फूलखेतीमा तीन करोड लगानी : २५ वर्षदेखि फूल खेती गर्दै आएका भक्तपुरका सुशील खड्काको कोरोनापछिको भोगाई

समिता श्रेष्ठ

भक्तपुरका सुशील खड्काले पुष्प व्यवसाय गर्न थाल्नुभएको २५ वर्ष भयो । झण्डै तीन करोड लगानीमा २० रोपनी जग्गामा उहाँको फूल खेती छ । त्यसमध्ये ५ रोपनीमा सयपत्री र मखमली छ । नेपालका झण्डै ७ सय पुष्प व्यवसायीमध्ये खड्का पनि पर्नुहुन्छ । झिलिमिली बत्ती र रंगिचङ्गी फूलहरु तथा रङ्गहरुको पर्व तिहार आइपुग्नै आँटेका छ । तिहारमा फूलको कारोबार केहि बढ्ने उहाँको आश छ ।

पुष्प व्यवसायमा निरन्तर

हजुरबुबाको पालादेखि नै सुशील खड्काको परिवार यो पुष्प व्यवसायमा निरन्तर लागिरहेको छ । हजुरबुवा, बुबा हुँदै उहाँ पनि यहि व्यवसायमा हुनुहुन्छ । हाल उहाँको परिवारमा बुबा, आमा, श्रीमती र छोरा हुनुहुन्छ । बुबा र उहाँ प्रत्यक्ष रुपमा फूलकै फार्ममा संलग्न हुनुहुन्छ । आमा र उहाँको श्रीमतीले भने आवश्यक परेको समयमा सहयोग गर्नुहुन्छ । उहाँले आफ्नो पढाई सकेर अपनाउन भएको पेशा व्यवसाय जे भने पनि यहि फूल खेती नै हो ।

सयपत्री र मखमली फूल

सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । नेपालमा कतै कतै सयपत्रीलाई हजारी फूल पनि भनिन्छ । यो फूल धेरै प्रजातीको हुन्छ । मखमली फूलको पनि सांस्कृतिक महत्व छ । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

तिहारका ५ दिन फूलको धेरै प्रयोग

तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको कारोबार हुने गरेको छ । भक्तपुरका सुशील खड्काको फर्ममा झण्डै एक लाखका सयपत्री र मखमली फूल छन् । उहाँ भन्नुहुन्छ,‘सयपत्री फूल बाह्रै महिना जुनसुकै पूजापाठ, धर्मकर्म, मेलाउत्सवमा प्रयोग गरिन्छ ।

विशेष गरि चाडपर्वका बेला अझ विशेष तिहारमा सजावटको साथ साथै लक्ष्मीपुजा र भाईटिकामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । तर मखमली फूलको महत्त्व अझ विशेष छ । यो फूल तिहारको भाईटिका अर्थात् भाईपुजामा प्रयोग हुन्छ । भाईपुजाको दिन मखमली माला नभई हुँदैन ।

वर्षमा यहि तिहारको भाईटिकाको दिन मात्रै यो मालाको प्रयोग गर्ने गरिन्छ ।’ तिहार सुरु हुन ३/४ दिन अगाबै मखमली र सयपत्री फूलहरु घरमा ल्याएर राखेको देख्न सक्छौ । घरहरु सयपत्रीको मालाहरुको प्रयोग गरेर सिँगारेको देख्छौ ।

कोरोनाको प्रभाव पुष्प व्यवसायमा

यसपाली फूल व्यवसाय कोरोनाको कारणले सन्तोषजनक छैन । हाल पहिलेको तुलनामा उत्पादन पनि कम भएको र बजार पनि खस्कीसकेको छ । पहिले तुलनामा अहिले २५/३० प्रतिशत मात्रै बजार चलेको खड्का बताउनुहुन्छ । कोरोना महामारी फैलिनुभन्दा पहिले १२ जना कर्मचारी खटाएर काम गर्दै आउनु भएको उहाँको फार्ममा अहिले ६/७ जना मात्रै कामदार छन् । उहाँ भन्नुहुन्छ,‘आफ्नै फार्म र आफ्नै फूलको काठमाडौंमा होलसेल भएका कारण बिक्रीवितरणमा त्यति गाह्रो छैन ।’ भारतबाट आउने फूलहरुले नेपाली फूल व्यवसायलाई असर गर्ने गरेको उहाँको गुनासो छ ।

तिहारको बेला प्रतीमाला कती रुपैयाँ पर्छ अहिले नै यकिन छैन, तिहार नलाग्दै भने अहिले प्रतिमाला ४०/५० रुपैयाँको दरले बिक्री भैरहेको उहाँले बताउनुभयो । तिहारको लागि उहाँले १ लाखको हाराहारीमा लगानी गरेर ५ रोपनीमा मखमली र सयपत्री लगाउनुभएको छ । त्यसबाट ५ लाखको हाराहारीमा उत्पादन गर्ने लक्ष्य रहेको खड्काले बताउनुभयो ।

[sidebar name="button post"]