विश्व हात धुने दिवस : साबुनपानीले हात धुने बानीले कोरोनासँगै अरु सरुवा रोगको जोखिम घटाउने

आज अक्टोवर १५ अर्थात् विश्व हात धुने दिवस । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । कोरोना भाइरसको सङक्रमण हुन नदिन साबुन पानीले मिचिमिची हात धुन आवश्यक रहेको संदेश सहित दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङक्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै घर बस्दा या अफिस तथा भिडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि सावुन पानीले हात धुन जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

विभिन्न अध्ययनले देखाएअनुसार सरुवा रोगका किटाणुहरु फैलनबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय नै साबुन पानीले हात धुनु हो । साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धोएमा झाडापखाला, श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमणमा कमी ल्याउन सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको अभावमा ५ बर्ष मुनिका झण्डै १५ लाख बालबालिकाको झाडापखाला र निमोनियाका कारण ज्यान गइरहेको छ । नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्भेक्षण २०१६ ले नेपालका ग्रामिण क्षेत्रमा झण्डै ७५ प्रतिशत र सहरी क्षेत्रमा झण्डै ८५ प्रतिशत घरमा सावुन पानीले हात धुने ठाँउ रहेको पाइन्छ । तर हात कतिले धुने गरेका छन् भन्ने अध्ययन भएको छैन ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको बताउनुभएको छ । ‘विश्व हात धुने दिवस’ का अवसरमा सन्देश दिदै उहाँले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइ सम्बन्धी संवैधानिक व्यवस्थाले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल लगाएतका ठाउँमा साबुनपानीले हात धुने सुविधा, नयाँ प्रविधिको विकास र विस्तार मार्फत् हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो ।

[sidebar name="button post"]