प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए ‘रअ’ का प्रमुख गोयल

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।  गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन्।

भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेका थिए । गोयल इन्डियन एयरफोर्सको जहाजबाट आएका थिए। बिहीबार बिहान १० बजेतिर चार्टर्ड विमान दिल्लीतर्फ फर्किसकेका छन।

गोयलले अरू नेताहरूसँग भने भेटेको पुष्टि भएको छैन् । नेकपाका अर्का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रअका प्रमुख गोयलसँग भेट नभएको जनाएको छ । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले पनि गोयल काठमाडौं आएको थाहै नभएको बताएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाले पनि गोयलको आगमनबारे आफूलाई जानकारी नै नभएको र निवासमा कोही पनि भेट्न नआएको बताएका छन् ।

[sidebar name="button post"]