अजय खत्री
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा गोक्ते काजी र धतुरे सहितका कलाकारले जनचेतनामूलक कार्यक्रम गरेका छन् । कोरोना सङक्रमण रोकथाम तथा न्युनिकरणका लागि हाँस्यकलाकार द्धय रामचन्द्र अधिकारी ‘गोक्ते काजी’ र सिपी पुडासैनी ‘धतुरे’का साथै अरु कलाकारहरुको साथमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
जनचेतनामूलक कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा आयोजना भएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १ देखि ९ सम्म प्रत्येक वडामा प्रत्येक दिन घरदैलो कार्यक्रम मार्फत् कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा कोरोना संक्रमण जोखिमबाट जोगिन भिडभाड नगर्न, सरकारबाट जारी स्वास्थ सुरक्षाका उपायहरु अपनाउन, माक्स, स्यानिटाईजर प्रयोग गर्न र आवश्यता बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै जनचेतना जगाउने काम गरीएको कार्यक्रम संचालन गरिरहेका रामचन्द्र अधिकारी ‘काजी बा’ ले जानकारी दिनुभयो ।
सरकारले गरेको लकडाउन हटेपछिको अवस्थामा कोरोना संक्रमणको सम्भावना झनै बढ्दै गएकाले आफ्ना कारणले घरका वृद्धवृद्धा, बालबालिकालाई असर पर्ने भएकाले संयमित भएर काम नपरी घरबाट बाहिर ननिस्कन सुझाव सहितको घरदैलो कार्यक्रम गरिएको थियो । जनचेतना अभिबृद्धि गर्ने कार्यक्रममा हाँस्यकलाकार सिपी पुडासैनि, संगितकार मणिराम काफ्ले, श्रीराम रायमाझी लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका लागि कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक लगाएत सम्पुर्ण सहयोग गरेको अधिकारीले जानकारी दिनुभयो ।
उहाँले जन्मथलो कागेश्वरीमा नै कार्यक्रम संचालन गरेकोमा धेरैको साथ सहयोग र माया पाएको र कलाकारको टोली पनि खुसि रहेको बताउनुभयो । कोरोना महामारीको समयमा आफ्नो महत्वपूर्ण समय दिने स्वास्थ्यकर्मी, सुरक्षा निकायमा कार्यरत कर्मचारी लगायत सम्पूर्णलाई विशेष धन्यवाद दिदै संक्रमितहरुको स्वास्थ्य लाभको पनि कामना गर्नुभयो ।











