११ माघ, जुम्ला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले दैनिक विद्युतभार कटौती समय तालिका घटाएको छ । प्राधिकरणले जुम्लामा दैनिक साढे सात घन्टासम्म विद्युत दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय प्रसारण ग्रिडलाइन नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत उपलब्ध गराउने तालिका सार्वजनिक गरेको कार्यालय प्रमुख गौरव पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय प्रशारण लाइन नपुग्दै स्थापना भएको कार्यालयले विसं २०३९ मा जुम्लाको घुघुत्ति खोलाबाट निकालिएको बिजुलीको विद्युतगृह सञ्चालनमा ल्याएको छ । प्राधिकरणले दुई वटा मेसिन ११ : ११ किलोवाट जडित क्षमता भएका दुई युनिट रहेको लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरेको छ । पछिल्लो समय भारतीय दूतावासको सहयोगमा फेरिएका नयाँ मेसिन बिग्रेपछि मंसिर र पुषमा विद्युत् आपूर्ति बन्द भएको जुम्लामा अहिले दुवै मेसिन बनेर सञ्चालनमा आएपछि पहिलेभन्दा केही राहात भएको छ । पानीको अहिले अभाव भएकाले पानी बढेमा थप व्यवस्थित गर्न सकिने विद्युतले जनाएको छ ।
बढ्दो माग र पानीको अभाव तथा हाल जुम्लाबाटै उत्पादित सो घुघुत्तिबाट सञ्चालनमा ल्याइएको बत्ती दुवै मेसिन बन्द भएपछि डिजेलबाट तीन दिनको दुई घण्टासमेत दिने गरिएको थियो । उपभोक्ताको अधिकारअनुसार दैनिक रूपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्रमुख पाण्डेले दाबी गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको भने ३३ केभी लाइन दैलेख हुँदै जुम्ला पु¥याउने लक्ष्यअनुसार निर्माणाधीन विद्युत् वितरण केन्द्र जुम्लाले जनाएको छ ।









