८ फागुन,उदयपुर। उदयपुरका दर्जन होटललाई गुणस्तर लोगो प्रदान गरिएको छ । खाद्यान्न गुणस्तर कायम गरेका सदरमुकाम गाईघाटमा सञ्चालित अगुवा होटलहरुलाई खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले लोगो प्रदान गरेको हो ।
होटल सञ्चालन गर्दा पुरा गर्नुपर्ने मापदण्ड, खाद्यको गुणस्तर तथा सरसफाईलगायत प्रक्रिया पुरा गरेका होटलहरुलाई गुणस्तर लोगो प्रदान गरिएको डिभिजन प्रमुख रमेश दाहालले बताए । उनका अनुसार जिल्ला अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, नगरपालिका, उद्योग बाणिज्य संघ र पत्रकार संलग्न टोलीले गरेको पटक पटकको संयुक्त अनुगमनले दिएको राय अनुसार होटललाई गुणस्तर प्रमाणस्वरुप लोगो प्रदान गरिएको हो ।
त्रियुगा नगरप्रमुख बलदेव चौधरी र डिभिजन प्रमुद दाहालले बिभिन्न होटल सञ्चालकहरुलाई लोगो प्रदान गरेका छन् । गुणस्तर लोगो पाउनेमा गाईघाटका कोहवर होटल, वल्र्ड दरवार होटल, होटल हिमालय एण्ड लज, टावन हल रेस्टुरेन्ट, होटल ए–वान, एलम्बर ए–वान होटल, होटल गंगाचुली, सन होटल प्रालि, होटल कन्चनजंघा एण्ड भोजनालय र मनोज खाजाघर रेस्टुरेन्टलगायत छन् ।
होटलहरुमा बासी खाना खुवाउने तथा मापदण्ड अनुसारको खाद्यान्न नहुने र आवश्यक सरसफाई नभएको गुनासो आएपछि एकवर्षयता डिभिजनले नियमित अनुगमन गर्दै आएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला अनुगमन समितिले होटलहरुमा नियमित अनुगमन गर्दै गुणस्तर कायम गर्न सुझाउँदै अटेर गर्नेलाई कारबाही गर्न थालेपछि खानेकुराको गुणस्तर कायम भएको तथा सरसफाईलगायत मापदण्ड पुगेपछि लोगो प्रदान गरिएको डिभिजनले जनाएको छ ।
तीनवर्षअघि खुलेको डिभिजन कार्यालयले खाद्यान्नको गुणस्तर नियन्त्रण नगर्ने तथा सरसफाईजस्ता मापदण्ड नपुग्ने आधादर्जन बढी होटललाई कारबाही गरिसकेको छ ।डिभिजन प्रमुख दाहालले हरेक महिना होटलहरुको अनुगमन गर्ने गरेको बताएका छन् ।
सदरमुकाम गाईघाट, कटारी, बेलटार, बेलका र मुर्कुचीजस्ता व्यापारिक केन्द्रका बजारहरुमा पालैपालो अनुगमन गर्दै कमजोरी भेटे एकपटकलाई सच्चिन आग्रह गर्ने गरेको छ भने दोहोर्याएर गल्ती गर्नेलाई खाद्य तथा गुण नियन्त्रण ऐन अनुसार जरिवाना र कम्पनी खारेजीसम्मको कारबाही गर्ने गरेको दाहालले बताए ।
नियमित अनुगमनले खाद्य गुणस्तरमा धेरै सुधार आएको उनले बताएका छन् । पहिलो पटक कमजोरी भेटिएका होटल सञ्चालकलाई नसच्चिए कारबाही गर्ने गरेपछि होटलमा सरसफाई तथा खानाको गुणस्तरमा सुधार आएपछि गुणस्तर लोगो प्रदान गरिएको हो ।
गाईघाटका होटलहरुले गुणस्तर लोगो पाए पनि स्टार होटल भने बन्न सकेका छैनन् । उदयपुरकै कटारीमा सञ्चालित ‘होटल माछापुछ्रे इन’ले भने गतवर्ष नै दुईतारे होटलको दर्जा पाएको छ ।डिभिजन कार्यालय गाईघाटलाई उदयपुरबाहेक खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको समेत खाद्य तथा गुण नियन्त्रणको जिम्मा दिइएको छ ।
तर, आवश्यक जनशक्ति र स्रोत साधनको अभावमा टाढाका जिल्लामा भने नियमित अनुगमन गर्न समस्या भईरहेको दाहालले बताएका छन् । कम्तीमा ३/४ दिन लगाएर अनुगमनमा खट्नुपर्ने भएकाले उदयपुर बाहेक जिल्लाका बजारको अनुगमन कम्तीमा वर्षमा एकपटक अनिवार्य गर्ने गरेको उनले बताए ।











