दलित गाउँमा बल्ल पुग्यो खानेपानी, स्थानीयवासी खुशी

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ को बिकट बस्ती पनालीगैरामा वर्षौपछि शुद्ध खानेपानी पुगेको छ । उक्त गाउँका दलित समुदायमा निर्माण सुरु गरेको लामो समयपछि शुद्ध खानेपानी पुगेको हो । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

सो गाउँपालिकाको ३५ प्रतिशत बजेट, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल रु २९ लाख ९१ हजार ६२२ रुपैंयाको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य गरिएको हो ।

विसं २०७६ पुस २९ गतेबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भई आज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सहजिकरण गर्ने संस्था केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले बताउनुभयो । सो गाउँमा २० घरधुरीका १३५ दलित परिवार छन् ।

गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले भन्नुभयो, “गाउँमा पानी नहुँदा दलित परिवारलाई निकै पीडा हुँदै आएको थियो, निकै प्रयासपछि शुद्ध पानी आएको छ, दलित परिवारलाई राम्रो भयो ।”

[sidebar name="button post"]