Ad #144479

१ माघ, काठमाडौं । कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल ‘ईजोन’ ले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि ‘डाटा इन्ट्री’ गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएकाे हाे ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको छ । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको बोर्डले जनाएकाे छ । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको हाे।

जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मंसिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो । परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् । यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।