नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ ।
नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ । यही असार १६ गते बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो ।
निगमले आवेदन रद्द भएकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क फिर्ता लैजान अनुरोध गरेको छ ।