असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ। निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्।
प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्।
हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन्। यस्तो डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य)को संख्या ७७ छ।
सिद्धार्थ क्यापिटलले एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ। कम्पनीले मोवाइल वालेट इसेवा, आइएमई पे, प्रभु पे वा कनेक्ट आइपिएस जस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने जनाएको छ।
साथै सिद्धार्थ बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि नवीकरण गर्न सकिने क्यापिटलले जनाएको छ। क्यापिटलले सूचनामा भनेको छ ‘असार ३१ गतेभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको डिम्याट खाता उक्त शुल्क भुक्तानी नगरेसममका लागि फ्रिज गरिने व्यहोरा जानकारी गराइन्छ।’ साथै मेरो सेयर सेवा लिइरहेकाले पनि संचालनको १ वर्षभित्र नवीकरण गरिसक्नुपर्नेछ।
त्यस्तै एनआइबिएलएस क्यापिटलले पनि असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सूचना जारी गरेको छ। इन्भेष्टमेन्ट बैंकको थैली वालेट र मेरो सेयर प्रोफाइलमा गई विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत समेत शुल्क बुझाउन सकिने व्यवस्था रहेको क्यापिटलले जनाएको छ। असार मसान्तसम्म शुल्क नबुझाएमा सो नबुझाएसम्म खाता फ्रिज हुने कम्पनीले जनाएको छ।
त्यस्तै ग्लोबल आइएमई क्यापिटलले पनि आइएमई पे, इसेवा, कनेक्ट आइपिएस वा ई बैंकिङसेवामार्फत नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। अन्यथा सिस्टमबाटै हितग्राहीको डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ। साथै मेरो सेयरको पनि वार्षिक शुल्क बुझाउन कम्पनीले आग्रह गरेको छ।









