Ad #144479

२८ मंसिर, काठमाडौं । चिनी मिलहरुबाट भुक्तानी नपाएपछि ​सर्लाहीका उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखुको भुक्तानी नपाएपछि बाध्य भएर सर्लाहीका किसान काठमाडौं आएका हुन।

बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान हिजो राती काठमाडौं आइसकेका र केही आज आउँने भएका छन् ।

गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए । तर सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानले बताए ।

आन्दोलनको अगुवाइ उखु किसान संघर्ष समिति सर्लाहीले गरेको पनि मिश्रले बताए । माइतीघरमा हुने आन्दोलनमा एक हजारभन्दा धेरै किसानले सहभागिता जनाउने छन । चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ ।

गएको वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा पनि किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्कअनुसार उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।