Ad #144479

२० फागुन, खलङ्गा। जुम्ली मार्सी चामल र जैविक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ । ”

कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।