९ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीको कम्पनी सैलुङ इन्टरप्राइजेजले फेरि पनि सरकारलाई धोका दिएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ठेक्कामा दिएको मल नल्याएपछि प्रचण्डका घरभेटीलाई सरकारले कारवाही गरेको हो ।
३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको शैलुङले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको हो ।
सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको हो ।
असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको थियो । सैलुङले प्रतिमेट्रिक टन ३११ दशमलव ५० डलरमा मल ल्याउने गरी ठेक्का हात पारेको थियो । यसअघि पनि समयमै मल नल्याएपछि कृषिमन्त्री घनश्याम भुषालले शैलुङको धरौटी जफत गर्ने निर्णय गरेका थिए ।












