नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागि अहिले चुनाव भइरहेको छ । काठमाडौंका तीन स्थानमा भइरहेको निर्वाचनमा जिल्ला नगरको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट्सतर्फको मतदान कार्की ब्याङकट बबरमल र वस्तुगतको मतदान महासंघको कार्यालय टेकुमा भइरहेको छ । कोभिड संक्रमित मतदाताको लागि छुट्टै बुथ बनाएको महासंघले जनाएको छ ।

आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने महासंघको निर्वाच समितिले जनाएको छ । पटक पटक स्थगित भएर सम्पन्न हुन लागेको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । महासंघको विद्यानका अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ कार्यसमिति चयन सँगै नयाँ अध्यक्षको पदबहाली गर्ने छन् ।

जिल्ला नगर समूहको उपाध्यक्षका लागि किशोर समूहबाट दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, एशोसिएट्स उपाध्यक्षका लागि सौरभ ज्योतीले उम्मेदवारी दिनु भएकाे छ। त्यस्तै ढकाल समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत समूहको उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट्स समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई चुनावी मैदानमा हुनुहुन्छ ।

महासंघबाट १ हजार ११६ मतदाता निर्वाचनमा सहभागिता जनाउन पाउने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ९०४ वटा एसोसिएट्स सदस्य संस्थाहरु, ६ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधिले भाग लिने छन् ।

बस्तुगततर्फ १०१ संघहरुले मतदान गर्ने छन् । जना जिल्ला नगर तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन् । एसोसिएट्स, द्विराष्ट्रिय, बस्तुगत र जिल्ला नगरका गरी जम्मा १ हजार ११६ मतदाता रहेका छन् ।

[sidebar name="button post"]