रमिता दंगाल
कार्तिक १७, अधिकमासका कारण यसवर्ष दशैँ तिहार जस्ता मुख्य चाडपर्व झण्डै एक महिना पर धकेलिए । दशैँ सकिएसँगै तिहार तथा छठ जस्ता पर्व आइपुग्न केहि दिन अझै बाँकी छ । तर तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल भने ढकमक्क फूलिसकेका छन् । तिहार अगाडि नै फूल फूलेपछि माग र आपूर्ति प्रभावित हुनसक्ने देखिएको छ । कोरोना महामारीको मारमा परेका पुष्प व्यवसायी तिहार अगाडि नै फूल फूलेपछि थप चिन्तामा छन् । अधिकमास र मौसमका कारण फूल छिट्टै फूलेका पुष्प व्यवसायीले बताएका छन् ।
सम्भव भए चिस्यान केन्द्रमा राख्न सुझाव
अहिले ढकमक्क फूलेका फूललाई तिहारसम्म जोगाउन सम्भव छैन । जति चिसो बढ्यो त्यति नै फूलको आयू बढ्ने गर्छ । चिसोमा फूल छिटो फक्रिन पाउँदैन । यसपाली चिसो भर्खर सुरु हुँदैछ । फूल फूलेसँगै तिहारसम्म नरहला कि भनेर व्यवसायीहरु चिन्तित बनेका छन् ।
तिहारको क्यालेन्डर हेरेर फूलको उत्पादन गरेका किसानलाई भने खासै समस्या नरहेको तर खेतबारी, कान्लामा यतिबेला ढकमक्कै फूलेका फूल जोगाउन सक्ने अवस्था नरहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘जति चिसो बढ्यो त्यति नै फूलको आयू बढी हुने हो । तर यसपाली मौसम परिवर्तनका कारण गर्मी लामै समयसम्म रह्यो ।
चिसो ढिलोगरी सुरु भएकाले फूल छिटो फूलेकाले जोगाएर राख्न समस्या छ ।’ व्यवसायीक रुपमा खेती गरेका किसानको फूल पनि अहिल्यै फूलेको भए सम्भव भएसम्म चिस्यान केन्द्रमा राखेमा अझै १५ दिन जति जोगाउन सकिने उहाँको भनाई छ । ‘अहिले फूलिरहेको फूललाइ जोगाएर राख्न फूलेर कति अगाडी बढ्यो भनेर जान्न आवश्यक छ’ उहाँले भन्नुभयो,‘जसले व्यवसायिक सयपत्री उत्पादन गरिराख्नु भएको छ, उहाँहरुलाई चाहिँ फुल जोगाउन समस्या छैन ।
किनभने धेरै व्यवसायिक किसानले पर्वको क्यालेन्डर हेरेर नै फूल उत्पादन गरिराख्नु भएको छ ।’ तर कतिपय फूल खेतीमा लागेका किसानले तिहार कैले परेको छ यकिन नै नगरी आफ्नै तरिकाले रोपेको भए त्यो फूल तिहार र छठसम्म रहन सक्ने अवस्था छैन । फूललाई टिपेर राख्नै समस्या छ ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठले भन्नुहुन्छ,‘फूल टिपेर राख्न सम्भव हुनेहरुले कोल्डस्टोरमा राखेमा १०/१५ दिन आयू बढ्न सक्छ ।’
कोरोनाको असर फूल व्यवसायमा
कोरोना महामारीका कारण फूल व्यवसायमा समेत असर परेको छ । पर्यटन व्यवसाय ठप्पै छ । पर्यटन केन्द्रित कुनै पनि कार्यक्रम भएका छैनन् । मठ मन्दिरमा चहलपहल छैन । पूजापाठ, विवाह लगायतका संस्कार कमै भएकाले पनि फूलको माग छैन । भर्खर सकिएको दशैँमा पनि ठुला कार्यक्रम भएनन् ।
त्यसैकारण फूल राम्रोसँग बिक्रि हुन सकेको छैन । कोरोनाका कारण धेरैले पुष्प व्यवसायी पेशा छोडेर पलायन हुनुपर्ने अवस्था आएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । किसानले उत्पादन गरेको फूललाई व्यवस्थित गरी घर घरमा पुर्याउन नसके लगानी नउठ्ने भएकाले पुष्प व्यवसायीले यो पेशा नै छोड्नुपर्ने उहाँको गुनासो छ ।
पुष्प व्यवसायीलाई पलायन हुन नदिन सरकारले ध्यान दिनुपर्ने र आफूहरु पनि इ–कमर्सको माध्यमबाट घर दैलोमा सेवा पुर्याउने गरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘दशैँले गर्दा केहि ढिलासुस्ती भयो’उहाँले भन्नुभयो,‘इ–कमर्सको माध्यमबाट उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन खोजिरहेका छौ । यसले गर्दा थला परेको व्यवसायबाट किसानलाई माथी उठ्न भएपनि केहि राहत पक्कै पुग्नेछ ।’
भारतबाट आयात गर्नु नपर्ने
कोरोनाकै कारण यसपाली चाडपर्वमा रौनक छैन । त्यसैले दशैँमा जस्तै तिहारमा पनि धेरै भेटघाट र जमघट हुने छैन । यसै पनि बजारमा सयपत्री फूलको मागमा कमी छ । क्यालेन्डरलाई आधार मानेर धेरै व्यवसायीले सयपत्री उत्पादन गरेकाका कारण यसवर्ष तिहारमा छिमेकी देश भारतबाट फूल आयात गर्नु नपर्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठको अनुमान छ ।
गतवर्ष तिहारमा सयपत्री २० लाख र मखमली ५ लाख गरी २५ लाख माला खपत भएको थियो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएको वर्ष तीन लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो । तर यसवर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । भारतबाट सयपत्री र मखमली आयात गर्नुपर्ने अवस्था नरहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।
अघिल्ला वर्षमा दुई अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । यो वर्ष तीन अर्बको फूलको कारोबार हुने अपेक्षा थियो तर कारोनाका कारण अघिल्लो वर्ष भन्दा कमै कारोबार हुने देखिएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सरकार र बजारको भर
अहिले स्थानिय सरकार मार्फत् किसानहरुले पनि फूलको व्यवसायमा लगानी गरेका छन् । कसैले व्यवसायिक फूलखेति गर्ने हो भने पहिला बजारमा माग कस्तो छ ? कत्तिको सप्लाई हुन्छ ? भन्ने किसिमको ज्ञान हुनुपर्छ । नेपालमा नै मनग्ये फूल फूलेपनि भारतबाट आइरहेको छ । भारतबाट आएको फूलहरु गुणस्तरीय हुने भएकाले नेपालमा उत्पादन गरेको फूलहरुको बिक्रि वितरण कठिन छ ।
त्यसकारण किसानले व्यवसाय गर्नुभन्दा अघि नै बजारमा प्रतिस्पर्धा गर्न योग्य बिउ बिजन छनोट गर्नुपर्छ । उत्पादन गर्नुअघि नै फूलको माग अनुसार क्यालेन्डर हेरेर उत्पादन गर्न फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठको सुझाव छ । विवाहको लगनमा माग हुन्छ । माघका लागि फूल उत्पादन गर्ने हो भने असोजदेखि नै फूल लगाउने तयारी गर्नुपर्छ । बैशाखका लागि हो भने माघमा तयारी थाल्नुपर्छ ।
माग अनुसार फूल उत्पादन गरेर बजारमा लैजान सक्यो भने बजारको समस्या हुँदैन । मठमन्दिर र पुजाका लागि समेत दैनिक ७ देखि १० हजार मालाको चाहिन्छ । मठ मन्दिरहरुमा निरन्तर पुर्याउन सक्यो भने लगानी खेर जाँदैन । अध्यक्ष कसजु भन्नुहुन्छ,‘हामीले कुनै पनि बेलामा भारतबाट फूल ल्याउनु पर्दैन भनिरहेका छौ’ जबसम्म भारतबाट फूल आउँछ तबसम्म नेपालमा उत्पादन भएको फूलको उत्पादन बिक्रि हुन सक्दैन ।
भारतको उत्पादनसंँग नेपालको उत्पादनले प्रतिस्पर्धा नै गर्न सक्दैन । प्रतिस्पर्धाको क्षमता बढाउन सरकारले पुष्प क्षेत्रमा लगानी गर्नुपर्छ । यसो भएमा नेपाली किसानले फूल उत्पादन गर्न तयार छन् । लगानी गर्न तयार छन् । फूललाई आयातमा रोक लगाउन सके २० औं हजार मान्छेले रोजगार पाउँछन् । यसतर्फ सरकारको मुख्य प्राथमिकता हुनुपर्छ ।’












