४ माघ, काठमाडौं । पछिल्लो समय शेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको छ । आज (आइतबार) कारोबारको सुरुमा नै उकालो यात्रामा रहेको शेयर बजार उतारचढावको बीच बढेर नयाँ रेकर्ड राखेको छ ।
कारोबारको सुरुमा २३१६.८१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३१५ को बिन्दुमा पुगेर रोकिएको छ । आज नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ अंकमा पुगेको हो । नेप्से १.२४ प्रतिशले बढेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७ अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ । कुल २ सय ८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।












