महेश तुलाधर : मुर्तिकलाबाटै काम, दाम र नाम कमाउन सफल व्यक्तित्व

  • 856
  •  
  •  
  •  
  •  
  •  
  •  
    856
    Shares

सरोज कार्की

महेश तुलाधर हस्तकलाको क्षेत्रमा अब्बल हुनुहुन्छ । उहाँ काठमाडौँको इतुम्बहालमा २०२५ सालमा जन्मिनुभएको हो । तुलाधारले काठमाण्डौको लगनमा आफ्नो बाल्यकाल बिताउनुभयो । अहिले बाफलबाट केहि मिटर भित्र सोल्टी दोबाटो रामकोट जाने बाटोमा उहाँ सहित उहाँको छोरा, छोरी र श्रीमती गरेर ४ परिवार हुनुहुन्छ ।

उहाँ मुर्ति, शालिक, प्रतिमा साथै भित्ते चित्र र स्केच् जस्ता विभिन्न हस्तकलामा प्रख्यात हुनुहुन्छ । उहाँले पद्मरत्न तुलाधरको प्रतिमादेखि गणेशमान सिंह, शुक्रराज शास्त्री लगायत ४ सहिद र महाकवी लक्ष्मीप्रसाद देवकोटाको शालिक बनाउनुभएको छ । उहाँले आफ्नो कला यी प्रतिमा र शालिकमा झल्काउनुभएको छ ।

परिवारको सहयोग र कलामा लगाव

तुलाधरको परिवारमा सबै जनाको कला क्षेत्रमा रुचि रहेको छ । परिवार र कामदारले उहाँलाई मद्दत गर्छन । छोरा रोमित तुलाधर आर्ट सम्बन्धि अध्यन गर्दै हुनुहुन्छ । कला क्षेत्रको महत्व र रुचि नयाँ पुस्तामा उत्तिकै कायम राख्न र २ पुर्खाबाट सुरु भएको व्यवसाय छोरा र नयाँ पुस्तालाई सुम्पिन मुख्य भूमिका खेल्दै हुनुहुन्छ ।

उहाँको हजुरबुवा (रत्नबहादुर तुलाधार) र बुवा (बालकृष्ण तुलाधार) द्वारा सिंहदरबार र सहिद गेट जस्ता विभिन्न स्थानमा ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व झल्काउने हाम्रा बिर पुर्खाहरुको शालिक र मुर्तिहरु साथै स्वर्गिय रानी ऐश्वर्या, सैनिक मञ्चमा भएको सैनिकको शालिक, जाउलाखेल स्थित राजा विरेन्द्रको शालिक साथै अन्य विभिन्न शालिक र मुर्ति र प्रतिमाहरु बनाउनुभएको छ ।

काम, नाम र दाम

कला क्षेत्रमा योगदान दिएका तुलाधर आफ्नो कलाको कारण कटुन्जे भक्तपुर, साँखु जस्ता धेरै ठाउँमा धेरै पटक सम्मानित हुनुभएको छ । उहाँले बनाउनुभएको ४ शहिदको शालिकलाई समेटेर कान्तिपुरले ४ शहिदको ५ मुर्ति आर्टिकल र नेपाल मण्डल टेलिभिजनले उहाँको कलालाई सम्मानित गरेको छ ।

‘बुवाले मुर्तिहरु बनाउने भएकाले सानो उमेरदेखि नै बुवासँग बसेर कहिले कुकुर, बिरालो र कहिले मानिसहरुको मुर्ति बनाउन सिके ।’ उहाँ भन्नुहुन्छ,‘मलाई थाहा पनि थिएन यो कलाप्रति जोडिएर यसरी कलाकारको रुपमा चिनिन्छु ।’ करिब २५ वर्ष अगाडि अरनिकोको मुर्ति बनाउँदा तुलाधर मूर्तिकार भनेर चिनिनुभयो । साथै धेरै ठाउँमा गणेशमानको शालिक बनाउने कलाकारको रुपमा पनि चिनिनुहुन्छ ।

साथै रामेछापमा लक्ष्मीप्रसाद देवकोटा, वसन्तपुर स्थित महादेवको मुर्ति र अन्य देशको विभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाउनुभएको छ । ‘यी मुर्ति अथवा शालिक बनाउन पहेंलो माटो, मौरीको चाकाबाट बनेको मैन, साल धुप, पित्तल, तामा आदि चाहिन्छ ।’ तुलाधर भन्नुहुन्छ,‘मेरो घर र परिवार राम्रोसंग चलिरहेको छ ।’

कलाको महत्व

तुलाधर भन्नुहुन्छ,‘यसलाई व्यवसाय नभई कला र रुचिको रुपमा लिएको छु । अरुको देशमा गएर मजदुरी र पसिना बगाएर मेहेनत गर्नु भन्दा आफ्नो देशमा २ पैसा कमाएर आफ्नो देशको कला, संस्कारलाई अरुको देशमा झल्काउन जरुरी छ ।

अब नयाँ पुस्ताको दायित्व हो । सरकारले पनि यस कला र कलाकारको महत्व बुझ्नुपर्छ । मेसिनले बनाएको चिजको मात्र मुल्य देखिन्छ । सरकारले हामी जस्ता धेरै कलाकारको कलालाई सम्मान गर्न चुकेको छ । आउँदो पुस्ताका लागि पनि हस्तकलाको महत्व बुझाउन जरुरी छ ।

अनि हाम्रो देशको संस्कार र कलालाई जोगाउनु हामी सबैको दायित्व हो ।’


  • 856
  •  
  •  
  •  
  •  
  •  
  •  
    856
    Shares