१५ माघ, चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका लागि राज्यले दायित्व बहन गर्छ ।” सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गरिने उहाँले बताउनुभयो ।
वैशाखमा मध्यावधि निर्वाचन हुने बताउँदै उहाँले भन्नुभयो, “आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको हो । ताजा जनादेशमा जान तोकिएको समयमै निर्वाचन हुन्छ ।”
निर्वाचन हुँदैन भनेर शङ्का नगर्न आग्रह गर्दै उहाँले थप्नुभयो, “संसद् विघटनको विषय नौलो होइन अचम्म मान्नु पर्दैन ।” सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नु परेको भन्दै मन्त्री भट्टले संसद् विघटन परम्परा रहेको बताउनुभयो । विश्वका अन्य देशमा पनि संसद् विघटन भएको भन्दै उहाँले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बताउनुभयो ।
कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै किसानले विरोध गरिरहेका बेला मन्त्री भट्टले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी भित्र्याउन खोजिएको होइन ।” कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोल्नुभएको थियो । साधारणसभा तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । साधारणसभामा देशभरबाट २५० भन्दाबढी सहभागी भएका छन् ।











