चालु आर्थिक वर्षको ७ महिनामा शेयरबजारको पुँजीकरण १६ खर्ब

४ फागुन, काठमाडौं । पछिल्लो सात महिनामा शेयरलगानीकर्ताको पुँजी शेयरबजारमा १६ खर्ब रुपैयाँ थपिएको छ । लामो समय ठूलो परिमाणमा घट्दै आएको शेयरबजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ ।

नेप्सेका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा शेयरबजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा शेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

उक्त बजारको पुँजीकरण माघ मसान्त्सम्म ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पुँजीकरण बढेको छ ।

गत पुष मसान्तमा शेयर बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सेयर बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीहरुको बजार मूल्य हो । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य बढ्दै जादा लगानजीकर्ताहरुको पुँजीमा वृद्धि भएको हो ।

यद्यपि, शेयर मूल्य बढेको कारणले मात्रै भने अहिले पुँजीकरण बढेको भने होइन । केहि नयाँ कम्पनीहरु थपिएका छन्, ति कम्पनीहरुको पुँजीकरण समेत जोड्दा ३४ खर्ब माथि पुगेको हो ।

गत पुषमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ ।