Ad #144479

२७ मंसिर, काठमाडौं । सरकारसँग गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै उखु किसानहरूले आइतवारदेखि राजधानीमा फेरि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। एक वर्ष अगाडि जाडोयाममा काठमाडौं आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो।

वर्षौदेखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।  त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन्। उखु किसानको आन्दोलनमा नेपाल उखु उत्पादक महासंघ जस्ता संघ संस्थाले सहभागिता नरहेको बताएका छन्।

आन्दोलनको चेतावनी दिने कृषकहरूका अनुसार गत वर्ष स्वतस्स्फूर्त रूपमा आन्दोलनमा आएका किसानहरू नै सहभागी हुनेछन्। नेपालमा वर्षौदेखि उखु किसानहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन्। हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन्।

तर उखु किसानको समस्या जस्ताको तस्तै रहेको बताइन्छ। उखु किसानहरूले हरेक वर्ष आन्दोलन गर्नुपर्ने मुख्य कारण भनेकै चिनी उद्योगीहरूले समयमा भुक्तानी नदिनु हो । आन्दोलन घोषणा गरेका किसानहरूका अनुसार अहिले पनि विभिन्न चिनी उद्योगबाट ठूलो रकम किसानहरूले भुक्तानी लिन बाँकी छ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार उद्योगहरूबाट कृषकले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।कतिपय कृषकले त वर्षौदेखि भुक्तानी पाएका छैनन्। त्यसैले गर्दा कृषकले आन्दोलनको बाटो रोज्ने गर्छन्।