आज दशैँको छैटौं दिन कात्यायनी देवीको पूजा गरिँदै

नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कात्यायनीको पूजा आराधना गर्छन् ।

घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको छैटौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

छैटौं दिन कात्यायनीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैँ पर्व मनाउने चलन छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

[sidebar name="button post"]