काठमाडौँ — आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।
आजदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै एक/एक तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजाआराधना गरी नजिकको शिवलिंगलाई अघ्र्य दिने गर्छन् । कात्तिक ७ गते शुक्रबार फूलपातीलाई हर्ष बढाई गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबारस्थित दसैं घर भित्र्याइन्छ ।
त्यसैदिनको शुभसाइतमा तलेजु मन्दिरबाट तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रिका रूपमा मनाइने परम्परा छ ।कात्तिक ९ गते महानवमीका दिन घटस्थापना गरेको ठाउँ तथा विभिन्न शक्तिपीठ र कोतमा हाँस, कुखुरा, बोका तथा राँगा बलि चढाइ पूजा गरिन्छ । यसदिन दिनभरि सर्वसाधारणका लागि तलेजु भवानी मन्दिर खुल्ला गरिने परम्परा छ ।
उक्त दिन राजधानीका विभिन्न ठाउँमा खड्गजात्रा (पाय: जात्रा) निकालिन्छ भने घटस्थापनदेखि काठमाडौंको पचली भैरवको जात्रा सुरु हुन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका थापिन्छ । कोजाग्रत पूणिमाका दिन महालक्ष्मीको पूजाआराधना गर्दै दसैं समापन गरिन्छ ।











