Ad #144479

२४ पुष, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट ‘जीएसए’नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन-जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।

इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ ।

यसैबीच, याे सीधा उडानबाट नेपाली यात्रु र विद्यार्थी पनि लाभान्वित हुने भएका छन् ।  पछिल्लो समय इन्डोनेसिया नेपाली आउटवाउन्ड पर्यटकका लागि आकर्षक गन्तब्य हो ।  काठमाडौं-जाकार्ता उडानले नेपाली र इन्डोनेसियाबाट नेपाल आउने दुबै गन्तब्यका यात्रु लाभान्वित हुने सर्भिसकी सञ्चालन विभाग प्रमुख रौनियारले बताइन् ।

उनका अनुसार यसबाहेक नेपालबाट जापान र अष्टे्रलिया जाने र त्यहाँबाट र्फकने यात्रुले समेत सेवा पाउने छन् । काठमाडौंबाट ती दुई मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने योजना समेत बनाएको छ । जापानमा नेपालबाट नेपाल वायुसेवा निगमले सिधा उडान गरिरहेको छ । इन्डोनेसियाले नेपाली यात्रुका लागि अनअराइभल भिसा सुविधा समेत दिएको छ ।