जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ आकर्षित

२२ फागुन, तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यवसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो ।

करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उहाँले बताउनुभयो । प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उहाँले व्यवसायिकरुपमा कागती खेती शुरु गर्नु भएको हो । उहाँले भन्नुभयो, “कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ ।”

गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उहाँले बताउनुभयो । पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ । उहाँले भन्नुभयो, “शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको छ ।”

नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने र भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको उहाँको भनाइ छ । अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गरेका छन् । स्थानीय धनबहादुर रानाले ६००, पशुपति विष्टले ३०० र टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाइसकेका छन् । विष्टले कृषि ज्ञान केन्द्रबाट अनुदान पाएर कागती लगाएका छन् भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताउनुहुन्छ ।

आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताउनुभयो । गाउँमा दुई चार जना कृषक मिलेर कागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उहाँ बताउनुहुन्छ । वडाका चारले व्यावसायिकरुपमा कागती खेती गरेर समुदायका अन्य मानिसलाई पनि प्रोत्साहन गर्ने कार्य भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

[sidebar name="button post"]