२० मंसिर, पर्सा । उद्योग अनुगमनको क्रममा घुस लिने गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी प्रक्राउ परेका छन । कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार एउटा टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपैयाँ घुस लिएकाले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको छ । साताभरी गरेको अनुगमनको रिपोर्ट हरेक शुक्रबार माथिल्लो निकायमा बुझाउनुपर्ने हुन्छ ।
‘गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिई तौल गर्ने गरेको भनेर सूचना आएपछि विहीबार उनीहरु अनुगमनका लागि निस्केका थिए । उनीहरुले टेक्सटायल उद्योगको अनुगमनपछि तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रण लिएका थिए । पछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा फिर्ता गरिदिएका थिए ।
घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष आएपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो । कर्मचारीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँट गरेको स्वीकार गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।











