८ मंसिर, बागमती । बागमती प्रदेश लोकसेवा आयोगले पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको हो । प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो ।
प्रदेशका दुई मन्त्रालय र स्थानीय तहमा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।
प्रदेशभरीका ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुइवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ । प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरेको पहिलो पटक रहेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा २२ वटा स्थानीय तहले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालय मध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ । माग गरेको संख्या सहितको सूचना आजको गोरखापत्रमा हेर्न सकिन्छ ।














