि मात्रै सिनेमा लेख्ने काम गर्छु । आफुले निर्देशन गर्ने चलचित्रको लागि आफैंलेअध्ययन अनुसन्धान गर्ने गर्छु । मैंले अरु निर्देशकको लागि चलचित्रको लेख्ने र बेच्ने काम गर्दिन । हुर्र हा हा भन्ने डमी नेपाल टेलिभिजनमा प्रस्तुत गरिन्थ्यो । यो टेलिशृङ्खलाबाट २०५६ सालमा टेलिभिजन कलाकारको रुपमा काम गरेको हो ।
त्यस्तै २०५७ सालदेखि सहायक निर्देशकको रुपमा चलचित्रमा काम गर्न सुरु गरें । सहायक निर्देशक हुँदै निर्देशकको रुपमा डेब्यू गरेको पहिलो चलचित्र ‘को हुँ म’ हो । यो चलचित्रको लेखन पनि मैंले नै गरेको हो । यो चलचित्रको निर्माण शुभेच्छा थापाले गर्नुभएको हो । यो चलचित्रमा उहाँकै जीवन संघर्षको कथाहरुलाई फिल्मको रुप दिएर लेखेर निर्देशन गरेको हो । उहाँले मेरो लगनशीलता र मेहनत देखेर पहिलो फिल्म निर्देशन गर्ने जिम्मा दिनुभयो । यो फिल्ममा मैंले २ सिन गरेको छु । म रंगकर्मबाट आएको भएर प्राय आफुले बनाएका चलचित्रहरुमा सानो अभिनय गरेको छु ।’
निर्देशन, लेखन र अभिनय
घिमिरेले लेखन, निर्देशन तथा अभिनय गर्नुभएको छ । उहाँले को हुँ म, सुट, जन्मभुमि, मन परे पछि, तृषा, राउडी जङ्गे लगायतमा काम गरिसक्नु भएको छ । यो कलाकारीता क्षेत्रमा लाग्न आफ्नै बुबा आमा मुख्य प्रेरणाको स्रोत रहेको घिमिरे बताउनुहुन्छ । ‘यो चलचित्र निर्देशन क्षेत्रमा धेरै अध्ययन, अनुसन्धान गरेको छु ।
सहायक निर्देशकको रुपमा धेरै काम गरें। अध्ययन गरेर मात्रै कसैले विश्वास गर्ने वातावरण नहुने रहेछ । त्यसैले सहायक निर्देशक हुँदै अन्य विभिन्न कार्यक्रम गर्न थालें । हरेक कुराको लागि संघर्ष गर्नु आवश्यक छ । धेरै संघर्ष गरेपछि नै निर्देशक भएर काम गर्दैछु ।’ उहाँ भन्नुहुन्छ,‘सबै परिवारको सदस्यले मेरो कामको सम्मान गर्ने र मलाई साथ दिने गर्नुहुन्छ । त्यसैले म यो क्षेत्र र आफ्नो काममा खुसी र सन्तुष्ट नै छु । यो क्षेत्रमा म आफ्नो रुचिले स्वतन्त्र रुपमा काम गर्दैछु । कुनै पनि बन्धन छैन । अनि कुनै पनि काम बन्धनमा गर्न सकिंदैन ।’
घिमिरेले मुख्य सहायक निर्देशकको रुपमा काम गरेको चलचित्र २० वटा भन्दा धेरै छन् । आफैं निर्देशकको रुपमा काम गरेको ५ वटा र लेखन गरेका २ वटा चलचित्र छन् । कलाकारको रुपमा अभिनय गरेका टेलिशृङ्खला धेरै छन् । र चलचित्र १७ वटा जतिमा अभिनय गरेको उहाँ बताउनुहुन्छ । उहाँको अभिनय कमेडी बेसमा हो ।
अध्ययन आवश्यक
यो क्षेत्रमा आउन चाहनेलाई राम्रोसंग अध्ययन गरेर आउन उहाँको सुझाव छ । समय अनुसार आफुलाई अपडेट गर्न आवश्यक रहेकोमा घिमिरेको जोड छ । ‘यहाँ समय, परिस्थिति अनुसार आफुले आफैंलाई अपडेट गर्नुपर्छ । नेपालमा पनि चलचित्र अध्ययन हुन्छ । यो क्षेत्र भित्र पनि कुन पढ्ने भनेर रोजेर अध्ययन गर्न सकिन्छ । अहिले त झन् यूटुबबाट पनि यो क्षेत्रको धेरै कुरा जान्न सकिन्छ । समय अनुसार सबै कुरा डिजिट्लाईजेसन भैरहेको छ । त्यसमा चलचित्र क्षेत्र अछुतो रहन सक्दैन ।
चलचित्रमा पनि डिजिट्लाईजेसन भैरहेको छ । हिजो हामी एनालकमा काम गथ्यौ । नेगेटिभमा चलचित्र खिच्थौँ । अहिले डिजिटल भएको छ । अब हातहातमा मोबाईलबाटै नयाँ नयाँ सिनेमा हेर्न सक्ने दिन आइसकेका छन् । यसैगरि समय अनुसार हामी सिनेमा क्षेत्रमा लाग्न चाहनेले आफुलाई अपडेट राख्नुपर्छ । यो क्षेत्रमा बुझेर, अध्ययन गरेर लाग्दा भविष्य राम्रो छ ।












