१६ माघ, काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आजको जमानामा डिजिटल प्रणालीबाट गरिने कारोबार भरपर्दाे र सुरक्षित रहेकोमा जोड दिएका छन् । आज शुक्रबार कुलेश्वरस्थित फलफुल बजारमा डिजिटल प्रणालीको उद्घाटन गर्दै गभर्नर अधिकारीले भने–नगद भन्दा डिजिटल कारोबार सहज र भरपर्दाे भएकाले यसको प्रभावकारिता बढाउनेतिर लागौं ।
सकेसम्म नोटको कारोबार कम होस् भन्ने आफ्नो चाहना रहेको प्रष्ट्याउँदै उनले नोटमा हस्ताक्षर गर्न पाउने पदाधिकारी म हुँ , तर सकेसम्म कमै मात्र नोट छापियोस् भन्ने मेरो चाहना हो – गभर्नर अधिकारीले भने । यसले राज्यको खर्चपनि जोगाउँछ र कारोबारीलाईसमेत सहज बनाउँछ – उनको भनाई थियो ।
अबको जमाना भनेको नगदरहितको कारोबार भएको स्मरण गर्दै गभर्नर अधिकारीले राज्यले यस्तै कारोबारको प्रवद्र्धनमा
ध्यान दिनुपर्नेमा जोड दिए । कुलेश्वरमा नबिल बैंकको पहलमा क्यूआर पेमेण्ट प्रणालीको थालनी भएको हो ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले पनि अब नगदरहित कारोबारबाट नै सबै काम गर्नुपर्नेमा जोड दिए । अब टोल टोलमा क्यूआर पेमेण्ट प्रणालीको थालनी गर्ने योजना रहेको जानकारी उनले दिए ।












