दिनहुँ फालिने कागजपत्रबाट लाखौंको आम्दानी : २५ हजारबाट थालेको व्यवसाय ५ लाख पुग्यो

रमिता दंगाल

पढिसकेका पत्रिका, कापिकिताब र अरु कागजपत्र खेर जान्छन् । फोहोरकै रुपमा फाल्ने गरिन्छ । आगो लगाएर जलाउने गरिन्छ । तर सहि रुपमा प्रयोग गर्न सके फोहोर व्यवस्थापनसँगै पैसा कमाउन पनि सकिन्छ । फोहोरलाई मोहोरमा बदल्नेमध्येकी एक हुनुहुन्छ रमिता महर्जन ।

लहना पेपर क्राफ्ट

रमिता महर्जनले लहना पेपर क्राफ्ट सञ्चालन गर्नुभएको छ । उहाँले यसै विषयमा अध्ययन गर्नुभएको हो । हामीले पढिसकेका पत्रिका, किताब र अन्य कागजबाट के गर्न सकिन्छ भनेर यसै विषयमा अध्ययन र अनुसन्धान गरेर काम थालेको महर्जन बताउनुहुन्छ ।

स्नातक तहमा अध्ययन गरिरहेका बेला मर्हजन कलेजमा फोहोर व्यवस्थापन सम्बन्धी प्रर्दशनीमा सहभागी हुनु भएको थियो । त्यही अनुभवले उहाँलाई फालीएका कागजबाट केहि नौलो काम गर्न सकिन्छ भन्ने लाग्यो । यसैलाई निरन्तरता दिदै फालीएका कागजबाट घरेलु सामान बनाउने व्यापार गदै आउनु भएको छ । खेर गएका कागजबाट पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उहाँ एउटा उदाहरणी पात्र बन्नु भएको छ ।

सरसामग्री बनाउने साेंच

उहाँले अध्ययनको सिलसिलामा एउटा कार्यक्रम व्यवस्थापन गर्ने क्रममा कसरी खेर गएको सामान व्यवस्थापन गर्न सकिन्छ भनेर अध्य्यन अनुसन्धान गर्नुभयो । जसको परिणाम स्वरुप आर्कषक सामान बनाउने साेंच महर्जनमा आयो । युटुबबाट पनि उहाँलाई प्रेरणा मिलेको थियो ।

यसपछि उहाँले अध्ययन अनुसन्धान गर्न थाल्नुभयो । महर्जनले अनलाइमा तथ्याङक संकलन गर्ने काम गदै आउनु भएको थियो । महर्जन भनुहुन्छ,‘अरुको काम गर्नु भन्दा आफै केही गर्नुपर्छ भन्ने धारणाले मैले यो व्यवसाय सुरु गर्ने सोंच बनाए ।’ ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै महर्जनले पनि आफनो चाहनालाई काममा परिणत गर्नुभयो ।

सुरुको लगानी र सामाग्रीहरु

लहना पेपर क्राफ्ट व्यवसाय सञ्चालन गर्न सुरुमा २५ हजार रुपैयाँ लागेको थियो । उहाँलाई यस व्यवसायमा एक जना साथीको सहयोग मिलेको थियो । कागजबाट थोरै समय, सिप र खर्च गरेर सामाग्री बनाउन सकिन्छ । महर्जनलाई सुरु सुरुमा सामानहरुको बारेमा बुझाउन मेहनत गर्नु परेको थियो ।

फलिएको कागजबाट बनाइएको भएकाले कतिपयले नकरात्मक रुपमा हेर्ने गर्दथे । हाम्रो समाज, घर, कार्यालयहरुमा कागज, पत्रपत्रिका, प्लास्टिक फोहोरकै रुपमा फाल्ने गरिन्छ । यसलाई व्यवस्थापन गर्न कतिपयले जलाउने पनि गर्छन् । तर बाल्दा वातावरणमा नकरात्मक असर समेत पुर्याउँछ ।

पत्रिका,कागज पानी वा चिसोमा राख्दा बिग्रिन्छ र खेर जान्छ । तर यसलाई सहि रुपमा प्रयोग गर्न सकियो भने फोहोर व्यवस्थापनमा कमि ल्याउन सकिने उहाँ बताउनुहुन्छ । खेर गएका कागजबाट उहाँले गरगहना, सजावटका सामान र अन्य २३ थरिका सामाग्रीहरु बनाउँदै आउनु भएको छ । कागज र पत्रिकाबाट हस्तकला वा सजावटका विभिन्न साईजका झोला, फुलदानी, पेन, ढक्की, गरगहना टोकरी तथा अन्य सामाग्रीहरु बन्ने गरेका छन् ।

रोजगारीको अवसर

कागज, कार्टुन तथा पत्रपत्रिकाबाट धेरै प्रकारका सामाग्री निर्माण गरि व्यवसाय गर्न सकिने महर्जन बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,‘खेर गएका सामानबाट व्यवसाय गर्ने भएकाले यति नै लगानी चाइन्छ भन्ने छैन । सिप भए जो कोहीले पनि व्यवसाय सुरु गरेर बजार लिन सकिन्छ ।’ अहिले गरगहना, स्टेसनरी र सजावटका सामानहरुको माग बजारमा बढेको छ ।

कबाडीका कागजहरु संकलन गरेर महर्जनले १० जना भन्दा बढीलाई रोजगार समेत दिनु भएको छ । मर्हजनले घरमै बसेका बेरोजगारीलाई रोजगारको अवसर समेत सृजना गर्नु भएको छ । आफैले तालिम दिएर कामको अवसर दिदै आउनु भएको छ । महर्जनले फालीएका सामानहरुबाट पाँच सय भन्दा बढीलाई तालिम समेत दिइसक्नु भएको छ । त्यहाँ काम गर्नेहरुलाई सुरुमा ८ देखि १० हजारसम्म तलब र खाजा दिदै आउनु भएको छ ।

महर्जन भन्नुहुन्छ,‘तिन दिन राम्रोसँग सिक्ने हो भने काम गर्न सकिन्छ । कमाई पनि राम्रै हुन्छ र बजारको पनि चिन्ता लिनु पदैन यसको बजार राम्रो छ ।’ यहाँबाट तालिम लिएर गएका मध्ये कतिले व्यवसाय नै सुरु गरेका छन् भने कोहि विदेश पलायन भएका छन् ।

थोरै लगानीमा राम्रो कमाई

थोरै लगानीमा सुरु भए गरेको व्यवसायबाट महिनामा अहिले २ लाख भन्दा बढी कमाई हुने गरेको महर्जन बताउनु हुन्छ । २५ हजारमा लगानी गरेर सुरु भएको व्यवसाय ५ लाखसम्म पुगेको छ । मेहनतका साथ फरक आकृति र डिजाईन सहित बनाइएको सामाग्रीहरुको माग बजारमा बढेको छ । यहाँका सामाग्रीहरु पोखरामा पनि गइरहेका छन् । विदेशबाट पनि यसको माग आइरहेकको छ ।

मर्हजन अझ कसरी यसलाई गुणस्तरीय बनाउने भन्ने कुरामा केन्द्रित हुनुहुन्छ् । फालीएका कागजहरुको सदुपयोग गर्न यो उत्तम उपाय बन्न सक्ने उहाँको अनुभव छ । अझ स्थानीय सरकारले महिलाको प्रयासले थालिएका कामलाई प्रोत्साहन दिनुपर्नेमा उहाँको जोड छ ।

अबको योजना

फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्ने भएकाले अहिले महर्जन वडा स्तरमा गएर तालिम दिने सोंचमा हुनुहुन्छ । उहाँ भनुहुन्छ,‘स्वदेशमा नै धेरै अवसरहरु छन् काम गर्ने सिप भए खेर गएका सामाग्रीबाट पनि राम्रो कमाई हुन्छ, फोहोरलाई मोहोर बनाउन सकिन्छ ।’ महर्जन अरुलाई पनि यस व्यवसायमा आउन अनुरोध गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ,‘हामीसँग सिप क्षमता छ भने फालीएका कबाडी कागजबाट पनि काम गर्न सकिन्छ र कोही पनि बेरोजगार बस्नु पर्दैन ।’

   

[sidebar name="button post"]