गंगाराम बस्नेत
मौसम परिर्वतन हुँदै गर्दा कोरोना संक्रमण को थप जोखिम बढेको छ । त्यससँगै दशैंतिहार जस्ता मुख्य चाडपर्व नजिकै आइसकेका छन् । चहलपहल समेत बढ्दो छ । काठमाण्डौको कागेश्वरी मनोहरामा कोरोना संक्रमण, जोखिम र कोरोना संक्रमितको उपचामा भैरहेका गतिविधि तथा समग्र नगरपालिकाको विकास निर्माणका कामबारे आम चासो छ । यहि चासोलाई मध्यनजर गरी गंगाराम बस्नेतले कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापासँग समसामयिक विषयमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, मेयर कृष्णहरि थापासँगको कुराकानीको सारसंक्षेप :
कोरोना महामारीको यो बेलामा कागेश्वरी मनोहरा नगरपालिकाले के कसरी काम गर्दै आएको छ ?
संघ सरकार सहित प्रदेश र पालिका एकजुट भएर कोरोना विरुद्ध लड्न थालेको झण्डै ८ महिना पुग्न लाग्यो । हामीले सुरुमा स्कुलका विद्यार्थी, महिला समूह, आमा समूहलाई कोरोना भाइरस र यसको संक्रमणबारे सचेत गरायौं । प्रचार प्रसार गर्यौ । त्यसपछि २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गर्यो ।
त्यसपछि कागेश्वरी मनोहरा नगरपालिकामा आरडीटी टेस्ट गर्न थाल्यौ । नगरपालिका भित्र कोरोना संक्रमित देखिन थालिसकेका थिए । हामीले व्यवस्थापनका काम पनि विस्तारै बढाउँदै गयौ । कोरोना रोकथाम तथा नियन्त्रणका काम अहिले पनि हुँदै आएका छन् ।
नगरपालिका भित्र कोरोना संक्रमित देखिन थालेपछि के कसरी काम थाल्नुभयो ?
गएको चैत ५ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा एउटै परिवारमा तीन जना अमेरिकाबाट आउनु भएको थियो । उहाँहरु २ जनाको कोरोना पोजेटिभ आयो । बागमती प्रदेशमा सबै भन्दा संक्रमित हाम्रै नगरपालिकाभित्र पहिचान भएको हो । लगत्तै बैशाख १ गतेदेखि हामीले आरडीटी परिक्षण सुरु गर्यौ । त्यसमा पनि एउटै परिवारको तीन जनाको पोजेटिभ देखियो । लकडाउन लगत्तै चैत्र १२ गते देखि मुलपानी नगर हस्पिटललाई २४ घण्टा संचालन गर्यौं । त्यसबेला देखि निरन्तर रुपमा संचालन गरिरहेका छौँ ।
काठमाण्डौका ठुला ठुला हस्पिटलले पनि ज्वरो आएका बिरामी नजाँच्ने बेलामा कागेश्वरी मनोहरा नगरपालीकाले चाहिँ पीपीइसेट लगाएर नै बिरामी चेक गरिरहेको थियो । अहिले हामीले नगर अस्पताललाई कोभिड हस्पिटल नै बनाएका छौँ । हाम्रो नगरपालिकाको दुई ठाउँ आलापोट २ नम्बर वडामा रहेको आलापोट स्वास्थ्य केन्द्रबाट पनि आवश्यकता अनुसार पीसीआर परिक्षण गर्छौं र त्यहाँ पनि हामीले आइसोलेसन रुमहरु बनाएका छौ । मुलपानीमा हप्ताको दुई पटक आरडीटी परिक्षण हुन्थ्यो जुन अहिले पूर्ण बन्द छ ।
संंक्रमित पहिचान र उपचारका लागि के के गर्नुभएको छ ?
नगरपालिकाभित्र सोमबार र शुक्रबार दुई दिन जाँच गर्छौ । अहिलेसम्मम पाँच हजार चानचुन स्वाब कलेक्सन गरिसक्यौं । सरकारले गएको भदौ अन्तिम हप्ता एन्टिजोन प्रविधि संचालन गर्ने निर्णय गर्यो र हामीले कागेश्वरी मनोहरा नगरपालिकामा भाद्र ३१ गते प्रयोग गर्यौं । यो प्रविधिबाट दुई हजार रुपैयाँ हामीले लिन्छौं । किनभने त्यसको किट कै अठार सय र भ्याट सहित गरेर दुई हजार चौंतीस रुपैयाँ पर्छ ।
अरु खर्च हामीले जोडेका छैनौँ । यसबाट आधा घण्टामा नै रिपोर्ट आउँछ । अहिले हामी कहाँ पीसीआर चेक गर्न तारकेश्वरदेखि पनि आउँछन् । संक्रमितका लागि भनेर सय बेड सम्मको आइसोलेसन र त्यहाँ बस्नेलाई खान बस्न सबै निशुल्क गरेका छौँ । उहाँहरुलाई चाहिने औषधि पनि निशुल्क गरेका छौँ । अहिले हामी कहाँ झन्डै झन्डै ६ सय जना संक्रमित देखिएका छन् ।
कोरोना थप फैलन नदिन के गर्दै हुनुहुन्छ ?
एउटा राम्रो पाटो चाहिं के छ भने ६ सय जनामा तीन सय भन्दा बढी संक्रमित निको भैसक्नु भएको छ । होम आइसोलेसन भएर सजिलो पनि भएको छ । हामीले राख्न बेड संख्या कम छ । शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, काठमाण्डौ महानगरको ६ नम्बर वडा, २५ नम्बर वडाबाट पनि आउनुहुन्छ । त्यस्तै अर्को पाटो चाहिं एम्बुलेन्स हामीले चलाएका छौँ । कोभिड लागेकालाई एम्बुलेन्सले नै बोक्छ ।
अस्पतालबाट अन्त कतै जान परे ५ सय रुपैयाँ प्रतिव्यक्ति लिने गरेका छौ । कसैलाई निशुल्क रुपमा पनि बोक्ने गरेको छ । यो संक्रमितको उपचार व्यवस्थाको पाटो भयो । संक्रमण थप फैलन नदिन, संक्रमित भैहाले आइसोलेसनमा बस्न तथा सुरक्षित हुनेगरी एउटा घर पनि लिएर व्यवस्थापन गर्दै आएका छौ । मैले दिनहुँ कोरोना संक्रमितलाई फोन गरिरहेको हुन्छु । कोरोना रोगको रोकथाम तथा नियन्त्रणमा हाम्रो स्वास्थ्य शाखा एक्टिभ्ली लागेको छ । सबै कुराको रेकर्ड राख्ने, रिपोटिंग गर्ने, प्रचार प्रसार गर्ने गरिरहेका छौ ।
यो नै पर्याप्त हो या अरु के गर्न सकिन्छ ?
अब कोभिड र नन कोभिड गरी अस्पताललाई डेडिकेटेड र ओपीडी चलाउने उदेश्य छ । किनभने रोगको संक्रमण बढ्दै जाने भयो । नगरपालिका भित्र भिडभाड कम गर्न कात्तिक १ शनिबारदेखि १५ गतेसम्म दशैंमा सरकारी अफिस सबै बन्द गर्ने, ब्यापार व्यवसाय चाहिँ बन्द नगर्ने किन भने चाडवाडको बेला छ । सरकारले पनि यसै उपायलाई कार्यान्वयन गरे संक्रमण केहि कम होला भन्ने आशा छ ।
बिचमा विद्यालय पनि खोल्नुभयो ? जोखिमलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
संक्रमण नघटे पनि हामीले बिचमा विद्यालय सञ्चालन गर्यौ । संक्रमण बढीसकेपछि वैकल्पिक सिकाइ माध्यमबाट पनि सिकाइ गर्नु भनेर अनुरोध गर्दै आएका छौँ । अस्ति भर्खर पनि शिक्षामन्त्रीसँग पनि कुराकानी भयो । बच्चाहरु स्कुल नपठाउँदैमा बालबालिका घरमा बस्ने हैनन्, झन् बाहिर खेल्न जाने, पौडी खेल्न जाने त्यसले गर्दा असर चाहिं हामीले देखेका छौं । स्कुल चलाएर सुरक्षित नहुने देखिए बरु सुरक्षाको मापदण्ड पालना गरेर घरबाट स्कुल पठाउने, स्कुलले पनि त्यहाँ स्वास्थ्यको मापदण्ड पुरा गर्ने त्यो हामी सबैले गर्या छौँ ।
अब पनि स्कुल खुल्छन् ?
अब विद्यालय खोल्नेबारे जोखिम आँकलन गरेर निर्णय लिने हो । निजी विद्यालयले विद्यार्थीसँग अतिरिक्त शुल्क लिन सक्ने, सेनीटाइजर प्रयोग गर्ने, मास्क वितरण गर्ने, कोभिडको बारेमा पढाउने, जोर बिजोरबार गरेर सिफ्टमा पढाउने, कुनै विद्यालयमा धेरै विद्यार्थी छन् भने एक दिन पढाएर दुई दिन गृहकार्य दिए पनि भयो । अब हामीले ११ गते देखि २५ गते सम्म पहिलो चरणको भन्या थियौं तर २२/२३ गते नै रोक्यौँ ।
बिस्तारै स्वास्थ्य मापदण्ड अपनाएर सबै काम गर्नुपर्छ भन्ने हाम्रो जोड हो । हुन त मान्छेहरु हिँडेकै छन् । कतिपयले मास्क नै प्रयोग नगरी हिँडेको देखिन्छ । मास्कमा पनि क्वालिटीको कुरा आउछ । सेनिटाइजर पनि डुब्लीकेट आएको भन्ने छ । अब अलिकति केहि व्यवस्थित गरेर चल्नु छ । चल्नु पनि पर्छ ।
जनचेतनाको पाटोमा के भैरहेको छ ?
जनचेतनाको लागि हामीले १ सय १८ जना महिला स्वयंसेविकाहरुलाई हामीले परिचालन गरेका छौँ । अस्ति पनि हामीले तीन हुल भएर भेला गरेर प्रशिक्षण गरेका छौँ । आफ्नो छिमेकमा, टोलमा परामर्श गर्ने र अर्को कुरा स्वास्थ्य साबधानी अपनाउनेछ । बैशाखमा सनसिटीमा शिल्ड नै गरेको थिएँ । अहिले कन्ट्याक्ट ट्रेसिङ्ग गर्न थालिएको छ । स्थानिय जनप्रतिनिधि प्रत्येक वडामा पाँच/पाँच जना हुनुहुन्छ । स्वास्थ्य शाखा नौ वटै वडामा छ यसरी प्रचार प्रसार पुगेको छ ।
मानिसले ज्यान गुमाउने अवस्था पनि छ नी ?
मान्छे कोभिडले भन्दा पनि डिप्रेसनले सु–साइड गरेर मरिरहेका धेरैजसो सुनिन्छ । कागेश्वरीमा ६ जनाको ज्यान गएकोमा कोहि दमको रोगी, कोहि मुटुको रोगी, दिर्घरोगी भएको पाइएको छ । हस्पिटलमा २७ जना हुनुहुन्छ, उहाँहरुलाई मैले सोध्दा ठिक छ भन्नुभएको छ । संक्रमण भैहाले हामिले उहाँहरुलाई काउसिलिङ्ग गर्छौ । स्वास्थ शाखा पनि छदैंछ ।
उहाँहरुलाई काउसिलिङ्ग गर्दा यदि तपाईहरुलाई गाह्रो भयो भने भेन्टिलेटर हस्पिटल चाहियो भन्ने हामिलाई सम्पर्क गर्नु भनेका छौ । अर्को हाम्रो राम्रो पक्ष हामीले १५ वटा अक्सिजन सिलिण्डर स्ट्याण्डबाई राखेका छौँ । अक्सिजन किनभने हस्पिटलमा भेन्टिलेटर सुबिधा छैन । हस्पिटललाई व्यवस्थित चलाउ भनेर लागिरहेका छौँ ।
हाम्रो हस्पिटल एउटा नगरले चलाएको हस्पिटल हो । अन्त जस्तो अस्पताल सुविधा छैन । प्रदेश सरकारमा हेर्ने हो भने कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं जिल्लाको ११ वटा नगरपालिकामध्ये एउटा मात्रै नगर हस्पिटल नभएको नगरपालिका हाम्रै होला । अरु ठाउँमा अरु अस्पताल पनि छन् ।
कोरोनापछि अब विकास निर्माणतर्फ लागौं, व्यवस्थित बस्तीको काम के भैरहेको छ ?
प्रदेश सरकार र संघीय सरकारलाई जडिबुटीदेखि जोरपाटीपुर्व पुर्वी काठमाडौ भनेर बिकास गर्नुपर्छ भनेर लागेका छौँ । २८ हजार रोपनी जग्गा पुर्वी काठमाडौ भनेर दर्ता पनि गरिसकेका छौँ । अख्तियार आएर अफिस पनि सुरु भैसक्यो । व्यवस्थित बस्ती बसाल्नुपर्छ, त्यो २८ हजार रोपनीमा तीन वटा नगरपालिका मिलेर काम गर्दैछौँ ।
जसमा गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडा १, २, ४ कागेश्वरीको १, २, ३, ४ र संखरापुरको ९ वडा गरी जम्मा आठ वटा वडामा व्यवस्थित गर्दैछौ । यसमा बाग्मती फाँट पनि पर्छ । सरकारले १ लाख रोपनीमा जनप्रतिनिधि निर्वाचित भएर आउनु अगाडि नै डीपीआर भैसक्यो भनेर रोकेको छ । त्यो १ लाख रोपनीमा व्यवस्थित गरेमा पुर्बी सहर हुन्छ । ग्रामीण परिवेशबाट झन्डै ६ वटा गाबिस मिलेर बनेको नगरपालिकामा न दमकल जान्छ न एम्बुलेन्स जान्छ ।
यस्तो खालको बस्ती बसेर त भएन नी । काठमाण्डौ, भक्तपुर, ललितपुर नगरपालिका जस्तो हामी होईन । २०७१ मंसिर १६ गते घोषणा भएको नगरपालिकामा हामी फाउन्डेसन राम्रो बनाउँछौँ । विकास निर्माणमा यो प्रत्यक्ष जनतासंग सरोकार राख्ने स्थानिय सरकार हो ।
टोल टोलमा मेयर कार्यक्रम र सक्रियता कत्तिको प्रभावकारी भएको छ ?
पहिले टोल टोलमा मेयर भनेर १ गते १ वडा, २ गते २ नम्बर वडामा जाने गरी क्रमशः ९ गतेसम्म ९ वटा वडा जाने गथ्र्यौं । यसले गर्दा सबैभन्दा फाईदा नगर प्रमुखलाई भएको छ । यसले गर्दा त्यहाँको सम्पुर्ण जानकारी हुने बिकास निर्माणको कुरा अनुगमन गर्न पाउने र अर्को गुनासो आउने ।
अनि चुनाव आएपछि मात्रै घरमा आउँछन् भन्ने कुरालाई मेट्न खोजेको हो । यसरी सबै वडाका प्रतिनिधि, सदस्यहरुलाई पनि भेट्ने गर्छौ । जनप्रतिनिधिहरु पनि राम्रो नै पाएको छु । वडाअध्यक्ष, सदस्य सबै सक्रिय भएर आफ्नो काम गर्नुहुन्छ । सबैजना मिलेर काम गरेका छौँ । कोभिडले केहि प्रभाव परेको छ ।
अरु कामहरु के भैरहेका छन् ?
गत सालको ६१ करोडको फरवार्ड छ । हाम्रो योजना पनि फरवार्ड छ । सम्झौता भएर काम गर्दा ५/६ महिना लाग्छ । सडक विकास भैरहेको छ । खानेपानी एक घर एक धारा छ । अरु निर्माणका काम भैरहेका छन् । कागेश्वरी चक्रपथ पनि हामी आफैले सुरु गरेका छौँ । अहिले यो १५ बर्ष जुन स्थानीय तह भ्याकुम रह्रयो ।
त्यसले गर्दा पनि बिकासमा धेरै पछाडी पर्यो । किनभने म चाहिँ २०५४ सालको पनि गाउँ बिकास समितिको अध्यक्ष हो । गाबिस र स्थानीय सरकार चलाउंदा धेरै फरक छ । किनभने यो स्थानीय सरकार भएको धेरै राम्रो छ । स्थानीय जनताले तिरेको कर आफ्नै ठाउँमा खर्च हुन्छ ।
अहिले हाम्रै नगरपालिकामा १४ करोड कर उठाएका छौं । त्यो कर यहि नै लागु हुन्छ । हामी विकास निर्माण, सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, विद्युत्, कृषि लगाएतका क्षेत्रमा लागिरहेका छौ ।










