२४ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसान पुन:आन्दोलनमा उत्रने भएका छन् । अब उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको गर्ने भएका हुन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन सुरु गर्ने किसानले बताएका छन् ।
माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको किसानले गरेका छन् । यो पटकको आन्दोलनको लागी मंसिर २७ गते बेलुका सर्लाहीबाट करिव पाँच सय जना किसान काठमाडौंका आउने भएका छन् । ठूलो संख्यामा काठमाडौं आएर २८ गते माइतीघर घेराउ गर्ने कार्यक्रम रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएपछि किसान फेरि आन्दोलन गर्न बाध्य भएका हुन् । सरकारले किसानसँग पटक-पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।
काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ । माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको संरक्षक मिश्रले बताए ।
चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ किसानलाई बुझाउन बाँकी छ ।












