कागेश्वरी विशेष/ सरोज कार्की
३० मंसिर, काठमाडौं । देख्दा–सुन्दा पनि सरम लाग्ने कुरा हो– कृषिप्रधान देशमा चल्तीका थोरै नगदेबालीमध्येको एक उखु । यहि उखु बेचेकै मोल उठाउन पनि किसानहरू निरन्तर आन्दोलित हुनुपर्छ । तैपनि समस्या समाधान भइहाल्दैन । पेसाको स्तरोन्नति, बजार प्रवर्द्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि उठेको छैन ।
विभिन्न सातवटा चिनी उद्योगबाट २० हजारभन्दा धेरै किसानले ८९ करोड रुपैयाँ पाउन बाँकी छ । उखु बिक्रीबापतको रकम चिनी मिलले नदिएपछि सर्लाहीका किसानले काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन । उखु किसान संघर्ष समिति सर्लाहीको नेतृत्वमा आइतबार दिउँसादेखि माइतीघर मण्डलमा किसानले आन्दोलन सुरु गरेका हुन ।
आफ्ना समस्याप्रति चिनी उद्योगीहरूको व्यवहार मात्र होइन, सरकारको रवैया पनि सधैं चिसो मात्रै भइरहेपछि मधेसका उखु किसानहरू चढ्दो ठिहीको समेत पर्वाह नगरी फेरि काठमाडौं उक्लिएका छन । उखुको भुक्तानी नपाएपछि काठमाडौं आएका सर्लाहीका किसानले नागरिकता र उखु बेचे बापत लिनु पर्ने रकमको बिल देखाउँदै आन्दोलनको तेस्रो दिन मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिनी उद्योगीहरूले उद्योगमन्त्री लेखराज भट्टसँग माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका थिए । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका थिए । तेस्रो दिनको आन्दोलनमा उत्रिएका उखु किसानले उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागीले आफूहरु सक्कली किसान भएको प्रमाणका लागि बिल र नागरिकता प्रदर्शन गरेका थिए । किसान आन्दोलनमा कांग्रेस, समाजवादी पार्टी, विवेकशील साझा र स्वतन्त्र युवाहरुले समथ साथ दिएका थिए ।
किसान अजय कुमार पाण्डे
यसैबीच, सर्लाही रामनगरका ५० बर्षिय किसान अजय कुमार पाण्डे कागेश्वरी डटकमसँग कुराकानी गर्दै भन्छन्, म मुटुको ( रगत संचलान , मुटु पम्प राम्ररी नहुने ) समस्याको कारण काठमाडौँ पहिला जचाउन आएर फेरी गाउ फर्केको थिए र फेरी जचाउन आएको ५ दिन भयो र डाक्टरले मुटुको शल्यक्रिया गर्नको लागि १७ लाख लाग्छ भन्नु भएको छ । त्यसको लागी म यस कारण अहिले कवाडी संकलन काम गर्ने गाउँको साथीसंग कोठामा बसेको छु । र गाउँबाट लिएर आएको पैसा पनि सकिएको कारण अब गाशालाको धर्म शालामा ( जहा सबै पिडित किसान बसेका छन् ) बस्ने सोच गरेको छु । अहिले सम्म त आफ्नो कमाएर खाने खेत, बारी बेचेर जाच गरिरहेको थिए ।
उखु रोप्न ( बिउ , मल सभ समेटेर रोप्ने देखि जोत्ने ) १ बिघामा ६० देखि ७० हजार खर्च हुन्छ र तेही उखु बेचेर आएको कमाईले तिर्ने विचार थियो र पहिला नि त्यसरी तिर्थे । मेरो पनि अन्नपूर्ण मिलसंग ४ लाख ( ७४ साल ) , देखिको लिनु छ । अब जहिले सम्म पसिना बगेको पैसा ( वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक ) राकेश कुमार अग्रवाल ज्यु ले दिनु हुन्न , प्राण नगए सम्म यहि बस्छु । साहु र श्रीमतीलाई यही भनेर आएको छु । मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ ।
पिडित किसान रामेश्वर चौधरी
यस्तै अर्का सर्लाही रामनगरकै पिडित किसान रामेश्वर चौधरी भन्छन्, घर चलाउन उखुबाट आउने आम्दानीमा निर्भर थिए । तर घरमा श्रीमतीको जांच गर्न पैसा छैन । झन् उखु व्यवसायको लागि लिएको ऋणको ब्याजले पिडलेको छ । नत सरकरले बुझ्यो नत उखु उद्योगीले नै बुझ्यो । अन्नपूर्ण मिल नजिकको भएर, त्यस मिललाई पहिले बाट नै उखु दिने गरे र पहिला पनि भुक्तानी नदिएको कारण आन्दोलन गरेको गर्दा , आजबाट येसरी पैसा रोकिन्न भनेर सम्झौतको विश्वासले त्यहि मिललाई दिए र फेरी भुक्तानी रकम नपाएको कारण, उखु खेति गर्न, श्रीमतीको जांच र छोरा ( छोरीको पढाईको लागी लिएको ऋणको ब्याज ३ गुना बढ्यो। अहिले एक छाक पेट भर्न , पनि धाउ–धाउ भएको छ ।
काठमाडौं आएको ३ दिन भयो र मेरो पनि अन्नपुर्ण सुगर मिल सँग १ लाख ( २०७४–२०७५ साल ) लिनु छ । पहिला सिछ्यक थिए र रिटायर भएको कारण घर चलाउन उखु उत्पादन गर्न बाध्य भए। बाच्ने आस गरेर उखु उत्पादन गरी तर व्यहि व्यवसायले ज्यान लिन थाल्यो । सरकार र चिनी उद्योगपतिले हामी किसानको आसुसँग खेलिरको छ । जबसम्म पैसा भुक्तानी हुँदैन तब सम्म काठमाडौँ छोडेर जादिन । कृषिप्रधान मानिएको देशका किसान उखुको भुक्तानी माग्न चिसो झेल्दै उनीहरू संघीय राजधानी काठमाडौं आएका छन ।
किसानको ९० करोड बक्यौता
मुलुकभरमै सबैभन्दा बढी उखु खेती सर्लाहीमा हुन्छ । त्यसैले सर्लाहीकै किसान आन्दोलनको अग्रपंक्तिमा छन । संघर्ष समितिका अनुसार देशभरका किसानको करिब ९० करोड रुपैयाँ बक्यौता छ । अन्नपूर्ण र महालक्ष्मी सुगर मिलमा मात्रै सर्लाहीका किसानको ३६ करोड रुपैयाँ बक्यौता छ । यस्तै, गत वर्षदेखि बन्द रहेको रौतहटको अन्नपूर्ण सुगर मिलबाट ३० करोड रुपैयाँ उठाउन बाँकी छ । यस्तै नवलपरासीको लुम्बिनी चिनी मिलबाट १० करोड, इन्दिरा सुगर मिलबाट आठ करोड र बागमती खाँडसरी चिनी मिलबाट ४० लाख रुपैयाँ किसानले पाउन बाँकी छ ।
सरकारी तथ्यांक भने ६९ करोड
सरकारी तथ्यांकले भने ६९ करोड रुपैयाँ मात्र बक्यौता रहेको देखाएको छ । उखु किसानले भुक्तानी नपाएको गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलका सञ्चालकलाई बोलाएर ८ मंसिरमा छलफल गरेको थियो । त्यस छलफलमा ६९ करोड मात्र भुक्तानी दिन बाँकी देखिएको मन्त्रालयको दाबी छ । लुम्बिनी चिनी मिलले आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलले चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलले २९ करोड २० लाख र श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयको छ ।












